राजनीतिभित्रको फोहर सफा गर्ने महेश बस्नेतको उद्घोष

राजनीतिभित्रको फोहर सफा गर्ने महेश बस्नेतको उद्घोष

भक्तपुर : पूर्वसभामुख दमननाथ ढुंगानालाई भारी मतान्तरले पराजित गर्दै पहिलोपटक सांसद बन्न सफल नेकपा एमालेका युवा नेता महेश बस्नेतले राजनीतिभित्रको फोहर सफा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रतिनिसभा सदस्य निर्वाचनमा विजय भएपछि आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा उनले राजनीतिभित्रको फोहर मानिने भ्रष्टाचार अन्त गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

भक्तपुर क्षेत्र नं २ बाट वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका बस्नेतले ३६ हजार चार सय १२ मत ल्याएर जीत दर्ता गरेका थिए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानाले १८ हजार ६ सय ८७ मतमै चित्त बुझाउनुपर्‍यो। विजयी बस्नेतले ढुंगानाभन्दा करिब दोब्बर १७ हजार सात सय २५ मत बढी ल्याएका थिए।

विजयी भएको प्रमाणपत्र बुझ्दै पूर्वउद्योगमन्त्री बस्नेतले देश विकाससँगै जनतालाई आर्थिक समृद्धितर्फ अघि बढाउन आफूले काम गर्ने वाचार गरे। ‘सकेसम्म देश र जनताको शीर ठाडो हुने काम गर्नेछौं’, उनले भने, ‘नसके शीर निहुरिन दिन्नौं।’

त्यस्तै भक्तपुर क्षेत्र नं २ को प्रदेश क र ख मा जीत हात पार्ने वाम गठबन्धनका लागि एमालेका उम्मेदवारद्वय शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठले भक्तपुरलाई प्रदेश नं ३ को राजधानी बनाउन आफूहरुले संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनीहरुले आफ्नो प्रदेशका जनताको विकास तथा समृद्धिको अपेक्षालाई निराशामा नबदल्न आफूहरु लागिपर्ने बताए।

भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभाको अन्तिम परिणाम नआउँदै कांग्रेसका उम्मेदवार पूर्वसभामुख ढुंगानाले हार स्वीकार गरिसकेका थिए। वर्षौं राजनीतिक रुपमा निष्क्रिय रहेका ढुंगानाको यस निर्वाचनमार्फत कमब्याक गर्ने सम्भावना यस निर्वाचनले तुहाएको छ। अब उनी राजनीतिमै रहन्छन् या पुनः पहिलेकै अवस्थामा फर्कन्छन्, चासोको विषय बन्न पुगेको छ।

त्यस्तै निर्वाचन प्रचारप्रसारका क्रममा करिब १४ हजार मतान्तरले जित्ने दावी गरेका एमाले उम्मेदवार बस्नेतले उक्त दावीभन्दा बढी मत अन्तरले जीत हात पारेका छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो स्थानमा चित्त बुझाउनुपरेका उनले यसपटकको निर्वाचनमा भने बाजी मार्न सफल भएका छन्।

पहिलो भएको कांग्रेस दोस्रो स्थानमा धकेलिँदा दोस्रो भएको नेपाल मजदुर किसान पार्टी तेस्रो स्थानमा झरेको छ। नेमकिपाकी उम्मेदवार अनुराधा थापामगरले पाँच हजार चार सय ७१ मतमै चित्त बुझाउनुपरेको छ।
त्यस्तै विवेकशील साझा पार्टीका शशिविक्रम कार्की एक हजार सात सय ८४ मत ल्याएर चौथो भए।

कूल ८३ हजार नौसय ३५ मतदाता रहेको यस क्षेत्रमा ७६.७५ प्रतिशत अर्थात ६४ हजार चार सय १८ मत खसेको थियो। जसमध्ये एक हजार तीन सय ४४ मत बदर भएको थियो।

प्रदेश क मा वामका थापा विजयी
प्रतिनिधिसभाको अन्तिम परिणाम आउनुअघि प्रदेश क को टुंगो लागेको थियो। उक्त प्रदेशमा वाम गठबन्धनका लागि एमालेका उम्मेदवार शशिजंग थापाले कांग्रेसका अंगत ढकाललाई हराएका हुन्।

विजयी थापाले१९ हजार पाँच सय १५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका खड्काले नौ हजार एकसय १५ मतमै चित्त बुझाउनुपरेको थियो।
नेमकिपाका सरोजराज गोसाईं दुई हजार ६ सय ५४ मतसहित तेस्रो स्थानमा सीमित रहे।

कूल ४४ हजार ८९ मतदाता रहेको उक्त प्रदेशमा ७६.६९ प्रतिशत अर्थात ३३ हजार आठ सय १४ मत खसेको थियो।

प्रदेश ख मा पनि वामकै श्रेष्ठ विजयी
त्यस्तै भक्तपुर क्षेत्र नं २ को प्रदेश ख मा पनि वाम गठबन्धनको लागि एमालेका राजेन्द्रमान श्रेष्ठले बाजी मारे। उनले १४ हजार दुई सय २९ मत ल्याए।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गणेशमान चक्रधरले ११ हजार पाँच सय ३८ मतमै चित्त बुझाउनुप¥यो। त्यस्तै नेपाल मजदुर किसान पार्टीका प्रेमजन थापा श्रेष्ठले दुई हजार तीन सय ५५ मत ल्याएर तेस्रो स्थानमा रहे। विवेकशील साझाका रामभक्त बाडेले एक हजार ८८ मत ल्याउँदा संघीय समाजवादी फोरमका कृष्णबहादुर घजूले चार सय ६ र राप्रपाका रमेश राजवाहकले दुई सय पचास मत पाए।

कूल ३९ हजार आठ सय ४६ मतदाता रहेको यस प्रदेशमा ७६.८१ प्रतिशत अर्थात ३० हजार ६ सय चार मत खसेको थियो।

आइतबार नै विजय र्‍याली
भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभा तीन क्षेत्रमै वाम गठबन्धन विजयी भएपछि आइतबार नै विजय र्‍याली निकालिएको छ। मत गणनास्थल मध्यपुर थिमि नपा ९ बोडेस्थित कृषि तालिम केन्द्रबाट विजयी उम्मेदवारसहितको र्‍याली मध्यपुर नगर परिक्रमापछि लोकन्थलीमा समापन गरिएको थियो। वाम गठबन्धनले उक्त विजय र्‍याली सूर्यविनायक नगर क्षेत्रमा समेत गरिने बताएको छ।

क्षेत्र नं १ मा नेमकिपाको अग्रता
भक्तपुर क्षेत्र नं १ मा भने मत गणना धेरै सुस्त गतिमा अघि बढिरहेको छ। यहाँ प्रतिनिधिसभातर्फ नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले अग्रता लिइरहेको छ। उनलाई नेपाली कांग्रेसका बाबुराजा जोशीले पछ्याउँदा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मिलन सुवाल पछिपछि आइरहेका छन्।

उक्त क्षेत्रको आधा मत गणना हुँदा नेमकिपाका सुवाल पाँच हजार मतले अग्रता लिएका हुन्। यस क्षेत्रका दुई प्रदेशमध्ये क मा वाम गठबन्धनका लागि एमालेका हरिशरण लामिछानेले अग्रता लिइरहेका छन्। उनलाई नेपाली कांग्रेसका जीवन खत्रीले पछ्याइरहेका छन्। उनीहरुको मतान्तर करिब दुई हजार पाँच सय रहेको छ।

प्रदेश ख मा भने नेमकिपाका उम्मेदवार सुरेन्द्रराज गोसाई भारी मतान्तरले अघि बढिरहेका छन्। उनलाई वाम गठबन्धनका उम्मेदवार रोमन शिलाकारले पछ्याइरहेका छन्।

भक्तपुरमा मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले मत गणनामा रहेका दलका प्रतिनिधिहरुको कारण मतगणनामा ढिलाइ भइरहेको जानकारी दिए। छिटो मतगणना गर्ने विधि अपनाउन आफूले पटकपटक आग्रह गरिँदा पनि दलका प्रतिनिधिहरुले एकएक गरी मतपत्र हेरेर गणना गरिएकाले सुस्त भएको उनको भनाइ थियो। यहाँ प्रतिनिधिसभाको दुई र प्रदेशसभाको एकएक ठाउँमा मत गणना जारी छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.