लोककलाको भविष्य उज्ज्वल छ
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को उपकुलपति शारदा चित्रकार पुराना चित्रकारमध्ये एक हुनुहुन्छ। लोककलाका विषयमा उहाँसँग कृष्णराज सर्वहारीले गरेको कुराकानीः
चित्रकलामा कसरी आकर्षित हुनुभयो ? हालसम्म एकल प्रदर्शनी कति गर्नुभयो ?
बाल्यकालदेखि नै मेरा पिता मूर्धन्य कलाकार तेजबहादुर चित्रकारको प्रशिक्षण र प्रोत्साहन पाएर चित्रकला क्षेत्रमा आकर्षित भएँ। पारिवारिक जिम्मेवारी सम्हाल्दै कलासाधनामा निरन्तर लागिरहेँ। तर जीवनको उत्तराद्र्धमा आएर मात्र एकल प्रदर्शनीको आयोजना गर्ने जमर्को गरेँ। सन् २००१ मा पहिलो र सन् २००४ मा दोस्रो एकल प्रदर्शनीको आयोजना गरियो। अहिले फेरि सुस्ताएको छ। एकल प्रदर्शनी मात्रैले पनि कलामा निरन्तरता रहनुको प्रमाण होइन। अहिले पनि म चित्र कोरिरहेकी छु।
तपाईं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को पहिलो कार्यकालमा प्राज्ञ परिषद् सदस्य अहिले उपकुलपति हुनुहुन्छ। आफ्नो कार्यकालमा उल्लेखनीय के काम गर्नुभयो ?
पहिलो कार्यकालमा मैले लोककला विभागको जिम्मेवारी पाएँ। देशका विविध जातिका संस्कृति र कलालाई संरक्षण प्रवद्र्धन गर्ने महत्वपूर्ण अभिभारा लिएर लोककलाको क्षेत्रमा केही योगदान दिन पाएकोमा खुसी लाग्यो। पौराणिक नेवार लोककला पुँज्या, तराई नेपालको लोककला, प्रसिद्ध नेपाली पौभा कलाकार, जातीय पहिचानको लोककलालगायत शीर्षकमा लोककला र परम्परागत कलासम्बन्धी अनुसन्धानात्मक पुस्तकहरू पनि प्रकाशित गरियो।
दोस्रो कार्यकालमा उपकुलपतिको अभिभारा लिएर सबै कला विधाको विकास र कलाकारको उत्तरोत्तर प्रगतिको लागि योगदान दिने अवसर पाएको छु। यस कार्यकालमा मेरो नेतृत्वमा परम्परागत र लोककला गोष्ठीहरू आयोजित भए। यस उपलब्धिलाई सुरक्षित गर्न र जनमानसमा परिचित गराउन गोष्ठीहरूको अभिलेख पुस्तिका प्रकाशन गर्ने कार्य प्रगतिमा छ। यसको अतिरिक्त नाफाको संरचना र प्रशासनमा आफ्नो समय दिनुपर्ने त भइहाल्यो। समस्याहरू धेरै छन्, जटिलता छ, चुनौती छ। अझ भूकम्पले नाफा रहेको भवन बस्नलायक नरहेपछि बस्नलाई टहरो बनाउँदा प्रशासनिक काममै धेरै अल्झिनु पर्यो।
लोककलाको अवस्था कस्तो छ ? यसको संरक्षणमा नाफाको योजना कस्तो छ ?
लोककला कुनै पनि मानव समाजको मौलिक कला हो। विभिन्न जातिको आआफ्नो पहिचानको सुन्दर एवम् उत्तम साधन हो। कलाकारको सिर्जना शक्तिको द्योतक हो। लोककलाको सम्बन्ध मानव सभ्यताको विकाससँग गहिरो रूपमा आबद्ध रहेको हुन्छ। बिना कुनै औपचारिक प्रशिक्षण पनि सिर्जनशील व्यक्तिले आफ्ना अनुभवलाई कलाको माध्यमबाट प्रकाशमा ल्याउन सक्छ। जसले यस्तो जमर्को गर्छ, आफूलाई कलाकार कहलाउन सक्छ। लोककलाको यस अमूल्य धरोहरलाई जगेर्ना गर्दै आधुनिक प्रयोगतर्फ पनि लग्न सकेमा लोककलाहरूले आर्थिक उन्नतिमा पनि महत्वपूर्ण योगदान गर्न सक्छ। बहुजातीय, बहुभाषिक, बहुसंस्कृतिले सम्पन्न नेपालमा लोककलाको ठूलो महत्व छ।
मिथिला कलाले केही समयपहिलेदेखि नै आफ्नो पहिचानलाई स्थापित गरिसकेको अवस्था छ। अन्य जातिका लोककलाको विषय धार्मिक क्रियाकलाप, कर्मकाण्ड र विशेषगरी ग्रामीण समाजमा गृह सजावटको लागि प्रचलनमा रहिरहेको तर धेरै कम मात्रमा मात्र जनमानसमा प्रचारमा आएको स्थिति छ। अवध कलालगायत कतिपय लोककला लोपोन्मुख छन्।
नाफा लोककलाकारहरूको उच्च सम्मान गर्दछ र उनीहरूलाई जनमानसमा परिचित गराउन प्रयत्नशील रहँदै आएको छ। यसतर्फ विगतमा भएका प्रयासहरूबाट सन्तोषजनक उपलब्धि हासिल भएको छ। लोककलाको संरक्षण र संवद्र्धनमा हाम्रो ध्यान निरन्तर गइरहनेछ।
लोककलामा लाग्नेहरूको भविष्य कस्तो छ ?
हामी सबैको प्रयास जारी रह्यो भने लोककलाको भविष्य उज्ज्वल रहेको देख्छु। त्यसका लागि लोककलाकारहरूले निरन्तर अभ्यासमा अभ्यस्त हुनु आवश्यक छ। कलाको महत्वलाई बुझेर अन्य कलाकारहरू तथा कला, संस्कृति ज्ञाताहरूसँग अनुभव, ज्ञानको आदानप्रदान गर्नु राम्रो हुन्छ।