वाम अग्रता कायमै, कांग्रेस धेरै पछि

वाम अग्रता कायमै, कांग्रेस धेरै पछि

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा हुन थालेदेखि सुरु वाम गठबन्धनका पक्षमा देशभर उर्लिएको ‘वामलहर' कायमै छ। एमाले-माओवादी वाम गठबन्धनले कांग्रेसलाई निकै कमजोर बनाउँदै प्रतिनिधिसभाका अधिकांश क्षेत्रमा वर्चस्व कायम गरेका छन्।

घोषित परिणाममध्ये शनिबार रातिसम्म प्रतिनिधिसभाका ४९ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। तीमध्ये वाम गठबन्धनले ४०, कांग्रेसले ६, संघीय समाजवादी फोरमले १, नयाँ शक्तिले १ र स्वतन्त्रले १ स्थानमा जितेका छन्। वाम गठबन्धनतर्फ एमालेले २८ र माओवादी केन्द्रले १२ स्थानमा जितेका छन्।

अत्यधिक मतको जित

दोलखाबाट प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङले अहिलेसम्म सार्वजनिक भएका निर्वाचन परिणाममध्ये सबैभन्दा बढी मतान्तरले जितेका छन्। उनले कांग्रेसका रुद्रबहादुर खड्कालाई ३० हजार १ सय ५३ मत अन्तरले पराजित गरेका हुन्। गुरुङले ५५ हजार ९ सय ५४ र खड्काले २५ हजार ८ सय १ मत प्राप्त गरे। गुरुङ ०७० सालमा पनि संविधानसभा निर्वाचनमा एमालेबाट सोही क्षेत्रबाट जितेका थिए।

धादिङ क्षेत्र १ का एमाले उम्मेदवार भूमिप्रसाद त्रिपाठीले पनि आफ्ना प्रतिस्पर्धीलाई कुल २७ हजार १ सय ६१ मतले पराजित गरेका छन्। त्रिपाठीले ४९ हजार १ सय २९ र कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत पाए।

देउवा-ओली सजिलै, दाहाललाई अझै मुस्किल

प्रमुख तीन दलका शीर्ष नेता कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जारी मतगणनामा अगाडि देखिएका छन्।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीले सजिलै चुनाव जित्ने सम्भावनासहित मतान्तर फराकिलो पार्दै मतगणनामा अघि बढेका छन् भने माओवादी अध्यक्ष दाहाललाई अझै मुस्किल देखिएको छ। दाहाल पनि प्रतिस्पर्धी राप्रपाका विक्रम पाण्डेभन्दा ३ हजार मतान्तरले अघि छन्।

सूत्रधार'लाई नै फापेन गठबन्धन

देशभर वाम गठबन्धनका पक्षमा लहर चलिरहँदा पनि वाम गठबन्धनका केही शीर्ष नेतालाई वाम गठबन्धन फापेन र उनीहरू चुनावमा पराजित भएका छन्। यस्तै नेतामध्ये एक हुन् माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश'। उनले गोरखाको प्रतिनिधिसभा क्षेत्र २ मा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग प्रतिस्पर्धा गरेका थिए। तर, भट्टराईले श्रेष्ठलाई पराजित गरे। एमाले र माओवादी केन्द्रबीच गठबन्धन गराउने सूत्रधारमध्येका थिए श्रेष्ठ। तर, उनैलाई गठबन्धनले जिताउन सकेन।

श्रेष्ठ भट्टराईसँग ६ हजार ८ सय ७४ मतले पराजित भए। भट्टराईले ३१ हजार ८ सय ७ र श्रेष्ठले २५ हजार ९ सय ३३ मत पाए। पराजित भएपछि उनले हार स्विकारेर डा. भट्टराईलाई टेलिफोनमार्फत बधाई दिए।

लोकतान्त्रिक गठबन्धनले जोगाउन सकेन नेता

कांग्रेसले एमाले-माओवादीको वाम गठबन्धनसँग चुनावमा चुनावी प्रतिस्पर्धा गर्न कमल थापा नेतृत्वको राप्रपा, डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलगायत शक्तिसँग लोकतान्त्रिक गठबन्धन निर्माण गर्‍यो। तर, गठबन्धनले आफ्ना अधिकांश शीर्ष र वरिष्ठ नेताहरूलाई नै लोकतान्त्रिक गठबन्धनले पराजित हुनबाट जोगाउन सकेन।

यो गठबन्धनले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, विजय गच्छदार, राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा, राप्रपाका कमल थापालगायत नेतालाई जोगाउन सक्ने देखिएन। यीमध्ये राणा र कोइराला पराजित भइसकेका छन् भने अरू नेता पनि मतगणनामा फराकिलो अन्तरले प्रतिस्पर्धीभन्दा पछि छन्।

‘बाबुसाहेब' भनेर चिनिने राणालाई वाम गठबन्धनका एमाले उम्मेदवार शेरबहादुर तामाङले पराजित गरे। तामाङले राणालाई ८ हजार ३२ मत अन्तरले पराजित गरे। तामाङले ३८ हजार ४ सय १ मत पाउँदा राणाले ३० हजार ३ सय ६९ मत पाएका थिए।

कांग्रेसका नेता पौडेल पनि ४ हजारभन्दा धेरै मतान्तरले प्रतिस्पर्धीको पछि छन्। वाम गठबन्धनका एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठले १९ हजार २ सय ७७ मत ल्याउँदा पौडेलले १५ हजार ३ सय ५६ मतसहित पछ्याइरहेका छन्। पौडेल ०४८ सालयता सबै निर्वाचनमा विजयी हुँदै आएका थिए।

लोकतान्त्रिक गठबन्धनकै थापा पनि पछाडि परेका छन्। एमाले उम्मेदवार कृष्णप्रसाद दाहालले २४ हजार ६ सय मत ल्याउँदा कमल थापाले १९ हजार ९ सय ९१ मतले पछ्याइरहेका छन्।

जसले सजिलै जिते

केही शीर्ष नेता भने सजिलै विजयी भएका छन्। पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल, पूर्वसभामखु सुवास नेम्वाङ, राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष मण्डलकै शरत्सिंह भण्डारीलगायत नेताले भने सहज जित पाएका छन्।

संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव २१ हजार ६ सय ३० मतसहित विजयी भए। उनले माओवादी केन्द्रका उमेश यादवलाई पराजित गरे। उमेशले ११ हजार ५ सय ७९ मत ल्याएका थिए।

१० वर्षपछि उपत्यकामा माओवादी

पछिल्लो समय उपत्यकामा शून्य प्रभाव रहेको माओवादीले यसपटक आफ्नो उपस्थिति जनाएको छ। प्रतिनिधिसभामा काठमाडौंबाट ३, भक्तपुर र ललितपुरबाट १÷१ गरी ५ क्षेत्रमा मात्र गठबन्धनबाट उम्मेदवारी दिएको माओवादीले ललितपुर क्षेत्र ३ मा जित निकालेर उपत्यकामा आफ्नो उपस्थिति देखाएको हो।

०६४ मा काठमाडौंका ४ निर्वाचन क्षेत्रमा जितेको माओवादी दोस्रो संविधानसभा निर्वाचनमा ‘निल' भएको थियो। तर, यसपटक उसले ललितपुरबाट पार्टी प्रवक्ता तथा प्रभावशाली नेत्री पम्फा भुसाललाई जिताउन सफल भएको छ। भुसाल २४ हजार ३६ मत ल्याएर विजयी भएकी हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका मदनबहादुर अमात्य २२ हजार ३ सय २९ मत ल्याए।

ललितपुरबाटै माओवादीका प्रदेशसभा उम्मेदवार राजकाजी महर्जनले १४ हजार ६ सय २४ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका नवराज महतले १० हजार १ सय १८ मत ल्याए। क्षेत्र १ को प्रदेशसभा ‘क' मा पनि माओवादीकी सुशीला पुनले अग्रता लिइरहेकी छन्।

कास्कीमा रवीन्द्रको ‘ह्याट्रिक'

कास्कीमा एमालेका युवा नेता रवीन्द्र अधिकारीले चुनाव जितेर जितको ‘ह्याट्रिक' गरे। कास्कीमा अहिलेसम्म लगातार तीन पटक कुनै पनि नेताले चुनाव जितेका छैनन्।

अधिकारीले ०६४, ०७० र अहिले ०७४ सालमा लगातार तीनपल्ट चुनाव जितेका हुन्। कास्की क्षेत्र २ बाट अधिकारीले ८ हजार ५ सय ४६ को फराकिलो मतान्तरले कांग्रेसका देवराज चालिसेलाई पराजित गरे। अधिकारीले २७ हजार २ सय ७ र चालिसेले १८ हजार ६ सय ६१ मत ल्याए।

झापा १ मा अत्यधिक चासो

निर्वाचन क्रममा यसपटक अत्यधिक चासोको क्षेत्रमध्ये एउटा हो, झापा क्षेत्र नम्बर १। कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र माओवादी केन्द्रका बौद्धिक नेता राम कार्कीले प्रतिस्पर्धा गरिरहेको यो क्षेत्रको मतगणनालाई निकै चासोपूर्वक हेरिएको छ।

चुनाव प्रचारप्रसारमा देशभर आरोप-प्रत्यारोप चलिरहँदा पनि शर्मा र कार्कीले शालीन मित्रवत् प्रतिस्पर्धा गरेकाले पनि यो क्षेत्रको परिणाममा चासो बढेको थियो। तर, यसपटक वाम गठबन्धनका उम्मेदवार कार्की जितनजिक पुगेका छन्। कार्कीले २१ हजार ६ सय ६८ मत पाउँदा शर्माले २० हजार ५ सय २३ मतसहित पछ्याइरहेका छन्।

विवेकशील र नयाँ शक्तिको राष्ट्रिय पार्टीको धोको : सपना मात्र

स्थानीय तहको निर्वाचनदेखि निर्वाचनमा प्रतिस्पर्धामा उत्रेको साझा विवेकशील पार्टीले आफ्ना उम्मेदवार उठाएका स्थानमा देशका सहरी क्षेत्रमा ‘पपुलर' मत भने ल्याउन सफल भएको छ। तर, उसले प्रत्यक्षतर्फ प्रतिनिधिसभा तथा प्रदेशसभाका कुनै पनि निर्वाचन क्षेत्रमा जित भने निकाल्न सकेन। काठमाडौं- १ मा जित्ने र राष्ट्रिय पार्टी बन्ने उसको अपेक्षामा निर्वाचन परिणामले ठेस लगाइदिएको छ। राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ अनिवार्य एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनै पर्ने कानुनी प्रावधान छ।

तर, साझा विवेकशीलले प्रत्यक्ष तर्फको जित काठमाडौं-१ मा पराजय भोगेसँगै समाप्त भएको छ। उता, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले भने आफूले उम्मेदवार उठाएका ठाउँमा ‘पपुलर' मत ल्याउन नसके पनि प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ क्षेत्रमा जितेको छ। पूर्वप्रधानमन्त्री तथा संयोकज डा. भट्टराईले गोरखा-२ मा जित निकालेका हुन् भने रसुवाको प्रदेशसभा (ख)मा प्रेम तामाङले माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामेलाई पराजित गर्दै जित निकालेका हुन्। त्यस्तै, गोरखा २ को प्रदेशसभा (क)मा हरिशरण आचार्यले जितेका हुन्। आचार्यले १५ हजार ३४३ मत ल्याई माओवादी केन्द्रकी कमला नहर्कीलाई पराजित गरेका हुन्। तर, भट्टराईको पार्टीले अन्यत्र ल्याएको मतको तुलना गर्दा समानुपातिकतर्फ ३ प्रतिशत मत पुर्‍याउन मुस्किल पर्ने देखिएको छ।

बाबुकैझैं थर्काए प्रकाशमानले

काठमाडौं-१ का विजयी उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहले निर्वाचनमा जितेपछि सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरेका छन्। निर्वाचनका क्रममा उनलाई विवेकशील साझाका रवीन्द्र मिश्रले खतरनाक चुनौती दिएका थिए। सिंहले ८ सय १९ मतले मात्रै मिश्रलाई पराजित गरेका थिए। सिंह १० हजार ९ सय ३७ मत ल्याई विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी मि श्रले १० हजार १ सय १८ मत ल्याएका थिए।

गणेशमान सिंहले ०१५ सालमा चुनावपछि काठमाडौंका मतदातालाई भेडाको संज्ञा दिँदै थर्काएका थिए। त्यस्तै यसपटक अत्यधिक चाप खेपेका उनकै छोरा प्रकाशमानले पनि बाबुकै शैलीमा सञ्चारमाध्यमप्रति जितलगत्तै आक्रोश पोखेका थिए। मतगणनास्थल राष्ट्रिय सभा गृहमा सिंहले चुनाव जितेसँगै सञ्चारमाध्यमप्रति तिखो आक्रोश पोखेका थिए। ‘ठूला मिडियाले आफूलाई साथ नदिए पनि चुनाव जितँे,' सिंहले विजय भएपछिको प्रतिक्रियामा भने।

पुनः गणना माग गर्दै मतगणना बहिष्कार

काठमाडौंको क्षेत्र नम्बर ५ मा भने लोकतान्त्रिक गठबन्धनअन्तर्गत कांग्रेसले पुनः मतगणना माग गर्दै मतगणना बहिष्कार गरेको छ। त्यहाँ एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेसका डा. प्रकाशशरण महत चुनावी प्रतिस्पर्धामा छन्। विवेकशील साझाका नेता उज्ज्वल थापा पनि प्रतिस्पर्धामा छन्।

कांग्रेसले केही मतदान केन्द्रमा मुचुल्का उठाएको भन्दा बढी मतपत्र भेटिएको, मतदान अधिकृतको हस्ताक्षर नभएको मतपेटिका पनि देखिएको भन्दै ती क्षेत्रको मतगणना पुनः गर्न माग गरेको हो। मतगणना पुनः दोहोर्‍याएर नगरे मतगणना नै बहिष्कार गर्ने भन्दै कांग्रेस उम्मेदवार प्रकाशशरण महत बाहिरिएका थिए। महतलाई साझा विवेकशीलका उज्ज्वल थापाले पनि सहयोग गरेका थिए।

लोकतान्त्रिक गठबन्धनले खासगरी नारायणस्थान सत्तल (क), विष्णुपादुका मन्दिर (क), गुठीघर सत्तल -क), युनिभर्सल (ख) र सरस्वती मावि टोखा -ख)को मतगणना पुनः गर्न माग गरेर बहिष्कार गरेको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.