प्रतिपक्षलाई सम्मानपूर्ण व्यवहारः ओली

प्रतिपक्षलाई सम्मानपूर्ण व्यवहारः ओली

भद्रपुरः एमाले अध्यक्ष एवं झापा क्षेत्र नम्बर ५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीले अब बन्ने सरकारले विकास र समृद्धिका लागि वैज्ञानिक प्रविधिको उच्चतम प्रयोग गर्ने बताएका छन् ।

भद्रपुरको मेची रंगशालामा सोमबार आयोजित विजयसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अबको बाटो आर्थिक समृद्धिको हुने बताए । उनले आफू र आफ्नो गठबन्धन लोकतन्त्रप्रति सधैं प्रतिबद्ध रहने स्पष्ट पार्दै नयाँ सरकारले जनताले खोजेको शान्ति-सुरक्षा यथोचित ढंगले गर्ने बताए । भने, ‘हामीसँग देशलाई कसरी अगाडि बढाउने भन्ने यथोचित एजेन्डा छ । अब देशमा विकासको लहर आउनेछ ।'

उनले यो निर्वाचनले जनताको काम गर्ने प्रतिनिधिलाई मात्र पत्याएको उल्लेख गर्दै शासन सञ्चालनमा जनताको सहभागिता रहने विश्वास दिलाए । प्रशस्त उद्योग सञ्चालन गरी वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई न्यूनीकरण गर्ने उनको भनाइ थियो । भने, ‘केही समयमा म्यानपावर कम्पनीमा विदेश जाने कोही पनि मान्छे हुँदैनन् ।'

उनले मुलुकलाई विकास र एकताको बाटोमा लैजान स मिलेर जानुको विकल्प नरहेको बताए । भने, ‘हामीले स्वाभाविक विजय हासिल गरेका छौं । जनताले हाम्रो एजेन्डालाई अनुमोदन गरिदिएका छन् । अब हामी प्रतिपक्षलाई सम्मानपूर्ण व्यवहार गर्दै जनताले धेरै वर्षदेखि अपेक्षा गरेको देश विकासको बाटोमा अघि बढ्छौं ।'

उनले एकार्कालाई आरोप र खण्डन गर्ने दिन सकिएको उल्लेख गर्दै अब देशमा स्थिरता कायम हुनेमा विश्वस्त हुन आग्रह गरेका थिए । भने, ‘अब हामी राजनीति होइन, विकासका कुरामा अघि बढ्छौं ।' उनले जितेर गएका नेताले जनताको हित प्रतिकूल काम गरे आफूलाई रिर्पोट गर्न अनुरोधसमेत गरेका थिए ।

तीन घन्टा नाचिन् ८७ वर्षीया
दमक: ओलीको गृहनगर दमकमा आयोजित विजयसभामा युवायुवतीदेखि वृद्धवृद्धासम्म नाचगानमा झुम्मिएका थिए । ओली झापाका अन्य विजयसभामा सरिक हुँदा आफ्नै क्षेत्रमा भने ढिलो गरी आइपुगेका थिए । विजयसभामा दमक-५ की ८७ वर्षीया फुयाँल लगातार तीन घन्टा नाचेकी थिइन् । उनले नाच्न नरोक्न आग्रह गर्दै भनिन्, ‘म ८० र ७ वर्ष पूरा भएँ तर अझै नि दह्रो छु । हाम्रा ओलीले भत्ता बढाउँछौं भनेका छन् त्यही भएर खुसीले नाचेकी हुँ ।'

दमक-७ की ८१ वर्षीया योगमाया कटुवालले पनि हर्षले नाचेको बताइन् । दिउँसो ३ बजे आउने भनिए पनि ओली लगभग तीन घन्टापछि मात्र सभामा आइपुगेका थिए । उनले जनताले दिएको सर्वाधिक मतको भरपुर सदुपयोग गर्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.