मकवानपुर २ प्रदेशसभा (ख) मा ७० वर्षीय डोरमणि पौडेल विजयी
हेटौंडा : मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा (ख)का उम्मेदवार डोरमणि पौडेल विजयी भएका छन्। लोकतान्त्रिक गठबन्धनका अशोक शाक्यलाई चार हजार एक सय २२ मतले पछि पार्दै वाम गठबन्धनका उम्मेदवार पौडेल विजयी भएका हुन्।
पौडेलले २० हजार ७ सय ३ मत प्राप्त गरे भने शाक्यले १६ हजार ५ सय ८१ मत ल्याएका छन्।
हेटौंडाको विकासका योजनाकार पौडेल २०६४ र २०५४ मा हेटौंडा नगरपालिकाको मेयर निर्वाचित भएका थिए। एक दशक मेयर रहेर काम गरेका उनलाई पाँच वर्ष यसै क्षेत्रको विकासमा जुट्ने अवसर मिलेको छ। ‘मसँग हेटौंडा र यससँग जोडिएको मेरो क्षेत्रको विकासको स्पष्ट खाका छ’,उनले विजयी भएपछि प्रतिक्रिया दिए, ‘हेटौंडा अब एउटा व्यवस्थित विकासको खाकामा अघि बढ्छ ।’
७० वर्षीय पौडेल ३८ वर्षदेखि राजनीतिमा सक्रिय छन्। २०५४ सालदेखि निरन्तर नेपाल नगरपालिका संघका अध्यक्ष रहेका उनी राजनीतिक मुद्धामा चार पटक कैद सजाय र १८ पटक प्रहरी हिरासतमा परेका छन् ।