पहाडीले जित्दा उर्लिए मधेसी मतदाता

पहाडीले जित्दा उर्लिए मधेसी मतदाता

सिरहा: क्षेत्र नम्बरको ३ को परिणाम औपचारिक रूपमा घोषणा नहुँदै वाम गठबन्धनका उम्मेदवार लीलानाथ श्रेष्ठलाई अविर, माला लगाउनेको घुइँचो लाग्यो । मतगणनास्थल वरिपरि एकछिनमै भीड लाग्यो । हजारौं जनता सडकमा उर्लिए ।

यो मधेसी मतदाता बाहुल्य क्षेत्र हो । तर, पहाडी समुदायका उनी निर्वाचित भएपछि मधेसी जनताले खुसी मनाएका छन् । सिरहा सदरमुकाममा पाँच हजारभन्दा बढीको सहभागितामा विजयी जुलुस निस्केको जनाइएको छ ।

एमाले केन्द्रीय सदस्य श्रेष्ठ २३ हजार दुई सय ७० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका असेश्वर यादवले २१ हजार दुई सय १७ मत प्राप्त गरेका छन् । श्रेष्ठले निर्वाचित भएको घोषणालगत्तै एमालेका पूर्वसांसद हेमनारायण यादवको सालिकमा गएर माल्यार्पण गरेका थिए । उनले सञ्चारकर्मीसँग भने, ‘माछा जसरी पानीबिना बाँच्न सक्दैन । त्यसरी नै म जनताबिना बाँच्न सक्दिनँ ।' उनले जनताका हरेक चाहना पूरा हुने गरी काम गर्ने बताए ।

उनले खेत–खेतमा सिँचाइ पुर्‍याउने काम पहिलो प्राथमिकतामा राखेको बताए । भने, ‘सिँचाइ अभावमा उब्जनी हुँदैन, जसका कारण किसान ठूलो मारमा परेका छन् । त्यसैले किसानको समस्या समाधान गर्ने काम पहिलो प्राथमिकतामा राखेका छौं ।' त्यसपछि रोजगारीका लागि खाडी मुलुक पुग्ने बाध्यता अन्त्य हुने उनको भनाइ थियो । उनले जिल्लामा पछाडि परेको शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सुधार ल्याउने बताए ।

उनी दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ५ बाट लडेका थिए । तर, थोरै मतले उनले पराजय बेहोर्नुपरेको थियो, जसका कारण उनी एकाएक चर्चामा आएका थिए । यसपटक उनले माओवादी केन्द्रको पनि मत पाएका छन् । भने, ‘म सिरहाको उपसभापति हुँदा विकास निर्माणका धेरै काम गरेको छु । त्यही कारण जनता मलाई माया गर्छन् । त्यसैले यो निर्वाचनमा मलाई सबै पार्टीका मतदाताले मत दिएका छन् ।' उनले कहिल्यै यो वा त्यो पार्टी भनेर नछुट्याएको दाबी गर्दै अबका दिनमा झन् जनतासँगको सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धता जनाए ।

प्रतिनिधिसभातर्फ ४ निर्वाचन क्षेत्र रहेको रहेको सिरहामा बाँकी तीन क्षेत्रको मतगणना जारी छ । क्षेत्र नम्बर १ मा कांग्रेस नेता प्रदीप गिरी, २ मा वाम गठबन्धनका सुरेशचन्द्रदास यादव र ४ मा राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले अग्रता लिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.