दोब्बर मतले नवलकिशोर विजयी
राजविराज: सप्तरीको प्रतिनिधिसभा १ को 'ख' बा राजपा–फोरम गठबन्धनका उम्मेदवार ७० वर्षीय नवलकिशोर साह सुडी दोब्बरभन्दा बढी मतको अन्तरले विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारभन्दा सात हजार तीन सय १४ मत बढी ल्याएका राजपाका उपाध्यक्ष सुडीले १३ हजार छ सय ४७ मत ल्याएका छन्। कांग्रेसका उम्मेदवार बद्रीनारायण महात्मानले ६ हजार तीन सय ३३ र माओवादीका सकिल अलि मियाँले ६ हजार दुई सय ५७ मत ल्याए।
हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका र कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ३, १० समाविष्ट सो क्षेत्र मधेस गठबन्धनको पकड क्षेत्रका रुपमा मानिन्छ। हनुमाननगर कंकालिनीमा सुडीकै छोरा शैलेशकुमार साह फोरमका उम्मेदवारलाई पराजित गरी प्रमुखमा निर्वाचित भएका थिए ।
तिरहुतमा भने राजपाका उम्मेदवारलाई पराजित गर्दै फोरमका हेमन्तकुमार बहडखेर अध्यक्षमा निर्वाचित भएका थिए।