विजयपछि ओली र मधेसवादी

विजयपछि  ओली र मधेसवादी

 काठमाडौं : नयाँ संसदमा एमाले अध्यक्ष केपी ओलीसँग राजपा अध्यक्षहरु महन्थ ठाकुर र राजेन्द्र महतोको भेट भयो भने कस्तो भाव उत्पन्न होला ! मेचीदेखि महाकालीसम्म वाम लहरको नेतृत्व गरिरहेका ओलीले प्रदेश २ का आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये केवल सिरहा ३ मा एक सिट जिताएर चित्त बुझाए। अनि ओलीलाई दुई वर्षअघिको मधेस आन्दोलन अवधिभरि मधेसको ‘प्रधान शत्रु' चित्रित गरेका संघीय फोरम र राजपाले अन्य प्रदेशमा छिटफुटबाहेक कुनै उल्लेख्य छाप छाड्न सकेनन्। ओली र मधेसवादी महतो-ठाकुर त्यस्ता नेताहरु जुन्, जसले एक अर्काको विरोधलाई कायम राखेरै यसपल्ट जनमत सोहोरेका छन्।

मधेस आन्दोलन, अनि त्यससँगै मिसिएर आएको भारतीय नाकाबन्दीको प्रखर प्रतिवादका कारण राष्ट्रिय राजनीतिमा ओलीको भिन्नै छवि निर्माण हुन गयो, अनि मधेसी नेताहरुले सिंगो आन्दोलनका खलनायकका रुपमा ओलीलाई चित्रित गरेका थिए। ओलीलाई प्रदेश २ छिर्न नदिने उनीहरुको ईख २०७३ फागुन २३ को सप्तरी काण्डको उत्कर्षसम्म पुग्यो, जहाँ ४ को ज्यानसमेत गयो।

प्रदेश २ को प्रतिकूलता बुझेर ओली यसपल्ट सिमरामा एकपल्ट जानेबाहेक अन्यत्र कहीँ पनि प्रचार गर्न गएनन्, जब कि अन्य प्रदेशमा भने उनको दौड कुनै पनि चुनाव अभियन्ताभन्दा बढ्ता तगडा थियो। मधेसवादी घटकले बहुराष्ट्रियताको नारा दिएर यो चुनावमा भोट माग्दैगर्दा ओली सबैतिरका आमसभाहरुमा उक्त मागको कडा प्रतिवाद गर्दैरहे। मधेसवादीका मागमा ओली टसमस छैनन् भन्ने यस्ता थुप्रै दृष्टान्तका आधारमा प्रष्ट बुझ्न सकिन्छ।

देशभरि वाम वर्चस्व सिर्जना हुँदैगर्दा ओलीका कटु आलोचकहरु प्रदेश २ बाट उल्लेख्य भोटका साथ जितेका छन्। यसरी जित्नेमा संघीय फोरम अध्यक्ष उपेन्द्र यादवसहित राजपा अध्यक्षमण्डलका नेताहरु ठाकुर, महतोसहित शरतसिंह भण्डारी, राजकिशोर यादव, अनीलकुमार झालगायत छन्। बरु ओलीकै अघिल्लो मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री बन्न गएका विजयकुमार गच्छदार, जो भर्खरै लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएका थिए, उनीलार्इ आफ्नो क्षेत्रमा विजयका लागि निकै चुनौती छ ।

संविधान संशोधन हाम्रो माग हो, हामी छाड्दैनौं । एमालेमाओवादीले पनि ताजा जनादेशको सम्मानका लागि अहिलेको अडान त्याग्छन्। उपेन्द्र यादव, अध्यक्ष, संघीय समाजवादी फोरम

राजपा र फोरमको माग सम्बोधन गर्न भनेर संविधान संशोधन प्रयास गर्ने कांग्रेस आफ्ना मधेसी आधारक्षेत्रहरुमा एकपछि अर्को हार्दैगर्दा दुई विपरीत अडान राख्ने दलहरुले आफूलाई स्थापित गर्न सफल भएका हुन्। संशोधन माग्ने अर्को दल माओवादी केन्द्र भने यसबीचमा वाम गठबन्धन बनाएर एमालेसँग मिल्न गयो। हाल माओवादीले संशोधनको नारा घुमाउरो ढंगले बिसाएको छ। रोचक त के छ भने संविधान संशोधनलाई राष्ट्रघाती भन्दै आएका ओलीसँग मधेसवादी दलको अपेक्षा अहिले पनि उही छ, संविधान संशोधनको।

‘संविधान निर्माणदेखि आजसम्म एमाले र हाम्रो बीचमा के भयो, के भएन छाडौं,' कांग्रेस नेता विमलेन्द्र निधिलाई गृहजिल्लामै हराएपछि प्रफुल्ल राजपा अध्यक्ष महतोले ठोकुवा गरे, ‘अब एमालेको प्रयासमै संविधान संशोधन हुनेछ।' महतो तिनै हुन्, जो ओलीसँग संविधान जारी हुनुभन्दा ठिक अघि बालुवाटारमा चर्काचर्की गर्दै उनीसँग वार्तामै नबस्ने अड्डी लिएका थिए। उनले ओलीले आफूलाई ‘बिहार युपी जाऊ' भनी थर्काएको आरोप लगाएका थिए। तर यसपल्ट भने निधिलाई हराउन महतोले ओलीसँग साउती मारेको चर्चासमेत उच्च तहहरुमा खुबै चल्यो।

संविधान निर्माणदेखि आजसम्म एमाले र हाम्रो बीचमा के भयो, के भएन छाडौं । अब एमालेकै प्रयासमा संविधान संशोधन हुने छ । राजेन्द्र महतो, अध्यक्ष, राजपा

राजपाकै अर्का अध्यक्ष अनिलकुमार झाले अब संविधान संशोधनका लागि एमाले तगारा नबन्ने विश्वास व्यक्त गरे। मधेस मुद्दाको संवोधन, मधेस आन्दोनलका एजेण्डाको कार्यान्वयन र राजपाका अन्य मागहरु पूरा गराउन आफु र आफनो पार्टीलाई मधेसी जनताको जनमत आएको उनले बताए। उनले थपे, ‘संसदमा कस्को कति मत आउछभन्दा पनि नेपाल राष्ट्र र यसका जनताको भावनाको प्रतिनिधित्व हुन्छ, हुँदैन भन्ने कुरा ठूलो हो।'

संशोधनबारे ‘विशेष निर्णय'

१६५ सिटको प्रतिनिधिसभामा दुई तिहाई एक सय दसको हाराहारिमा विजय उन्मुख हुन लागेको वामपंथी गठबन्धनका शीर्ष नेता केपी ओली, पुष्पकमल दाहाल र मधेसवादी दलहरुबीच निर्वाचनको अन्तिम परिणाम पश्चात मुलुकका केही राष्ट्रिय एजेण्डामध्ये संविधान संशोधन विशेष निर्णय हुने दाबी गरिएको छ।

दोस्रो संविधानसभाले संविधान अन्तिम रुपदिने प्रक्रियादेखि संविधान जारी हुँदासम्म संसदमा मधेस र मधेसीको माग समेट्नु पर्नेभन्दै मधेसवादी नेताहरु आन्दोलित रहे। २०७२ असोज ३ गते संविधान जारी भएपछि त्यसको विरोध गर्दै मधेसी दलहरुले १३ महिना आन्दोलन र साढे चार महिने नाकाबन्दी गरेका थिए। सो आन्दोलनमा करिब ६ दर्जनभन्दा बढी मधेसीहरुको ज्यान गएको थियो भने सयौं घाईते भए। मधेसवादी दलहरुले तत्कालिन पुष्पकमल दाहाल र वर्तमान शेरबहादुर देउवाको सरकारसंग तीन बुँदे सहमति गर्दै ती सरकारलाई समर्थन गरेका थिए।

मधेसवादीहरुलाई आफनो पक्षमा ल्याउन तत्कालिन गठबन्धनले गत भदौं ५ गते संविधान संशोधन विधेयक संसदमा प्रस्तुत गर्यो। सो विधेयक पारित हुन दुई तिहाईका लागि ४८ मत कम भएको थियो। विधेय फेल भएपछि राजपाले चुनावी मुद्दा बनाउदै मधेसमा गयो।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाई ल्याउने वामपंथी गठबन्धले मधेस र मधेसीको मागका रुपमा रहेको संविधान संशोधनमा तजा नजादेश अनुसार आगामी दिनमा आउने बताए। उनले भने,‘संविधान संशोधन हाम्रो माग हो, हामी छोड्दैनौ। एमाले र माओवादी केन्द्रले पनि अहिलेको तजा जानदेशको सम्मानका लागि पहिलेको अडान त्याग्छन्। '

एमाले संविधान स.शोधनका लागि लचिलो हुनेमा कतिको विश्वस्त हुनुहुन्छ त भन्ने जिज्ञासामा यादवले भने, ‘यो संसारनै विश्वासमा टिकेको छ, मैले उहाँहरुलाई कसरी अविश्वास गर्नु ?'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.