कीर्तिपुरमा खिँ, टाँ र दाफा

कीर्तिपुरमा खिँ, टाँ र दाफा

गएको शुक्रबार बिहान साढे सात बजे कीर्तिपुरस्थित बाघभैरव मन्दिर परिसर पुग्दा नेवार भाषामा भजन गुञ्जिरहेको थियो । बाघभैरव नगाडा भजन मण्डलको सानो साइनबोर्ड टाँसिएको साँघुरो कोठामा यो पंक्तिकार लुसुक्क छि¥यो । भजन रोकिएन ।

भजनमण्डलीमा नौ जना वृद्ध थिए । यो चिसो मौसममा पनि केवल दुई जनाको टाउकोमा ऊनीको टोपी थियो । बाँकी चार जना भादगाउँले टोपी र तीन जना ढाकाटोपीमा सजिएका थिए । त्यसमध्ये एकजना मादलजस्तै ठूलो आकारको खिँ बाजा बजाउँदै थिए । खिँ बाजामाथि पाउरोटीको टुक्रा र केही रकम चढाइएको थियो । अर्का वृद्ध हार्मोनियम बजाउन व्यस्त थिए । तीन जनाको हातमा सानो झ्याली (टाँ) र एकजनाको हातमा ठूलो झ्याली थियो, जो भजनको तालसँगै बजिरहेको थियो । एकजनाले भने माथि टांगिएको घण्टीमा डोरी बाँधेर हल्लाइरहेका थिए । हार्मोनियम र झ्यालीको आवाजलाई पनि मत्थर पार्दै घण्टाको ट्वांगट्वांग आवाज गुञ्जिरहेको थियो ।

भजनको भाका परिवर्तन हुने क्रमसँगै टुंग्याउनीमा घण्टा हल्लाउने वृद्ध पुरुषले लामो सास तान्दै शंख फुके । चार जनाको अगाडि रञ्जना लिपिमा लेखिएको भजनको पाण्डुलिपि थियो । पाण्डुलिपिका पाना बन्द भए । भजन पनि बन्द भयो । एक जनाले प्रार्थना दियोमा आगो बालेर ल्याएपछि सबैले हात सेकाउँदै त्यसको ताप आफ्नो जिउमा पारेर स्वस्ती गरे । अनि विस्तारै आँखा खोले ।

‘ल भन्नुस् के जान्नुप¥यो ? ’ छेउका वृद्धले सोधे ।

ती रैछन्, जंकु (७७ वर्ष, सात महिना, सात दिनको उमेरमा रथारोहण गरिने काम) गरिसकेका ८० वर्षीय गोरखनाथ महर्जन । कीर्तिपुरको चिलन्चो विहारमा आठ वर्ष भजन मण्डलमा सामेल रहिसकेका उनी चार वर्षदेखि बाघभैरव नगाडा भजन मण्डलीमा छन् । कीर्तिपुर माना टोलका उनले भने, ‘अब को यहाँ (पृथ्वी) को माना सकिँदैछ । कति दिन बाँच्ने हो र ! हिँड्नलाई हात, खुट्टा लागेसम्म भगवान्को भजन गाउने र रमाउने हो ।’

भजनपछि प्रार्थना दियोमा आगो बालेर स्वस्तीका लागि लाग्ने भूमिका निभाइरहेका भुयू तण्डुकार (७२) दुई वर्षदेखि नियमित भजन मण्डलीमा सामेल छन् । ‘खै त तपार्इंहरूको भजनमा महिला सदस्य आउँदैनन् ? ’ प्रश्नमा उनी केही बोलेनन् । अर्का वृद्ध श्रीगोविन्द महर्जन (६९) ले भने, ‘आ–आफ्नो समूह छ । महिलाको पनि छुट्टै छ, छुट्टै भजन गाउँछन् ।’

सोमबार बिहान कीर्तिपुरको चिलन्चो विहारमा महिलाको एउटा समूह भजन गाइरहेको थियो । १० जनाको समूहमा रहेका तिनीमध्ये तीन जनाको अगाडि टाइप गरिएको भजनको फोटोकपी थियो ।

बाघभैरवमा प्रत्येक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म दुई घण्टा नियमित भजनकीर्तन हुन्छ । पहिले गाँजा–भाङ खानेहरूको अखडा थियो यो । अहिले मन्दिर व्यवस्थापन समितिले यस मन्दिर परिसरमा धूमपान निषेध गरेको छ । तात्कालीन गोर्खाली राजा पृथ्वीनारायण शाहको फौजले कीर्तिपुरमा आक्रमण गर्दा पहिलो लडाइँमा सेनापति कालु पाण्डे मारिएका थिए । दोस्रो पटकको आक्रमणमा उनका भाइ सुरप्रताप शाहको आँखा फुट्यो । तेस्रो लडाईंमा ६ महिनाको नाकाबन्दीपछि मात्रै कीर्तिपुरले आत्समर्पण ग¥यो । त्यस्ता लडाइँका गाथा पनि छन् भजनमा ?

ढाल्पा टोलका सिद्धिलाल मानन्धर (७५) ले भने, ‘त्यस्तो लडाइँको गाथा भएको भजन हामी गाउँदैनौं । यहाँ त राजा सिद्धिनरसिंह मल्लको पालाको चार सय वर्षभन्दा पुरानो भजन गाइन्छ । यसमा देवीदेउताकै गाथा छ ।’

कीर्तिपुरमा इन्द्रेणी सांस्कृतिक समूह (इसाम) को अगुवाइ गर्दै प्रगतिशील नेवारी गीतको प्रवद्र्धनमा लागेका वीरप्रसाद भन्सारी भन्छन्, ‘यहाँ त मैथिली मिसिएको भजन पनि गाइन्छ । गाउने वृद्धलाई पनि यसको अर्थ थाहा छैन । यसबारे खोज अनुसन्धान हुन जरुरी छ ।’

नयाँबजारका जुजुभाइ श्रेष्ठ (७५) र बकुनानी टोलका हीराबहादुर महर्जन
(८०) लाई भने मैथिली मिसिएको भजनबारे जानकारी छैन । बरु शिव, राम, कृष्ण, विभिन्न देवीहरूको गाथा भजनमा गाइने गरेको उनीहरू बताउँछन् ।

बिहानबेलुका हुने भजनमा प्रायः १० देखि १२ जनाको समूह हुन्छ । तर, सामूहिक भोजको आयोजना हुने दिन भने भजन मण्डलीको समूह एकाएक बाक्लिन्छ । ढाल्पा टोलका सिद्धिलाल मानन्धर (७५) लाई नाति पुस्ता त टाढाको कुरा, छोरा पुस्ताले पनि भजन अँगाल्छन् कि अँगाल्दैनन् भन्ने चिन्ता छ । उनी भन्छन्, ‘हामी बूढाहरूले जति सक्छांै, भजनको राग अलाप्ने हो । भोलिको दिन त कल्ले देखेको छ र ! तर, सन्ततिहरूले बचाइदिए हुन्थ्यो भन्ने लाग्छ ।’

भजनमा महिला

सोमबार बिहान कीर्तिपुरको चिलन्चो विहार परिसर पुग्दा महिलाहरू भजन गाइरहेका थिए । १० जनाको समूहमा रहेका तिनीमध्ये तीन जनाको अगाडि टाइप गरिएको भजनको फोटोकपी थियो । साना विद्यार्थीले होमवर्क कण्ठ गरेझैं भजनका लाइनलाइनमा औंला राख्दै भजन पाठ गरिरहेका थिए । भजन सकिएपछि भजन समूहकी गुरुमा नानीमाया वज्राचार्यले आफूहरूले बुद्ध दर्शनबारे भजनपाठ गर्ने गरेको बताइन् । उनले पुराना कुरा सम्झिँदै भनिन्, ‘घरको कामले तीन कक्षामात्रै पढ्न सकेँ । बरु भाइहरूले पढे । भजन पढाइ नबिर्सिने माध्यम भएको छ । साथीहरूसँग भजन गाउँदा खुसी लाग्छ ।’

९० वर्ष सुनुमाया महर्जन पनि नियमित भजनमा आउँछिन् । चिलन्चो विहारमा जापानबाट घुम्न आएका हिरोसिका युनिभर्सिटीका प्राध्यापक इचियरो सामदाले महिलाको भजन एकदम ध्यान दिएर सुने । उनले भने, ‘हाम्रो देशमा पनि यहाँको झैं भगवान्को प्रार्थना गर्ने भजन छ । तर, त्यहाँ पनि नयाँ पुस्तालाई वास्ता गरिएको छैन । रेकर्ड भने गरिएको छ ।’

भजनको संरक्षण

कीर्तिपुरका वृद्धहरूलाई आफूसँगै भजन पनि लोप हुने चिन्ता छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलाई पनि यही चिन्ताले सताएको छ । भन्छन्, ‘गीतसंगीतमा आधुनिक पुस्ताको रुचि एकातिर छ । भजनको सुर उही पुरानै छ । त्यसैले भजनको शब्द नहराउने गरी आधुनिकीकरण गरी रेकर्ड गरेरमात्रै दाफा भजन जोगाउन सकिन्छ ।’ उनले यसबारे अनुसन्धान सुरु गरिएको बताए । भने, ‘भजन संरक्षणलाई नगरपालिकाबाटै प्राथमिकता राखिएको छ ।’

ललितपुर संस्कृति संवद्र्धन केन्द्रले गएको शुक्रबार सिद्धिनरसिंह मल्लका ३६ गीत र रागलाई लिपिबद्ध गरेको कृति लोकार्पण गरेको छ । स्थानअनुसार, नेवारी भजन र रागमा भिन्नता छ । कीर्तिपुरलगायत अन्य ठाउँमा भजन पनि लिपिबद्ध गर्नु जरुरी छ ।

बाघभैरव नगाडा भजन मण्डलका अध्यक्ष रामबहादुर महर्जन बिरामीका कारण भजन मण्डलीमा केही सातायता उपस्थित हुन सकेका छैनन् । ७० वर्ष कटेका वृद्धले मात्रै भजन जोगाइरहेका छन् ।

यो पुस्तापछि भजनको–स्वरको पनि अन्त्य हुने देखिन्छ ।
०००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.