साना दलको नजर 'समानुपातिक' मा

साना दलको नजर 'समानुपातिक' मा

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभामा आफूले उम्मेदवारी नदिए पनि नयाँशक्तिकी नेत्री हिसिला यमी मक्ख छिन् । गोरखा २ बाट पति बाबुराम भट्टराईले पूर्वसहकर्मी नारायणकाजी श्रेष्ठलाई ६ हजारभन्दा बढी मतले पराजित गरेपछि उनी उत्साहित बनेकी हुन् ।

नयाँशक्तिबाटै गोरखा २ (क) मा हरिशरण आचार्य र रसुवा (ख) मा प्रेम तामाङ निर्वाचित भएका छन् । यमी खुसी हुँदै भन्छिन्, ‘समानुपातिकतर्फ पनि हामीलाई राम्रै भोट आएको अनुमान छ । पाँच लाख मत आउने अपेक्षा लिएका छौं ।' प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा जितिसकेको हुँदा थ्रेसहोल्ड कटाउनका लागि समानुपातिकमा न्यूनतम मतको आसमा छिन् उनी । राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने र समानुपातिकतर्फ कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यले पनि उपस्थित हुन सक्ने संवैधानिक व्यवस्था छ । त्यो प्राप्त हुनेमा नेत्री यमी आशावादी छिन् । भट्टराई भने राष्ट्रिय पार्टीको हैसियत भइसकेको बताउँछन् । पार्टी स्थापनाको डेढ वर्षमै राष्ट्रिय पार्टी बन्न सम्भव नभए पनि प्रतिनिधित्व हुनु नै ठूलो उपलब्धि भएको नयाँशक्तिका नेताहरूको भनाइ छ ।


नयाँशक्ति, राप्रपालगायत दल राष्ट्रिय हैसियत प्राप्त गर्न समानुपातिक मतको आसमा बसेका छन् ।

मूलधारका राजनीतिक दलका शीर्ष नेताहरूको ध्यान चुनावी अंकगणितमा केन्द्रित भइरहेका बेला वैकल्पिक शक्तिका रूपमा जनतामाझ चुनावी नारा अघि सारेका अन्य पार्टीको ध्यान समानुपातिक मततर्फ रहेको छ । त्यसो त राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको एकीकरणसँगै पार्टी अध्यक्ष कमल थापाले नयाँ वैकल्पिक पार्टीको उदय भएको दाबी गरेका थिए । भरोसायोग्य वैकल्पिक पार्टीको उद्घोष गरे पनि प्रतिनिधिसभामा एक जना मात्र विजयी भए । प्रदेशसभामा जनताले पत्याएनन् । ‘सधैं सबैका लागि, अझ भावी पुस्ताका लागि' भन्ने नारासाथ चुनावमा होमिएको राप्रपाका नेताहरूको नजर पनि समानुपातिक मततर्फ छ ।

मकवानपुर क्षेत्र १ बाट प्रतिनिधिसभा चुनावमा पार्टी अध्यक्ष कमल थापाले पराजय भोगे पनि झापा ३ बाट महामन्त्री राजेन्द्र लिङ्देन विजयी भए । लिङदेनले कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई पराजित गरेपछि राष्ट्रिय पार्टी बन्ने आसमा राप्रपाका नेता छन् । उनको विजयले पार्टीलाई गौरवान्वित तुल्याएको अध्यक्ष थापाले ट्विट गरेका छन् । पार्टी उपाध्यक्ष धवलशमशेर राणा भन्छन्, ‘अब समानुपातिकतर्फ कति मत आउँछ भन्नेतिर नै ध्यान गइरहेको छ । कम्तीमा तीन प्रतिशत ल्याएर राष्ट्रिय पार्टी बन्नेतिर नै लक्ष्य छ ।'

‘यसपटक राष्ट्रिय पार्टी र अर्कोपटक देशको नेतृत्व' नारासाथ चुनावी मैदानमा उत्रिएको विवेकशील साझाबाट प्रतिनिधिसभा र प्रदेशसभामा १ सय ५७ उम्मेदवार उठे पनि कसैले जितेनन् । ०७४ साउन ११ मा पार्टी एकीकरणपछि सांगठनिक सुदृढीकरणबिना चुनावी मैदानमा उत्रिए पनि सम्मानजनक मत पाएकोमा विवेकशील साझाप्रति सामाजिक सञ्जालमार्फत सान्त्वना दिनेहरू धेरै देखिएका छन् ।

काठमाडौं क्षेत्र १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका संयोजक रवीन्द्र मि श्रले सम्मानजनक मत ल्याए । कांग्रेसका नेता प्रकाशमान सिंहसँग ८ सय १९ मतको झिनो अन्तरमा पराजित भए । मतपरिणामपछि संयोजक मि श्रले प्रेस विज्ञप्ति निकाल्दै भने, ‘समानुपातिकतर्फ सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा गरेका छौं ।'

पार्टी निर्माण प्रक्रिया सुरु भएको चार महिनामै उम्मेदवारी दिँदा पनि युवा र शिक्षित वर्गबाट पाएको मतबाट अर्का संयोजक उज्ज्वल थापा आशावादी छन् । भन्छन्, ‘भरपर्दो वैकल्पिक पार्टीका रूपमा उभ्याउन अब महाधिवेशन गर्ने र गाउँ-गाउँमा पुगेर संगठन निर्माण गर्ने योजना छ ।' उनी काठमाडौं ५ मा तेस्रो पोजिसनमा छन् । जहाँ, एमाले महासचिव ईश्वर पोखरेल विजयी भए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.