गच्छदारविरुद्ध भगवतीको अग्रता कायमै, अर्थमन्त्री कार्की विजय नजिक
इनरुवा : सुनसरी क्षेत्र नम्बर ३ मा उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई अग्रता लिन समस्या देखिएको छ। तीन दिनदेखिको मत गणनाको परिणमअनुसार गच्छदार एमालेकी भगवती चौधरीसँगको प्रतिष्पर्धामा पछाडि परेका छन्।
पछिल्लो मत परिणमअनुसार एमालेकी भगवती चौधरीको १८ हजार ८ सय मत प्राप्त गरी अग्रस्थान कायम गरेकी छन्। गच्छदारले १७ हजार २ सय ८३ मत प्राप्त गरेका छन्। भगवती सँगको प्रतिष्पर्धामा गच्छदारले आइतबार भने मतअन्तर घटाएका छन्। आइतबार बिहानसम्म भगवतीले गच्छदारलाई २५ सय मतले पछि पारेकी थिइन्।
क्षेत्र नम्बर ३ मा कुल खसेको ८७ हजार मतमध्य आधा मत गनि सकिएको छ। अझै आधा मत गन्न्न बाँकी रहेका कारण गच्छदारले मतअन्तर घटाएर निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने गच्छदारको दावी छ।
क्षेत्र नम्बर ४ मा भने अर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्र कार्की विजय नजिक पुगेका छन्। पछिल्लो मत परिणामअनुसार कार्कीले २३ हजार ९ सय ९१ मत प्राप्त गरेका छन्। उनका प्रतिष्पर्धी एमालेका रमेश श्रेष्ठले १८ हजार ६ सय २५ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा ७५ हजार एक सय १२ मत खसेकोमा ५३ हजार ८ सय २७ मत गणना भइसकेको छ।
क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईलाई झण्डै दोब्बर मत अन्तरले पछि पार्दै एमालेका जयकुमार राईले अग्रता लिएका छन्। एमालेका जयकुमारले ३१ हजार ७ सय ८९ मत प्राप्त गरी अग्रस्थानमा देखिएका छन्। समाजवादीका अशोकले भने १६ हजार एक मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर २ मा कांग्रेसका सीतारम महतोले आफ्नो अग्रतालाई कायमै राखेका छन्। उनले २२ हजार ४ सय ७५ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा माओवादी केन्द्रका डम्मरु सुवेदीले १९ हजार ९४ मत प्राप्त गरेका छन्।
प्रदेश सभातर्फ क्षेत्र नम्बर १ को (ख) मा एमालेका सचिव तथा प्रदेश एक का मुख्यमन्त्रीका दावेदार भीम आचार्यले सुरवाती अग्रता लिएका छन्। आचार्यले २हजार ७ सय ४७ मत प्राप्त गरेका छन। उनका प्रतिष्पर्धि कांग्रेसका बृद्धि कट्वालले एक हजार ५ सय ७० मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर २ को (क) मा एमालेका सर्वध्वज साँवाले १३ हजार ३ सय ९५ मत प्राप्त गरेका छन्। कांग्रेसका हेमकर्ण पौडेलले ११ हजार एक सय ९६ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर ३ को (क) मा एमालेका लिलम बस्नेतले १३ हजार ७ सय ७० मत प्राप्त गरि अग्रस्थानमा देखिएका छन्। कांग्रेसका कुमार थापाले ११ हजार ५२ मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर ४ को (ख) मा कांग्रेसका ताहिर अन्सारीले एक हजार ८ सय ९१ मत प्राप्त गरेका छन्।
माओवादी केन्द्रका जापकर हुसेनले एक हजार २ सय ३७ मत प्राप्त गरेका छन् भने संघिय समाजवादीका मनोज यादवले एक हजार ३५ मत प्राप्त गरेका छन्। सुनसरी क्षेत्र नम्बर १ को (क) मा एमालेका प्रदिप भण्डारी र क्षेत्र नम्बर ४ को (ख) मा एमालेकै जगदिश कुसियत विजयी भैसकेका छन्। क्षेत्र नम्बर ३ को (ख) को मतगणना भने हुन सकेको छैन्।