सर्लाही १ बाट राजपाका प्रमोद साह विजयी
मलंगवाः सर्लाही क्षेत्र नं. १ को प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी नेपालका प्रमोद साह विजयी भएका छन्। साह २२ हजार ३६ मत ल्याएर विजयी बनेका छन्। साहले वामगठबन्धनका ध्रुबप्रसाद गौतमलाई ५ सय ७१ मतले पछि पार्दै विजयी बनेका हुन्। गौतमले २१ हजार ४ सय ६५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले २० हजार ७५ मत ल्याएका छन् ।
साहले क्षेत्र नं. २ बाट चुनाव लड्न खोज्दा पार्टीले राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्र यादवलाई टिकट दिएपछि उनी क्षेत्र नं. १ मा गएका हुन् । साहलाई क्षेत्र नं. १ मा पर्यटक उम्मेदवारको रुपमा प्रचार गरिएको थियो ।
विधार्थी जीवनबाट राजनीति सुरु गरेका ३९ वर्षीय साह २०५५ सालमा रा.रा.ब जनकपुरबाट स्वतन्त्र विधार्थी युनियनको उप सभापतिमा विजयी बनेका थिए। २०५७ मा नेपाल विधार्थी मंचको महासचिव बनेका साह २०५७ सालमा रा.रा. ब क्याम्पसको सभापतिमा निर्वाचित भए।
२०५८ सालमा विद्यार्थी मंचको केन्द्रीय अध्यक्ष, २०६२ सालमा सद्भावना सर्लाहीको जिल्ला सचिव र २०६८ सालमा सद्भावना पार्टीको सर्लाही अध्यक्ष भई काम गरेका थिए । २०७० सालको दोश्रो संविधानसभामा क्षेत्र नं. ५ बाट सद्भावना पार्टीबाट चुनाव लडेका साह तराई मधेश लोकतान्त्रि पार्टीका जंगीलाल रायसंग पराजित भएका थिए ।