पराजयले तनावमा पुराना कांग्रेस

पराजयले तनावमा पुराना कांग्रेस

विराटनगर: कांग्रेसका पुराना नेता विराटनगर–९ का बद्रीनारायण बस्नेत आइतबार तनावपूर्ण अवस्थामा भेटिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसको विरासत नै गुम्ने गरी भएको हारलाई लिएर उनी चिन्तित देखिन्थे । बीपी र गिरिजाप्रसाद कोइरालानिकट रही मोरङमा कांग्रेस राजनीति जमाए पनि पार्टीको साख नै गुम्ने गरी भएको पराजयको पीडाले भतभती पोलिरहेको उनको प्रस्तुतिले प्रस्ट हुन्थ्यो ।

विराटनगरकै ८४ वर्षीया शान्ता अधिकारी पनि मलिन मुद्रामा भेटिइन् । ‘बीपी र गिरिजा बाबुले पार्टीका लागि पुर्‍याएको सबै देन अहिले आएर खत्तम भयो', उनी गुनासो गर्दै थिइन्,' नेतृत्व अक्षम हुँदा कांग्रेसजनले निराशा बेहोर्नुपर्‍यो ।'

कोइराला परिवार मावली भएका कारण पनि बीपी र गिरिजासँग उनको निकटता रहनु स्वाभाविक थियो । विराटनगर जुल मिल्समा भएको मजदुर आन्दोलनदेखि राजनीति परिवर्तनका हरेक कालखण्ड र आन्दोलनमा बीपी र गिरिजासँगै उनी हुने गरेकी थिइन् । ‘कांग्रेसलाई यो स्थानमा ल्याउन अग्रजले पुर्‍याएको देन कहिल्यै भुल्न सकिँदैन', उनले भनिन्, ‘नयाँ पुस्ताले त्यसलाई चिन्न र जोगाउन नसक्दा दुःख लागेर आउँछ ।'

कांग्रेसका धेरै अग्रजले अहिलेको चुनावी परिणामले मन भतभती पोलिरहेको प्रतिक्रिया दिएका छन् । धेरैले पार्टी नेतृत्वले कार्यशैलीमा सुधार गरेर जनपक्षीय कार्यक्रम सञ्चालन गर्नुको विकल्प नभएको सुझाव पनि दिएका छन् । ‘कोइराला परिवारसँग नजिक रही कांग्रेसमा ठूलै दुःख गरेर पार्टीलाई मजबुत बनाइएको थियो । अहिले धेरै खस्किएर गएको छ', बस्नेतले भने, ‘कांग्रेसमा पहिलेभन्दा अहिले जनमत बढेको देखिन्छ । तर, विरासतको राजनीतिलाई जनताले अनुमोदन गरिदिएनन् ।' ‘पार्टीभित्र बढ्दै गएको नातावाद र कृपावाद नै पराजयको मुख्य कारण बनेको उनको ठम्याइ छ ।

डा. शेखर कोइरालाको पराजयप्रति लक्ष्य गरी उनले विरासतको राजनीतिले फाइदा पुगे पनि त्यसको पेरिफेरीमा खेल्न भने गाह्रो हुने गरेको प्रस्ट भएको बताए । पार्टीको उद्गमस्थल मोरङमा कांग्रेसले कोइराला परिवारको विरासत नै गुम्ने गरी हार भोग्नुको कारण पहिल्याउँदै उनले पार्टीमा कार्यकर्ताभन्दा नेता बढी हुनुले पनि समस्या खडा गरिदिएको अनुभव सुनाए ।

२०२९ देखि २०४५ सालसम्म कांग्रेस मोरङका सभापति भएका उनले कोइराला परिवारसँग निकट भएर जिम्मेवारी निर्वाह गरेका थिए । कांग्रेसको संगठन विस्तारका क्रममा उनको घरलाई सेल्टर नै बनाएका कारण गिरिजाप्रसादसँग झनै नजिक रहेको उनले सम्झिए । २०४२ सालमा दिएको राजीनामा गिरिजाप्रसादले पत्र पठाएपछि फिर्ता लिई फेरि कांग्रेस जमाउनतर्फ लागेको उनले सुनाए । ‘बीपी र गिरिजाप्रसादले पार्टी जन्माए मात्र हैन । पार्टीलाई मुलुककै ठूलो पनि बनाएका थिए', उनले भने, ‘अहिलेको पुस्ताले संरक्षण गर्न सकेन । त्यही भएर भताभुंग हुन पुग्यो ।'

पार्टीको अहिलेको हारको कारण पहिल्याउँदै उनले भने, ‘विरासतको राजनीति गर्नेहरूलाई जनताले के खोजिरहेका छन् र उनीहरू के चाहन्छन् भन्ने ज्ञान पनि नहुँदो रहेछ । अहिलेको हार त्यसकै उपज पनि हो ।' अहिलेको नेतृत्वले जनताको मर्म र भावनाविपरीत सत्ता, नातावाद र कृपावादलाई मात्र ध्यान दिँदा कांग्रेसले लज्जास्पद नतिजा बेहोरेको उनको ठम्याइ छ ।

‘पुराना इमेज भएका र नैतिकवान् नेतालाई पाखा लगाएर ओझेलमा पारिदिएका कारण कांग्रेस कार्यकर्ताविहीन जस्तै देखियो', पूर्वशिक्षकसमेत रहेकी अधिकारीले भनिन्, ‘कार्यकर्ता हुन कोही मान्दैनन्, नेता मात्र हुन खोज्छन् ।'

राजनीतिमा आयमूलक पक्ष हावी हुनु अनि सेवामूलक कुराको अस्तित्व नै संकटमा पर्नु हारको अर्को कारण रहेको उनको बुझाइ छ । नीति र सिद्धान्त हराउँदा कांग्रेसजनले मुलुकभरि नै पीडा सहेर बस्नुपरिरहेको अधिकारीले बताइन् । कांग्रेसप्रति जनलहर बढ्दा पनि गलत नेतृत्वका कारण पराजयको सिकार हुनुपरेको उनको भनाइ छ ।

नयाँ योजना र एजेन्डाका साथमा जनतालाई विचार बुझाउन सकेन भने पार्टीमा अझै ठूलो संकट आउन सक्ने उनले बताइन् । अहिलेका नेताले निर्वाचनमा भोगेको हारबाट पाठ सिकेर सबै कुरालाई सुधार गरेर अघि बढ्न जरुरी रहेको उनको सुझाव छ । कांग्रेसको नेतृत्व कोइराला परिवारबाट ‘हस्तान्तरण भए पनि नेतृत्वले पार्टीभन्दा समूहको मात्रै नेतृत्व गर्दा पार्टी पराजयको सिकार हुनुपरेको अधिकारीको बुझाइ छ ।

कांग्रेस नेता गुरुराज घिमिरेले कतिपय ठाउँमा उम्मेदवारी चयनमा कमजोरी हुँदा निराशाजनक नतिजा हात परेको बताए । भने, ‘वर्षौंदेखि एउटैको उम्मेदवारी छ । जनतालाई आकर्षण पैदा गर्न सक्ने एजेन्डा ती उम्मेदवारसँग छैनन् । नेतृत्वले जनतासँग जीवन्त सम्पर्क राखिदिएको भए निराशाजनक अवस्था आउने थिएन ।'

पुरानाको निरन्तरता अनि वाम गठबन्धनको भ्रामक प्रचार चिर्न नसक्नु पराजयको मुख्य कारण बनेको उनको बुझाइ छ । केन्द्रबाट तयार गरिएका मुद्दा, विगतमा गरिएका काम अनि जनजीवनमा आएका परिवर्तन एवं राजनीतिक उपलब्धिका कुरा जनतालाई बुझाउन सकेको भए यस्तो अवस्था नआउने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.