जितको मूल्य नसोध्नुहोस् : महन्थ ठाकुर
जलेश्वर : महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर विजयी भए। ठाकुरले २६ हजार ८ सय ४५ मत ल्याएर आफ्ना प्रतिद्वन्द्वी वाम गठबन्धनको तर्फबाट उमेदवार बनेका विजय चौधरीलाई हराएका हुन्। ठाकुरले १८ हजार १ सय ६९ को फराकिलो मतान्तरणले पराजित गरेका हुन्।। उनका प्रतिस्पर्धी चौधरी ८ हजार ६ सय ७६ मतमै सीमित रहे। महोत्तरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले ठाकुरलाई साथ दिएको थियो।
ठाकुरले उम्मेदवारी दिएपछि कांग्रेसले आफ्नो पार्टीबाट उम्मेदवार बनाएका प्रतिनिधि सभाका उमेदवार बजरंग नेपालीको उम्मेदवारी फिर्ता लिएको थियो।
सर्लाही क्षेत्र नम्बर ६ बाट ०६४ र ०७० सालको संसदीय चुनावमा ठाकुर पराजित थिए। त्यसपछि सुरु भएको उनको पराजयको यात्रा भने यस पटक ब्रेक लागेको छ। १९९९ वैशाख २४ गते हालको महोत्तरी क्षेत्र नम्बर ३ पिपरा गाउँपालिका १ एकरहियामा जन्मेका ठाकुर पिता कुशेश्वर ठाकुरको जेठो सन्तान हुन्।
जनकपुर स्थित राराव क्याम्पसमा प्राध्यापन गरेका उनी र कानुनमा स्नातक हुन्। २०२६ सालामा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा सुरु गरेका थिए। लामो समयसम्म कांग्रेस पार्टीमा रहेर राजनीति गरेका ठाकुर ०६२—०६३ मधेस आन्दोलनपछि कांग्रेसको महामन्त्रीको जिम्मेवारीमा रहेको बखत पार्टी छाडेका थिए। मधेशको अधिकारको माग गर्दै उनले कांग्रेस त्यागेका थिए।
ठाकुरको परिवारमा अहिले एकमात्र छोरी छन्। श्रीमती र छोराको मृत्यपछि ठाकुर छोरीको साथमा बसेका हुन्। वभिन्न समयमा संचार, भौतिक आवास, कृषि, विज्ञान तथा प्रविधिमन्त्री समेत बनेका उनी समान हक र अधिकारको लडार्इंमा आफ्नो सम्पूर्ण जीवन बिताएका नेता हुन्।
‘मधेस र मधेसी प्रतिको हेराइमा थोरै परिवर्तन भएपनि अझै धेरै परिवर्तन ल्याउन बाँकी छ,’ अन्नपूर्णसँग ठाकुरले भने, ‘जितको मूल्य कति हुन्छ ? भनेर नसोध्नुस्। यसको कुनै मूल्य नै छैन। मिहिनत र परिश्रमपछि पाएको उपलब्धिले खुशी बनाएको छ। मलाई जिताउने मतदातालाई मनैदेखी धन्यवाद।’