नारायणकाजीलाई सात हजार मतले हराउँदै बाबुराम विजयी
गोरखा : सबैभन्दा धेरै चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई विजयी भएका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार आठ सय ७४ मतले पछाडि पार्दै बाबुराम विजयी भएका हुन्। बाबुराम भट्टराईले ३१ हजार ८०७ मत पाएका छन् भने नारायणकाजीले २४ हजार ९३३ मत प्राप्त गरेका छन्।
को हुन् बाबुराम ?
बाबुराम भट्टराई नयाँ शक्ति नेपालको तर्फबाट गोरखा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार हुन्। यो क्षेत्रमा उनलाई नेपाली कांग्रेसले समर्थन गरेको छ। उनको जन्म २०११ साल असार ४ गते गोरखा जिल्लाको खोप्लाङ बेलवास गाउँमा पिता भोजप्रसाद भट्टराई र आमा धर्मकुमारी भट्टराईको कोखबाट भएको हो।
कक्षामा सधैं प्रथम हुने उनी २०२६ सालको एसएलसी परीक्षामा बोर्ड फर्स्ट भएका थिए। २०२८ मा काठमाडौंको अमृत साइन्स कलेजमा बोर्ड प्रथम भएर उनी कोलोम्बो प्लान छात्रवृत्ति अन्तर्गत आर्किटेक्चरल इञ्जिनियरिङ पढ्न २०२९ मा भारतको चण्डीगढ गए। २०३४ सालमा आर्किटेक्चरमा बीई सकेर छात्रवृत्तिमै 'टाउन एण्ड कन्ट्री प्लानिङ' मा स्नातकोत्तर गर्न दिल्लीको स्कूल अफ प्लानिङ एण्ड आर्किटेक्चरमा भर्ना भए। २०३६ सालमा अनर्ससहित स्नातकोत्तर सकेर २०३७ मा उनी अर्को छात्रवृत्तिमा 'रिजनल डेभलपमेन्ट प्लानिङ' मा पीएचडी गर्न दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालय गए। २०४२ सालमा विद्यावारिधि पूरा गरे।
२०४२ सालपछि भूमिगत पार्टीको पूर्णकालीन कार्यकर्ता बनेका बाबुरामकै नेतृत्वमा २०५२ साल माघ २२ गते संयुक्त जनमोर्चाको तर्फबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सूत्रीय माग पेश गरिएको थियो। यसको आडमा फागुन १ गतेबाट सशस्त्र युद्ध थालनी भयो। २०५८ सालपछि समानान्तर सत्ता र सरकारको रुपमा ‘संयुक्त क्रान्तिकारी जनपरिषद् घोषणा भएपछि उनी त्यसको प्रमुख बने। २०७० मंसिर ४ गते भएको दोस्रो संविधानसभा निर्वाचनमा उनी गोरखा क्षेत्र नं. १ बाट सबैभन्दा बढी मतान्तरले निर्वाचित भए। उनी अर्को निर्वाचन क्षेत्र रुपन्देही–४ बाट भने पराजित भए। दोस्रो संविधानसभाको महत्वपूर्ण समिति ‘संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति’को सभापतिको रुपमा उनले काम गरे। उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गणतन्त्र नेपालको पहिलो मन्त्रीमण्डलमा अर्थमन्त्री भए। उनी प्रधानमन्त्री हुँदा माओवादी सेनालाई नेपाली सेनासँग समायोजन गरिएको थियो।