१० हजार पाँचसय मतान्तरले नारायणप्रसाद खतविडाले अर्जुननरसिंह केसीलाई हराए
नुवाकोट : देशमा संविधान र संघीयतालाई कार्यान्वयन गर्ने क्रममा पहिलो चरणमा मंसिर १० गते आइतबार नुवाकोटमा भएको मतदानको अन्तिम मत परिणाम आइतबार बिहान सार्वजनिक भएको छ। दुईवटा प्रतिनिधि सभा र चार वटा प्रदेश तह रहेको नुवाकोटमा वाम गठवन्धनका उम्मेदवारहरु विजयी भएका छन्।
नुवाकोटको एक प्रतिनिधि सभा र तीन वटा प्रदेशमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन्। प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेकपा एमालेका जिल्ला नारायणप्रसाद खतिवडा विजयी भएका छन्। उनले कांग्रेस नेता अर्जुननसिह केसीलाई १० हजार पाँचसय ५७ मतान्तरले पराजित गरेका हुन्। प्रतिनिधिसभा क्षेत्र नं. २ मा विजयी ६० वर्षीय खतिवडाले पुराना राजनीतिज्ञ नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अर्जुननरसिंह केसीलाई पराजित गर्दै ३६ हजार ८ सय ९२ मत ल्याएका छन्।
उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३ सय ३५ मत प्राप्त गरे। केसी २०४८ को आम निर्वाचन, २०५१ को मध्यावधि निर्वाचन तथा २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा क्रमशः नुवाकोट क्षेत्र नं. ३ र १ वाट विजयी भएका थिए।
सोही क्षेत्रको प्रदेश क मा एमालेका केशवराज पाण्डे, प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश क मा माओवादी केन्द्रका राधिका तामाङ र सोही क्षेत्रको प्रदेश ख मा एमालेका बद्री मैनाली विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नुवाकोटका सबै क्षेत्रमा वाम गठवन्धनका उम्मेदवारहरु विजयी हुने निश्चित देखिएको छ।
प्रतिनिधिसभा क्षेत्र नं. १ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका हितबहादुर तामाङले २९ हजार ९ सय ५६ सहित अग्रस्थानमा रहेका छन्। नेपाली कांग्रेसका नेता तथा पुर्व अर्थमन्त्री डा. रामशण महतले २२ हजार ८ सय ८७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यो निर्वाचन क्षेत्रको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। प्रतिनिधिसभा क्षेत्र नं. २ प्रदेश क मा एमालेका केशवराज पाण्डे विजयी भएका छन्। उनले नेपाली कांग्रेसका जगदिश्वरनरसिंह केसीलाई सात हजार दुई सय ८० मतान्तरले पराजित गरेका हुन्। पाण्डेले २० हजार ९ मत प्राप्त गर्दा उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगदीश्वरनरसिंह केसील १२ हजार ७ सय २९ मत प्राप्त गरेका छन्।
यस्तै प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश क मा माओवादी केन्द्रकी राधिका तामाङ विजयी भएकी छन्। उनी १८ हजार एक सय ३७ मत प्राप्त गरी विजयी भएकी हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष महेन्द्र थिङले १३ हजार तीन सय ६८ मत प्राप्त गरे। सोही क्षेत्रको प्रदेश ख मा नेकपा एमालेका उपाध्यक्ष बद्री मैनाली विजयी भएका छन्।
मैनालीले २० हजार पाँच सय ९ मत ल्याई प्रदेशसभामा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस महासमिति सदस्य रमेशकुमार महतले मैनालीको भन्दा आठहजार दुई सय ९२ कम १२ हजार दुई सय १७ मत प्राप्त गरे।
यता, प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेश ख मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका जिल्ला संयोजक हिरानानाथ खतिवडाको अग्रता कायमै छ। उनले १५ हजार ५ सय ८९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जगत तामाङले १२ हजार ७८० मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत यज्ञ पुरीले जानकारी दिए।
नुवाकोटको पछिल्लो मतपरिणामका आधारमा नुवाकोटका ६ वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी हुने निश्चित देखिएको छ। नुवाकोट क्षेत्र नं. १ र नुवाकोट २ प्रदेश ख को अन्तिम मत परिणाम आइतबार दिउँसोसम्ममा सार्वजनिक हुने जनाइएको छ।