स्थगित मथुरा नन्दराम आधारभूत केन्द्रमा मतदान
सन्धिखर्क : मंसिर २१ गते स्थगित मथुरा नन्दराम आधारभूत विद्यालयमा उत्साहका साथ मतदान भएको छ। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ५ मा रहेको ‘क’ र ‘ख’ दुवै मतदान केन्द्रमा शनिबार पुनः मतदान भएको हो।
बिहीबार निर्वाचन अधिकृतको हस्ताक्षर विनाको मत पत्रमा मतदान गरेको भन्दै बिहीबार मतपत्र जालाउनुका साथै मतपेटिका समेत फालिएको सो मतदान स्थलमा उत्साहका साथ मतदान भयो।
यी दुई केन्द्रमा गरी २ हजार ४४ मतदाता रहेको ‘क’ र ‘ख’ मा गरी ६५४ र ६१८ गरी १२७२ मत खसेको मतदान केन्द्र ‘क’ का मतदान अधिकृत लिलबहादुर राउत क्षेत्रीले जानकारी दिए।
निर्वाचन सम्पन्न गर्नका लागि मतदान केन्द्र ‘क’ मा जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत र ‘ख’ मा सिचाई कार्यालय प्रमुख टंकबहादुर केसी मतदान अधिकृत रहेका थिए। बिहीबार ‘ख’ का मतदान अधिकृत (शिक्षक) सुरेन्द्रराज अधिकारीले मतदातालाई हस्ताक्षर नगरी मतपत्र दिएका थिए।
मथुरामा भएको चुनावमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायव उपरीक्षक एकनारायण कोइराला पनी मतदान स्थलमा थिए।