झापामा वामगठबन्धनको जित सुरु , झापा ४ मा सावा विजयी
दमक: झापामा वामगठबन्धनले विजयी सुरु गरेको छ। वामगठबन्धनकातर्फबाट झापा क्षेत्र नम्बर ४ का उम्मेदवार नेकपा एमालेका एल पी सावाले जित हासिल गरेका हुन्।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देउमान थेबेलाई १६,६९३ को फराकिलो मतअन्तरले पराजित गरेका छन् । सावाले ४३,५१५ मत प्राप्त गरे भने थेबेले २६,८२२ मत प्राप्त गरे। प्रदेशसभा तर्फ पनि बाम गठबन्धनका उम्मेद्वार नै बिजयी भएका छन् । प्रदेश १ बाट माओवादी केन्द्रका झलक बहादुर मगर र प्रदेश २ बाट हिराकुमार थापा बिजयी भएका छन्। मगरले १७,२५६ मत पाए भने थापाले २४,९०१ मत ल्याए।
मगरका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका किरण भट्टराईले १२,४८१ मत पाए । त्यस्तै थापाका प्रतिस्पर्धी उत्तम कुमार शर्माले १४,९६५ मत प्राप्त गरे।
प्रतिनिधिसभा तर्फ क्षेत्र ४ मा ७७,१९२ मत खसेकोमा ३,५६३ म बदर भएको क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत प्रेम खड्काले जानकारी दिए । विजयी घोषणा भएपछि सावाले देश विकासको अभियानमा प्रतिवद्ध भएर लाग्ने बताए।