पाँचथरमा सबै सिटमा वाम गठबन्धनको विजय
फिदिम : पाँचथरको प्रदेश तथा प्रतिनिधिसभाको सबै सिटमा वाम गठबन्धनले जितेको छ। प्रतिनिधि सभा सदस्यको एक सिट र प्रदेशसभा सदस्यको दुई सिट रहेको पाँचथरमा फाकिलो मत अन्तरले वाम गठबन्धनका उम्मेदवारले जितेका हुन्।
प्रतिनिधिसभा सदस्यमा एमालेका बसन्त नेम्बाङले सानदार मतका साथ जितेका छन्। नेम्बाङले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई १० हजार ६ सय १६ मत अन्तरले हराएका हुन्। कुल ७७ हजार नौ सय १३ मतमा नेम्बाङ्ले ३८ हजार ६ सय ४१ मत पाएर विजयी बनेका हुन्। निकटतम प्रतिद्धन्द्वी आङ्देम्बेले २८ हजार २५ मत प्राप्त गरेका छन्।
प्रदेशसभा क मा पनि एमालेकै गणेश काम्वाङले जितेका छन्। कांग्रेसका नरेन्द्रकुमार केरुङलाई चार हजार नौ सय ३२ मतले हराउँदै काम्बाङ पाँचथरबाट दोस्रो पटक सांसद बनेका हुन्। कुल ४१ हजार पाँच सय ८१ मतमा काम्वाङले २१ हजार १० मत पाएर विजयी बनेका हुन्। निकटतम प्रतिद्धन्द्वी केरुङले १६ हजार ७८ मत पाएका हुन्। २०७० सालको संविधानसभको दोस्रो निर्वाचनमा पनि काम्बाङले केरुङलाई हराएका थिए।
प्रदेशसभा ख मा वाम गठबन्धनका इन्द्र आङ्बो (मौसमले) जितेका छन्। आङ्बोले चार हजार सात सय ९१ मत अन्तरले नेपाली कांग्रेसका सुरेन्द्रकुमार दहाललाई हराएका हुन्। कुल ३६ हजार एक सय ५६ मतमा आङ्बोले १६ हजार ९ सय ८ मत पाएर विजयी बने भने निकटतम प्रतिद्धन्द्वी दहालले १२ हजार एक सय १७ मत पाएका हुन्। तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएको घोषणा भएपछि वाम गठबन्धनले फिदिम बजारमा ¥याली गरिरहेको छ।
पाँचथरबाट विजयी भएका गणेश काम्वाङ, इन्द्र आङ्बो र बसन्त नेम्बाङ।