रामेछापमा वामगठबन्धन विजयी
सिन्धुलीः रामेछाप जिल्लामा वाम गठबन्धन विजयी भएको छ। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछाप जिल्लामा आइतबार सम्पन्न मतगणनाबाट प्रतिनिधिसभाका लागि वामगठबन्धनबाट माओवादी केन्द्रका श्याकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका पुर्ण बहादुर तामाङ (कान्छाराम) लाई पछि पारेका हुन्।
श्रेष्ठ ४२ हजार १ सय १७ मत ल्याई विजयी भएका हुन् भने तामाङले ३५ हजार ७ सय ७१ मत मात्र प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । दुबै प्रदेशसभामा पनि वाम गठबन्धनकै उमेदवारले जित हात पारेका छन्।
रामेछापको प्रदेश सभा (क) मा वामगठबन्धनबाट नेकपा एमालेका शान्ती पौडेल २२ हजार ३ सय ६९ मतले विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता रत्न कार्कीले १६ हजार १ सय ५८ मत प्राप्त गरेका छन्।
प्रदेश सभा (ख) मा पनि वामगठबन्धनबाट नेकपा एमाले कैलाश ढुङ्गेल २६ हजार ९ सय ३५ मत ल्याउँदै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस जितबहादुर मगर १४ हजार ७ सय २९ मतका साथ ढुङ्गेलसंग पराजित भएका छन्। रामेछापमा प्रत्यक्ष तर्फको दुबै तहको मतगणना सम्पन्न भएपछि समानुपातिक तर्फको मतगणना जारी छ।