रुकुममा सधैँ किन जित्छ माओवादी?

रुकुममा सधैँ किन जित्छ माओवादी?

मसीकोट : २०६४ सालमा पहिलोपटक चुनाव लडेर सबैभन्दा ठूलो दल बन्दा होस् वा २०७० को चुनावमा तेस्रो दल बन्दा होस्, स्थानीय तहको निर्वाचन होस् वा नयाँ संरचनाअन्तर्गत पहिलोपटक भएको प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचन नै किन नहोस्, हरेक पटक रुकुमले माओवादीलाई साथ दियो।

७० सलाको चुनावमा देशभर माओवादी तेस्रो हुँदा रुकुममा माओवादी कमजोर देखिएन। ‘राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्दै २०५२ साल फागुन १ गतेदेखि उसले सशस्त्र युद्ध थाल्दा पनि सबैभन्दा बढी बलिदानी यही क्षेत्रले गर्‍यो।

पहिला एक नगरपालिका र ४१ वटा गाउँ विकास समिति रहेको रुकुम जिल्ला हालको संघीय संरचनामा रुकुम पुर्व र रुकुम पश्चिम गरी दुई जिल्लामा बाँडिएको छ। पूर्वमा तीन गाउँपालिका रहेका छन् भने पश्चिममा तीन नगरपालिका र तीन गाउँपालिका गरी जम्मा ६ वटा स्थानीय तह छन्। हालै सम्पन्न स्थानीय तह निर्वाचनामा रुकुमका ९ वटै स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवारहरूले जित हात परेका थिए।

विगतको मत परिणामबाट उत्साहित बनेको माओवादी केन्द्र यसपटक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमालेसँग संयुक्त वाम गठबन्धन बनेपछि झन् सुविधामा थियो। रुकुम पूर्व र पश्चिममा माओवादी केन्द्रका उम्मेदवारहरूले सहज जित हात पारेका छन्।

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा नेपाली कांग्रेसका उम्मेदवारहरूसँग नै मुख्य प्रतिस्पर्धा गर्दै प्रतिनिधिसभामा माओवादी केन्द्रकी नेतृ कमला रोका विजयी भइन्। प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रकै तेजबहादुर ओली र ‘ख’ मा पूर्णबहादुर घर्तीले जित हात परे।

पश्चिम रुकुममा पनि प्रतिनिधिसभा सदस्यमा २०६४ र २०७० सालका दुई निर्वाचनका विजेता उम्मेदवार जनार्दन शर्मा प्रभाकरले ह्याट्रिक गरे। उनले आफ्नो जितपछि रुकुमलाई ‘माओवादीको लालकिल्ला’ कायम गरेको बताए। नेपाली कांग्रेसका पुराना नेता गोपाल जि जंङ्ग शाहसँग २०४८ र २०७० पछि पुनः यसपटक पल्टको निर्वाचनमा तेस्रो पटक आमने–सामने भएका शर्माले १८ हजार ७३४ मतको फराकिलो अन्तरमा जित हात पारे।

प्रतिनिधिसभा सदस्यमा मात्र होइन, पश्चिम रुकुममा पनि पूर्वमा जस्तै दुईवटै प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवारहरू जितकोज् झण्डा गाडेका छन्। प्रदेश सभा ‘क’ मा माओवादीका रातो कामीले जम्मा ८ हजार २३३ मतको अन्तरमा कांग्रेसका उम्मेदवार कृष्णबहादुर रोकायलाई पछि पारे भने प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रकै गोपाल शर्मा अनलले कांग्रेसका खड्कबहादुर डाँगीलाई १० हजार ५१० मतको फराकिलो अन्तरमा हराए।

किन जित्छ माओवादी?

रुकुम पश्चिमबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन जितेपछि सदरमुकाम मुसीकोटमा विजय उत्सवमा सहभागी नेताहरू। फोटो : महेस केसी

२०६४ मा सम्पन्न संविधानसभा निर्वाचन भन्दा अगाडिका विभिन्न निर्वाचनमा पुराना संसदीय दल कांग्रेस र एमालेले पालो–पालो जित्दै आएका रुकुमका चुनावी क्षेत्रहरू विगत एक दशकदेखि माओवादीका ‘आधार क्षेत्र’ बन्न गएका छन्।

पहिलो संविधानसभा निर्वाचनमा रुकुमका जनताले ‘डराएर माओवादीलाई भोट हाले’ भन्ने आरोपको खण्डन मतदाताले गर्दै आएको तर्क गर्छन् माओवादी केन्द्रका केन्द्रीय सदस्य धनवीर ओली। ‘हिजो माओवादीले मतदातालाई बन्दुक देखाएर प्रभावमा पार्‍यो भनेर हामीलाई आरोप लगाउनेहरूलाई रुकुमेली जनताले नै जवाफ दिरहेका छन्’, केन्द्रीय सदस्य ओली भन्छन्, ‘माओवादी जनताको पक्षमा काम गर्ने पार्टी भएकै कारण हरेक पटक जनताद्वारा अनुमोदिन हुँदै रुकुममा लगातार जितिरहेको छ।’

रुकुममा २०६४ सालदेखिका सबै निर्वाचनमा माओवादीसँग मुख्य प्रतिस्पर्धामा रहेको नेपाली कांग्रेसका नेताहरू भने अझै पनि यो मान्न तयार छैनन्। कांग्रेस रुकुमका नेताहरूले अहिले पनि माओवादीले मतदातालाई प्रभावमा पार्न अनेक तिकडमबाजी गरिरहेका कारण माओवादीले चुनाव जितेको दावी गर्छन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रुकुम पूर्व र पश्चिमका सबै निर्वाचन क्षेत्रमा विगतमा जस्तै यसपटक पनि माओवादी केन्द्रका उम्मेदवारहरूले नै ‘क्लिन स्विप’ गरेपछि शनिबार पूर्वको रुकुमकोट र पश्चिमको मुसीकोटमा छुट्टाछुट्टै आयोजना गरिएका विजय सभामा बोल्दै विजयी माओवादी उम्मेदवारहरूले रुकुम माओवादीको ‘आधार क्षेत्र’ हिजोदेखि नै भएको भन्दै वाम एकतापछि ‘कम्युनिस्टको किल्ला’ रहेको बताएका छन्।

रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा जितेका पूर्व गृहमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शमाले विजय सभामा भने, ‘रुकुम माओवादीको आधारभूमि हो। अब रुकुमसँगै सिंगो देश नै कम्युनिस्टको किल्ला हुने छ। अबको पाँच वर्षभित्र हामी देश र जनताको समृद्धिका लागि लाग्ने छौँ।’

त्यस्तै रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व युवा तथा खेलकुद मन्त्री एवम् माओवादी महिला नेतृ कमला रोकाले मतदातालाई धन्यवाद दिँदै भनिन्, ‘तत्कालीन समयमा माओवादी जनयुद्ध युगको आवश्यकता थियो। जनयुद्धकै बाटो भएर अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायी व्यवस्थापनमा जुटेका छौँ। अब देशको मुहार फेर्ने बेला आएको छ त्यसका लागी प्रगतिशील वामपन्थीहरूको एकता जरुरी छ।’

पहिलो र दोस्रो संविधानसभा निर्वाचनको मतपरिणमलाई हेर्दा माओवादी पहिलो स्थानमा, कांग्रेस दोस्रो स्थानमा र एमाले तेस्रो स्थानमा रहेको देखिन्छ। त्यसपछि सम्पन्न स्थानीय तहको निर्वाचनमा भने पश्चिम रुकुममा माओवादी नै पहिलो हुँदा कांग्रेस र एमालेले आफ्नो पुरानै स्थान कायम गरे भने रुकुम पूर्वमा भने कांग्रेसलाई उछिन्दै एमाले दोस्रो भयो। स्थानीय तह निर्वाचनमा रुकुम पूर्व र पश्चिमका सबै स्थानीय तहमा जित हात पारेको माओवादी केन्द्रभन्दा पछाडि रहेका कांग्रेस एमालेले केही थोरै वडामा मात्रै जितेर चित्त बुझाउनुर्‍यो।

यसपटक भने गठबन्धनका गरेका कारण एमाले माओवादी केन्द्रको सहयोगी भूमिकामा मात्र थियो। गठबन्धनको सहयात्रीले जितेको खुसी बाहेक एमालेका लागि यसपटक रुकुमको परिणाम ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ जस्तै भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.