किरण र पृथ्वीसुब्बाले थाले मुख्यमन्त्रीको कसरत
दमौली: प्रदेश ४ मा वाम गठबन्धनले नै प्रादेशिक सरकार हाँक्ने देखिएको छ। गठबन्धनको मुख्य दल एमालेले प्रदेशमा बर्चश्व कायम गरेसँगै दुई चर्चित नेताले मुख्यमन्त्रीको दौड सुरु गरेका छन्।
लमजुङ प्रदेश ‘ख' बाट निर्वाचित एमाले सचिव पृथ्वीसुब्बा गुरुङले आफू प्रदेश ४ हाँक्ने लक्ष्यका साथ प्रादेशिक चुनाव लड्न लमजुङ आएको बयान दिएकै भोलिपल्ट पार्टीका अर्का प्रभावशाली नेता एवं प्रदेश इन्चार्ज किरण गुरुङले दमौलीमा पत्रकार सम्मेलन गरेर आफू मुख्यमन्त्रीका लागि स्वाभाविक दाबेदार भएको भन्दै विकासका योजना सुनाए। यसले चुनाव अघिदेखि नै यी दुई नेताबीच देखिएको संघर्ष सतहमा ल्याएको छ।
प्रत्यक्षमा ३६ र समानुपातिकबाट २४ गरी ६० सिट हुने प्रदेश ४ मा पछिल्लो समय आएको नतिजाले वाम गठबन्धनले अत्यधिक बहुमत ल्याउने निश्चित देखिएको छ। स्याङ्जामा मात्र मतगणना बाँकी भए पनि त्यहाँसमेत वामकै उम्मेदवारको अग्रता छ । घोषित परिणाममा अहिलेसम्म कांग्रेसका केवल ५ जना उम्मेदवारले जितेका छन् । समानुपातिकका २४ मध्ये आधै सिट कांग्रेसले जिते पनि उसको बहुमत पुग्दैन । प्रत्यक्षतर्फ एमालेका १५, माओवादीका ८ र जनमोर्चाका २ जनाले जितेका छन् । मनाङमा स्वतन्त्र जितेका राजिव गुरुङ पनि एमालेसमर्थित हुन् ।
प्रदेश इन्चार्ज भएका हिसाबले आफू प्रदेश मुख्यमन्त्रीको स्वाभाविक दाबेदार भएको र आफू नै पार्टीका तर्फबाट मुख्यमन्त्री बन्ने किरणले दाबी गरे । त्यसो त एमाले स्थायी कमिटी सदस्य उनी पार्टीको वरीयतामा पृथ्वीसुब्बाभन्दा माथि छन् । तनहुँ २ ‘ख' बाट निर्वाचित भएलगत्तै अन्नपूर्णसँगको कुराकानीमा गुरुङले भने, ‘म प्रदेशसभा सदस्य निर्वाचित भएको छु । अब पार्टीमा मुख्यमन्त्रीका लागि प्रक्रियामा अघि बढ्छु ।' उनले पार्टी प्रदेश कमिटीको इन्चार्ज नै प्रदेशको संसदीय दलको नेता हुने र त्यसैका आधारमा मुख्यमन्त्रीको उम्मेदवार रहने तर्क गरे ।
किरणले निर्वाचनक्रममा समेत आफूलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्तुत गर्दै मतदाताको मत तानेका थिए । उनको चुनावी एजेन्डामा प्रदेश ४ लाई आर्थिक र विकासका दृष्टिले समृद्ध बनाउने उल्लेख थियो । किरणले आफू नै मुख्यमन्त्री हुनेमा निकै आशावादी देखिएको बताए ।
पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ पनि आफू मुख्यमन्त्रीको उम्मेदवार बन्नेमा कुनै शंका नरहेको बताउँछन् । चुनावक्रममा जिल्लावासीसँग मत माग्दा उनले पनि मुख्यमन्त्री बनेर प्रदेशकै नेतृत्व गर्ने योजनालाई प्राथमिकता दिएका थिए । लमजुङको एक गाउँमा बधाई थाप्न व्यस्त उनले अन्नपूर्णसँगको कुराकानीमा आफूलाई प्रदेशअन्तर्गतका सबै जिल्लाका इन्चार्ज तथा अध्यक्षको समर्थन रहेको दाबी गरे ।
‘मलाई सबै साथीहरूको समर्थन छ,' उनले भने, ‘पार्टीबाट म नै मुख्यमन्त्रीको उम्मेदवार बन्छु भन्ने विश्वास छ ।' उनले आफू केन्द्रीय राजनीति त्यागेर प्रदेशमा आउनुको कारण पनि मुख्यमन्त्रीका रूपमा प्रदेशको सेवा गर्नकै लागि भएको जिकिर गरे । ‘प्रदेशको सांसद मात्र बन्न म चुनाव उठ्नुको अर्थ थिएन,' उनले भने, ‘होइन भने म प्रतिनिधिसभामै उठ्न सक्थें ।'
गुरुङद्वय नै एमालेको राजनीतिमा प्रभावशाली नेतानिकट मानिन्छन् । पृथ्वीसुब्बा एमाले अध्यक्ष केपी ओलीनिकट मानिन्छन् भने किरण उपाध्यक्ष वामदेव गौतमका पुराना राजनीतिक सहयात्री हुन् । प्रभावशाली नेताहरूको निकट भएका र आफ्नै समेत उचाइ भएकाले दुवैको दाबेदारीलाई व्यवस्थापन गर्न एमालेलाई कठिन हुने जानकारहरू बताउँछन् ।