पराजयमा कमल थापाको ‘ह्याट्रिक'

पराजयमा कमल थापाको ‘ह्याट्रिक'

हेटौंडा: संक्रमणकालनी राजनीतिका चतुर खेलाडी राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले पराजयमा ‘ह्याट्रिक' गरेका छन्। उनी प्रतिनिधिसभामा मकवानपुर १ बाट चिरपरिचित प्रतिस्पर्धी एमालेका कृष्ण दाहालसँग ५ हजार ९ सय ७३ मत अन्तरले पराजित भए । दाहालले ४० हजार ६ सय ३१ मत ल्याएर जितको ‘ह्याट्रिक' गरे ।

थापाले ३४ हजार ६ सय ५८ मत प्राप्त गरे । २०४८ र २०५६ को निर्वाचनमा दाहालले थापालाई हराएका थिए भने २०५१ को निर्वाचनमा थापाले दाहाललाई हराएका थिए । दाहाललाई बधाई दिँदै थापाले आफूलाई मत दिने मतदाताप्रति आभार व्यक्त गरेका छन् । जिल्लामा प्रतिनिधिसभाको एउटा र प्रदेशसभाका चारवटै सिट छाडेर प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर १ बाट प्रतिस्पर्धामा उत्रिएका थापाको चुनावी कसरत अन्ततः वाम गठबन्धनसँग हार स्वीकार्न बाध्य भयो ।

ठूलो मत अन्तरले खतिवडाको जित
प्रतिनिधिसभामा मकवानपुर २ मा एमालेका विरोध खतिवडा १२ हजार ८६ मत अन्तरले विजयी भएका छन् । उनले ४४ हजार ७ सय ४४ मत पाए भने उनका प्रतिस्पर्धी कांग्रेसकी महालक्ष्मी (डिना) उपाध्यायले ३२ हजार ६ सय ५८ मत पाइन् ।

यसअघि २०४८,५१ र ५६ मा सांसद निर्वाचित खतिवडा प्रखर वक्ताका रुपमा चिनिन्छन् । खतिवडासँग डिनाको यो दोस्रो हार हो । जितपछि प्रतिक्रिया दिँदै उनले आफू जितेको क्षेत्रको आधारभूत आवश्यकता पूरा गर्नु आफ्नो पहिलो काम हुने बताए । ‘चुनावमा ठूला कुरा गर्ने तर जितेपछि अनुहार नदेखाउने परम्परा थियो, अबको सरकारले त्यसलाई झुटो साबित गर्नेछ ।'

महिला लडाकुको पनि ‘ह्याट्रिक'
१६ वर्षमै सशस्त्र युद्धमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छन् । माओवादी केन्द्रकी उनले मकवानपुर २ को प्रदेशसभा ‘क' मा कांग्रेसका यतिराज सापकोटालाई १३ हजार ८९ मतको फराकिलो अन्तरले हराउँदै निर्वाचित भएकी हुन् । मोक्तानले २७ हजार २ सय ४३ र सापकोटाले १४ हजार १ सय ५४ मत पाए । ‘मेरो पाँच वर्ष यसै क्षेत्रको विकास र समृद्धिमा खर्च गर्नेछु', जितपछि मोक्तानले भनिन्, ‘जनतासँग गरेका बाचा पूरा गर्नेछु ।'

मकवानपुर १ को प्रदेशसभा ‘ख' मा एमालेका डोरमणि पौडेल विजयी भए । लोकतान्त्रिक गठबन्धनका अशोक शाक्यलाई ४ हजार १ सय २२ मत अन्तरले पौडलले शाक्यलाई जिते । उनले २० हजार ७ सय ३ मत पाए भने शाक्यले १६ हजार ५ सय ८१ मत पाए । ‘मसँग हेटौंडा र जोडिएको मेरो क्षेत्रको विकासको स्पष्ट खाका छ', जितपछि उनले भने, ‘हेटौंडा अब व्यवस्थित विकासको खाकामा अघि बढ्छ ।'

छिन्तुले मारे बाजी
कडा प्रतिस्पर्धाबीच मकवानपुर २ को प्रदेशसभा ‘क' मा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी विजयी भए । उनले लोकतान्त्रिक गठबन्धनका धर्मराज लामिछानेलाई २ हजार ८ सय ५४ मतले पराजित गरे । पुलामीले २१ हजार ६ सय २९ मत र लामिछानेले १८ हजार ७ सय ७५ मत प्राप्त गरे ।
जितपछि पुलामीले आफू जनताप्रति ऋणी भएको बताए । ‘तपाईंहरूको मतको मूल्य चुकाउनेछु', उनले भने ।

बानियाँले जोगाए कांग्रेस
कांग्रेसका इन्द्र बानियाँले मकवानपुरमा कांग्रेसलाई ‘क्लिन स्विप' हुनबाट जोगाएका छन् । मकवानपुर २ को प्रदेशसभा ‘ख' मा उनले वाम गठबन्धनका राजाराम स्याङ्तानलाई १४ सय ११ मतले हराए । उनले १९ हजार २ सय ४५ मत र स्याङ्तानले १७ हजार ८ सय ३४ मत प्राप्त गरे ।

वाम गठबन्धनको बृहत र्‍याली
५ क्षेत्रमा जित हात पारेपछि वाम गठबन्धले हेटौंडामा सोमबार दिउँसो बृहत विजय र्‍याली निकालेको छ । मतगणनास्थल मकवानपुर बहुमुखी क्याम्पसबाट निस्किएको र्‍यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो । र्‍यालीपछि कोणसभामा विजयी उम्मेदवारले जनताको माझमा गरेको प्रतिबद्धता पूरा गर्ने बाचा गरे । सोमबार बिहानै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेको थियो । मंगलबार बिहान १० बजेदेखि समानुपातिकतर्फको मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.