मतदाता शिक्षाको धज्जी उडाउँदै बदर मत

मतदाता शिक्षाको धज्जी उडाउँदै बदर मत

विदुर: प्रतिनिधिसभा र प्रदेशसभामा बदर मत संख्याले नुवाकोट र रसुवामा सञ्चालित मतदाता शिक्षा कार्यक्रमको धज्जी उडाएको छ । बदर मत न्यून गर्न स्थानीयवासीलाई नै मतदाता शिक्षा स्वयंसेवकका रुपमा परिचालन गरिए पनि अत्यधिक बदर मतले मतदाता शिक्षाको प्रभावकारीता शून्यप्रायः भएको छ।

दुवै जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नहुँदा नुवाकोट र रसुवामा धेरै मत बदर भएको सरोकारवालाले खुलासा गरेका छन् । प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार सिट रहेको नुवाकोटमा २ लाख ८ हजार १ सय ९१ मतदातामध्ये १ लाख ३९ हजार ७ सय ६१ मत खसेको थियो । प्रतिनिधिसभाका लागि नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा ८ हजार ४ सय ४० मत बदर भए।

नुवाकोट १ मा कुल १ लाख ५ हजार २ सय ८७ मतदाता रहेकोमा ६९ हजार ८ सय ६४ मत खसेकोमा ५ दशमलव २५ प्रतिशत अर्थात ३ हजार ६ सय ७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी कृष्ण रिजालले बताए । नुवाकोट २ मा ६९ हजार ८ सय २७ मत खसेकोमा ६ दशमलव ८३ प्रतिशत अर्थात ४ हजार ७ सय ७० मत बदर भएको छ । समग्रमा नुवाकोटमा कुल खसेको मतको ६ प्रतिशत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटले जनाएको छ।

नुवाकोट १ को प्रदेशसभा ‘क' मा ५२ हजार १ मतदाता रहेकोमा ३३ हजार ९ सय ४२ मत खसेको थियो । खसेको मतमध्ये १ हजार ३ सय ४० मत बदर भएको रिजालले बताए । प्रदेशसभा ‘ख' मा ५३ हजार २ सय ८६ मतदाता रहेकोमा ३५ हजार ७ सय २६ मत खसेको थियो । त्यसमध्ये १ हजार ६ सय २७ मत बदर भएको उनले बताए । नुवाकोट २ को प्रदेशसभा ‘क' मा ३५ हजार ४ सय ७९ मत खसेकोमा १ हजार ४ सय ७८ मत र प्रदेशसभा ‘ख' मा ३४ हजार ३ सय मत खसेकोमा १ हजार ७८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी यज्ञ पुरीले जानकारी दिए ।

नुवाकोटको छिमेकी रसुवामा ३२ हजार ३ सय २२ मतदाता रहेकोमा २६ हजार ९८ मत खसेकोमा १ हजार १ सय ४५ मत बदर भएको रसुवा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रसुवामा कुल खसेको मतको ४ दशमलव ३८ प्रतिशत मत बदर भएको हो ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा धेरै मत बदर भएको राजनीतिक दलका प्रतिनिधिले बताएका छन् । बदर भएको मतले मतदाता शिक्षा कार्यक्रमको धज्जी उडाएको उनीहरू बताउँछन् । रसुवामासमेत सोही अनुपातमा मत बदर भएको छ ।

मतदाता शिक्षाका लागि निर्वाचन आयोगले खटाएका प्रतिनिधिले सही तरिकाले मतदान गर्न जानकारी गराउन नसक्दा बदर मत बढेको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले स्विकारे । मतदाता शिक्षा स्वंसेवक घरघरमै पुगेर शिक्षा प्रदान गर्नुपर्नेमा अधिकांश गाउँ, वडा र घरघरमा नपुगेको गुनासो आएको उनले बताए । मतदाताको घरदैलोमा पुगेर शिक्षा दिनुपर्ने स्वयंसेवकले पोस्टर टाँस्ने काम मात्रै गरेको मतदाताको गुनासो छ ।

धेरैले मतदान गर्ने तरिका र बदर हुने अवस्था जानकारी नभएको विदुर नगरपालिका–२ का बालमुकुन्द नेपालले बताए । एउटै मतपत्रमा धेरै स्वस्तिक छाप लगाइनुका साथै ल्याप्चे लगाएका मतपत्र धेरै पाइएको गणक कमलराज गैरेले बताए । गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा पनि धेरै मत बदर भएको थियो । निर्वाचनमा खसेको १ लाख ३९ हजार ५ सय ९२ मतमध्ये ३ हजार ३ सय ७५ अर्थात् २ दशमलव ४१ प्रतिशत मत बदर भएको थियो । २५ हजार ८ सय ४७ मत खसेको विदुर नगरपालिकामा नै ३ सय ९० मत बदर भएको थियो ।

नुवाकोटमा धेरै चिह्नमा मतदान, उम्मेदवारको धेरै लाइनमा मतदान, खाली मत, ल्याप्चे लगाइएका, घेराभन्दा बाहिर मतदान गरिएका जस्ता कारणले धेरै मत बदर भएको हो । विगतभन्दा ल्याप्चे मतको संख्या भने घटेको छ ।

स्थानीय तहको निर्वाचनमा रसुवामा खसेको २२ हजार ४ सय ८९ मतमध्ये १३ दशमलव ५० प्रतिशत मत बदर भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.