बैतडीका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी
बैतडी : प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा तीनै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
प्रतिनिधिसभामा एमालेका दामोदर भण्डारी ३९ हजार पाँच सय २४ मतसहित विजयी भएका छन्। भण्डारी २०७० सालको निर्वाचनमा पनि बैतडी क्षेत्र १ बाट विजयी भएका थिए। उनी केपी ओली प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री थिए।
भण्डारीका निकटतम प्रतिस्पर्धी कांग्रेसका नरबहादुर चन्दले २८ हजार दुई सय ९१ मत प्राप्त गरे । चन्द पनि २०७० को निर्वाचनमा बैतडी क्षेत्र २ बाट निर्वाचित भएका थिए। ७६ हजार १७६ मत खसेकोमा सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।
यस्तै प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट १८ हजार ९३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिमोहन भण्डारीले १५ हजार १२६ मत प्राप्त गरे। भट्टले भण्डारीलाई दुई हजार ९६७ मतले पराजित गरेका हुन्। प्रदेशसभा सदस्यमा विजयी भएका भट्ट माओवादी युद्धकालमा भूमीगत थिए।
प्रदेशसभा ख मा पनि वाम गठबन्धनका उम्मेद्वार लिलाधर भट्ट विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार राप्रपा गणेश चन्दले १५ हजार २४७ मत प्राप्त गरे। भट्टले चन्दलाई ५ हजार ७१ मतले पराजित गरेका हुन्।