समानुपातिकमा पनि एमाले पहिलो
ताप्लेजुङ : ताप्लेजुङमा समानुपातिकतर्फको पनि मतगणना सम्पन्न भएको छ । सोमबार सकिएको मतगणनामा २० हजार ७ सय ४० मत प्राप्त गरी समानुपातिकतर्फ पनि एमाले पहिलो दल बनेको छ । एमालेले कांग्रेस भन्दा ५ हजार ९ सय ४१ मत बढी ल्याएको हो । कांग्रेसले १४ हजार ७ सय ९९ मत पाएको छ । माओवादी केन्द्रले ६ हजार ३ सय ४१ मत प्राप्त गरेको छ ।
लिम्बुवान राज्य हुनुपर्ने माग राख्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च चौथो पार्टी भएको छ । उसले २ हजार ९ मत पाएको छ । प्रतिनिधिसभातर्फ खसेको कुल ५१ हजार ७ सय ४८ मतमध्ये ४ हजार ६ सय ९२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेशसभा ‘क’ मा एमालेले १० हजार ८ सय ११, कांग्रेसले ७ हजार ४ सय ५८ र नेकपा माओवादी केन्द्रले ३ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रमा २८ हजार ९ सय ६६ मत खसेको थियो भने ३ हजार ५ सय २१ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले बताए । उता प्रदेशसभा ‘ख’ मा पनि पहिलो बनेको एमालेले ८ हजार ३ सय ८ कांग्रेस ६ हजार १ सय ५५ र माओवादीले २ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् ।
उक्त क्षेत्रमा २२ हजार ७ सय ८२ मत झरेकोमा ३ हजार ६ सय ३ मत बदर भएको कार्यालयले जनाएको छ । योसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै प्रक्रिया सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।