‘सांसद बन्नु रहेछ र पो मेयरमा हारेछु'

‘सांसद बन्नु रहेछ र पो मेयरमा हारेछु'

राजविराज: डाकनेश्वरी नगरपालिकाको पातोका चन्द्रकान्त चौधरीलाई हिजोसम्म धेरैले चिन्दैनथे । उनै चौधरी सप्तरी क्षेत्र नम्बर ३ बाट २२ हजार पाँच सय ८४ मतका साथ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

कांग्रेस त्यागेर राजपाबाट उम्मेदवार बनेका चौधरीले कांग्रेसकै जिल्ला सभापति दिनेशकुमार यादवलाई पराजित गरेका हुन् । उनले सोही क्षेत्रबाट उम्मेदवार रहेका आफ्ना भाइ ताराकान्त चौधरीलाई पनि पराजयको स्वाद चखाएका छन् ।

त्यसो त उनी स्थानीय तहमा मेयर मात्र बन्न चाहन्थे । पञ्चायतकालमा प्रधानपञ्चको जिम्मेवारी सम्हालेको अनुभव पनि थियो उनीसँग । उनले टिकटका लागि काठमाडौंमा २२ दिन बसेर प्रयास गरे पनि सफल भएनन् । जिल्ला नेतृत्वले टिकट नदिएपछि स्वतन्त्रबाट लडेर पराजित भएका उनी अन्ततः ७० वर्षको उमेरमा प्रतिनिधिसभामा पुगेका हुन् । स्थानीय तहमा सीमित रहन चाहेका चौधरीको यो जित कथाझैं लाग्छ । अझ जसले टिकटमा अवरोध गर्‍यो उनै यादवलाई तीन हजार एक सय ८३ मतले पराजित गरेका हुन् । 'सांसद बन्ने कल्पना नै गरेको थिइनँ, सांसद बन्नु रहेछ र पो स्थानीय तहमा हारेछु', उनले भने ।

पातो हटियाका लागि प्रशस्त जमिन दिएर पुर्खाले बजार बसाएको तथा सामाजिक काममा योगदान गरेका कारण चौधरी परिवार गाउँमा सम्मानित छ । उनले गाउँको सेवाका लागि स्थानीय तहको प्रमुख बन्न चाहेका रहेछन् । तर, पार्टीले टिकट नदिएपछि विद्रोह गरी डाकनेश्वरी नगरपालिकाको प्रमुखमा लडेका उनले पराजय बेहोरे । दुई हजार मत पनि कटाउन नसकेका उनी पाँचौं स्थानमा सीमित रहे । उक्त नगरपालिकामा कांग्रेसले नारायण यादवलाई उम्मेदवार बनाएपछि कांग्रेस त्यागेर राजपाबाट उम्मेदवार बनेका शिवनारायण साह निर्वाचित भएका थिए ।

राजपा र संघीय समाजवादी फोरमको गठबन्धनले क्षेत्र नम्बर २ बाट फोरम अध्यक्ष उपेन्द्र यादव र प्रदेशसभा (२) मा राजपा महासचिव मनीष सुमनलाई उठाउने भएपछि राजपामा असन्तुष्टि देखाप¥यो । सदरमुकाम राजविराज रहेको क्षेत्र नम्बर २ मा लड्न धेरै जना इच्छुक देखिए । राजपाको भागमा परेको क्षेत्र नम्बर ३ मा चुनाव लड्न अन्तिम समयसम्म उपयुक्त उम्मेदवारको खोजी हुन थाल्यो ।

राजनीतिमा सक्रिय नरहेका डा. पशुपति चौधरी र कांग्रेस त्यागेर राजपा प्रवेश गरेका सुरेन्द्र यादवको चर्चा चल्यो । ‘चारवटै क्षेत्रमा यादवलाई उम्मेदवारी दिए नराम्रो सन्देश जाने भयले सुरेन्द्रको नाम काटियो', राजपाका नेता शम्भु यादव भन्छन्, ‘उता चौधरीलाई चुनाव लडिदिन आग्रह गरे पनि मानेनन् ।'

उम्मेदवारीका लागि उपयुक्त व्यक्तिको खोजी भइरहेका बेला राजपा नेतृत्वले चौधरीलाई प्रस्ताव गरेको थियो । प्रदेशसभा सदस्य उम्मेदवार बन्ने तयारीकै क्रममा चौधरी प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न मनोनयनका दिन मात्र तयार भएका थिए ।

चारमध्ये तीनमा फोरम–राजपा विजयीसंघीय समाजवादी फोरम–राजपा गठबन्धनले प्रतिनिधिसभा सदस्यतर्फ तीन क्षेत्रमा जित हासिल गरेको छ । क्षेत्र नम्बर १ मा फोरमका डा. सूर्यनारायण यादव, २ मा फोरमकै अध्यक्ष उपेन्द्र यादव र ३ मा राजपाका चन्द्रकान्त चौधरी निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर २ मा यादवले २१ हजार ६ सय २० मत ल्याएर माओवादी केन्द्रका पोलिटब्युरो सदस्य उमेश यादवलाई १० हजारभन्दा बढी मतान्तरले हराएका हुन् । अध्यक्ष यादवलाई कांग्रेस र नयाँ शक्तिको समर्थन थियो ।

क्षेत्र नम्बर १ मा डा. यादवले माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अशोककुमार मण्डललाई तीन हजार चार सय ८७ मतान्तरले पराजित गरेका छन् । मतगणना जारी रहेको क्षेत्र नम्बर ४ मा कांग्रेसका तेजुलाल चौधरी विजयनजिक छन् । चौधरीभन्दा सात हजार मत कम रहेको राजपाका उपाध्यक्ष मृगेन्द्रसिंह यादव र एमालेका मो. इस्लाम दोस्रो स्थानका लागि प्रतिस्पर्धामा छन् ।

आठ प्रदेशसभा सदस्यमा फोरम र राजपाले दुई÷दुई, एमाले र कांग्रेस एक÷एक क्षेत्र जितेका छन् । प्रदेशसभा १ (१) र १ (२) मा मतगणना जारी छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.