वाम सफलता

 वाम सफलता

प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना कार्य जारी छ। प्रारम्भिक मतगणनामा वाम गठबन्धनको पक्षमा जनलहर आएको देखिएको छ भने पहिलो ठूलो पार्टी कांग्रेस रक्षात्मक अवस्थामा छ। मतगणनाको प्रारम्भिक प्रवृत्ति अन्तिमसम्म कायम हुने लक्षण देखिएकाले अब नेपाली राजनीतिमा एकमना वाम गठबन्धनको सरकार गठन हुने सम्भावना अधिक देखिएको छ। नेपाल धेरै वामपन्थी जनमत भएको देश भनेर यसअघिका संविधानसभालगायतका निर्वाचन परिणामहरूले पनि देखाइसकेको हो।

यसपटक दुईवटा ठूला कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल भएपछि वामपन्थीहरूले ठूलो जित हात पार्ने भएका छन्। २०४६ सालको राजनीतिक परिवर्तनपछि ०५१ सालमा एमालेको अल्पमतको सरकार बनेयता कम्युनिस्टहरू पटकपटक सत्तामा पुगिसकेका छन्। एमाले र माओवादी पृष्ठभूमिका कम्तीमा आधा दर्जन नेता प्रधानमन्त्री भइसकेका छन्। यद्यपि अहिले भएको वाम गठबन्धनको जितले नेपाली राजनीतिमा कम्युनिस्ट जनमतको बलियो पकड रहेको पुष्टि गरेको छ।

वाम गठबन्धनको पक्षमा बलियो जनमत देखा पर्नुका पछाडिको सबैभन्दा ठूलो कारण यी दलहरूले अघि सारेको राजनीतिक स्थायित्व, विकास र आर्थिक समृद्धिको नारा हो। यी दलले अघि सारेको समृद्धि र स्थायित्वको नारा जनताले रुचाएको देखियो भने ‘वामपन्थीले जिते देशमा अधिनायकवाद आउँछ' भनेर विपक्षीले गरेको तर्कलाई नरुचाएको देखियो। चिराचिरामा विभाजित वामशक्ति एक ठाउँमा आउँदा त्यसले वामपन्थी कार्यकर्तामा उत्साह ल्याएको पनि देखियो। तालमेल हुँदै एकतामा जाने एमाले र माओवादीको निर्णयले यो जनमतले एक हदसम्म अनुमोदन गरेको देखियो। चुनावी नतिजामा वाम गठबन्धनले सत्ता सञ्चालन गर्ने तहमै जित्दै गरेको प्रारम्भिक अनुमान भइरहेका बेला यसको सार्थकता प्रमाणित गर्ने चुनौती पनि त्यत्तिकै छ।

सम्पूर्ण मतपरिणामपश्चात् राजनीतिक शक्ति सन्तुलनको अवस्था के हुनेछ, त्यसअनुरूप आगामी राजनीतिक परिदृश्यहरू अघि बढ्दै जानेछन्। यद्यपि चुनावपछि वाम गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने अनुमान गर्न सकिने प्रारम्भिक नतिजाहरूले देखाएका छन्। त्यसो हुँदा यस वाम गठबन्धनको पहिलो चुनौती नै दुई पार्टीबीच सत्ता बाँडफाँट, तल्लो तहदेखि केन्द्रसम्मको पार्टी एकता, मुख्य ओहोदाहरूको भागबन्डा आदि हुनेछ। त्यस्तै यो गठबन्धनले आर्थिक समृद्धि, विकास अनि राजनीतिक स्थायित्वको नारा अघि सार्दै गर्दा यसतर्फ बढ्ने कार्यक्रम के हुन् ? आशा, अपेक्षा र सपना नै सपना पालेर बसेका जनतालाई यिनले केकसरी सम्बोधन गर्दै जानेछन् ? यी सबै कुराले वाम गठबन्धन जितको सार्थकता रहनेछ।

वामपन्थीहरूले यो चुनावबाट शक्ति आर्जन गरेका छन्। शक्ति बढ्दै जाँदा त्यसले उन्माद ल्याउने प्रशस्त सम्भावना हुन्छ। जितको सार्थकता र स्थायित्व वाम गठबन्धन शक्ति उन्मादबाट कति विमुख हुन्छ, त्यसले पनि निक्र्योल हुनेछ। लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउँदै यसको सुदृढीकरण, मुलुक नयाँ संरचनामा जाँदै गरेको र नयाँ अभ्यास भएकाले यसलाई बलियो बनाउनेतर्फ गठबन्धनको ध्येय केन्द्रित हुनुपर्छ। जनमतको मूल आदेश राजनीतिक स्थिरता र समृद्धि हो। उसका व्यवहार र कार्यक्रम यसैतर्फ लक्षित हुनुपर्छ। जितको अहंकार होइन, सबैलाई समेट्दै लोकतान्त्रिक पद्धतिअनुरूप आफूलाई थप जिम्मेवार शक्तिका रूपमा विकास गर्न सक्नुपर्छ।

लोकतन्त्रको मुख्य आधार निर्वाचन हो। निर्वाचनको जनादेशको सम्मान सबैले गर्नुपर्छ। अहिले जित र सरकार सञ्चालन वामपन्थी शक्तिहरूका हातमा जाँदैछ। यसलाई यो शक्तिले अवसरको रूपमा लिन सक्नुपर्छ। नेपाली राजनीति लामो समयदेखि निराशा, अव्यवस्थापन र अस्थिरताको भुमरीमा छ। यद्यपि यसबीच राजनीतिक रूपमा निकै अगाडि बढेको अवस्था छ। राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै नयाँ संविधानलाई बलियो बनाउँदै संघीय गणतान्त्रिक मुलुकको भविष्य कोर्ने जुन गहन जिम्मेवारी वाम शक्तिको काँधमा आउँदैछ, त्यसलाई पूरा गर्न सके मात्रै अहिलेको जितको सार्थकता रहन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.