जाँदाजाँदै धमाधम नियुक्ति : कामचलाउ सरकारका निर्णय उल्ट्याउँछौं - एमाले

जाँदाजाँदै धमाधम नियुक्ति :  कामचलाउ सरकारका निर्णय उल्ट्याउँछौं - एमाले

काठमाडौं : कामचलाउ हैसियतमा पुगिसकेको सरकारले जाँदाजाँदै आफूनिकट कार्यकर्तालाई विभिन्न ठाउँमा नियुक्त गर्न थालेको छ । सरकारले सोमबार मात्रै गोरखापत्र संस्थानको महाप्रबन्धकमा वसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरेको छ भने चलचित्र विकास बोर्डको अध्यक्षमा नेकिता पौडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले उनीहरू दुवैजनालाई राजनीतिक नियुक्ति दिएको हो । अन्य केही स्थानमा राजनीतिक नियुक्तिको निर्णय गरिए पनि प्रक्रिया नपुगेपछि सरकारले त्यसलाई गोप्य राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार मुख्यसचिव लोकदर्शन रेग्मीले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा अन्य दर्जनौं राजनीतिक नियुक्तिको प्रस्ताव तयार पारिरहेका छन् । मुख्यसचिव रेग्मीले विभिन्न मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर विभिन्न सार्वजनिक संस्थान, विकास समिति र अन्य निकायमा रिक्त पदमा पदपूर्तिका लागि प्रस्ताव लिएर आउन तीव्र दबाब दिन थालेका छन् ।

‘मुख्यसचिवले अधिकांश सचिवलाई बोलाउँदै छिटोभन्दा छिटो नियुक्तिको प्रस्ताव लिएर आउन दबाब दिइरहेका छन्’, प्रधानमन्त्री कार्यालयकै एक अधिकारीले अन्नपूर्णस“ग भने । तर, केही सचिवले भने नयाँ सरकार गठन हुन लाग्दा राजनीतिक नियुक्ति गर्दा विवाद उत्पन्न हुने सुझाव मुख्यसचिवलाई दिएको बताइन्छ । स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट दर्जनौं राजनीतिक नियुक्तिको निर्णय गराउने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृहकार्य गरिरहेको छ ।

उल्टाइदिने एमालेको चेतावनी

हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको एमालेले कामचलाउ सरकारले विभिन्न राजनीतिक नियुक्ति, प्रदेश प्रमुख चयन र त्यससँग सम्बन्धित विभिन्न निर्णय गर्न थालेको भन्दै आपत्ति जनाएको छ । एमालेले कामचलाउ सरकारले गरेका त्यस्ता निर्णय दुराशययुक्त र जनादेशविपरीत हुने भन्दै अब बन्ने सरकारले ती निर्णय उल्टाइदिने चेतावनीसमेत दिएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएलगत्तै काम चलाउन हैसियतमा पुगेको सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्ति गर्न लागेको विषयप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाउँदै यस्ता जुनसुकै निर्णयलाई पनि अब बन्ने सरकारले निरन्तरता नदिने स्पष्ट पारेको हो ।

एमालेले कामचलाउ सरकारद्वारा हुने त्यस्ता गलत निर्णय र कार्यमा संलग्न नहुन स्थायी सरकार मानिने निजामती कर्मचारीका जिम्मेवार पदाधिकारीलाई समेत सचेत गराएको छ । ‘नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाइ बहुमतको समर्थन प्रदान गरी निर्वाचित गरेको सन्दर्भमा हालको सरकारद्वारा गरिने जुनसुकै निर्णयको निरन्तरलाई नयाँ सरकारले किमार्थ साथ नदिनेसमेत सबैमा स्पष्ट गर्दछौं’, एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.