दैलेखमा माओवादीले पहिलो पटक पायो जनप्रतिनिधि

दैलेखमा माओवादीले पहिलो पटक पायो जनप्रतिनिधि

सुर्खेत :  सशस्त्र संघर्षबाट संसदीय राजनीतिमा आएपछि नेकपा माओवादी केन्द्रले दैलेखमा पहिलो पटक जनप्रतिनिधि पाएको छ। यसअघि सम्पन्न दुई वटा संविधानसभा र स्थानीय तहको निर्वाचनमा माओवादी दैलेखमा शून्य हुन पुगेको थियो। तर यसपटकको निर्वाचनमा माओवादीले प्रदेशसभा सदस्यमा जित हासिल गरेको हो।

शान्ति प्रक्रियापछि ०६४ र ०७० मा सम्पन्न भएका दुबै संविधानसभा निर्वाचनमा दैलेखमा माओवादीका उम्मेदवारहरु पराजित भए। यस्तै गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमासमेत माओवादीलाई दैलेखीले पराजित गरिदिए। जिल्लाका ९० वटा वडाहरु मध्ये एउटा वडा अध्यक्ष पनि जित्न नसकेको माओवादीले मुश्किलले जिल्लाभर गरी तीन जना वडा सदस्यमा चित्त बुझायो। हरेक निर्वाचनमा जिल्लामा हार बेहोर्दै आएको माओवादीका लागि यसपटकको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भने फापेको छ।

प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटा क्षेत्र रहेको जिल्लामा माओवादीले एउटा सिटमा मात्र उम्मेदवारी दिएको थियो। युद्धकालमा स्थानीय वासिन्दासँग बिग्रिएको सम्बन्धका कारण माओवादीले यसपटक पनि प्रयोगको रुपमा उम्मेदवारी दिएको थियो। तर यसपटक क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) बाट उम्मेदवार बनेका माओवादी नेता धर्मराज रेग्मी विजयी हुन सफल भए।

एमालेसँग गठबन्धन गरेर विजयी भएका रेग्मी नै दैलेखमा चुनाव जित्ने माओवादीको पहिलो र एकमात्र नेता बनेका छन्। रेग्मीको विजयसँगै माओवादीले जिल्लामा पहिलो पटक निर्वाचित जनप्रतिनिधि पाएको हो। यसलाई माओवादीले स्थानीयसँग युद्धकालमा बिग्रिएको सम्बन्धमा बिस्तारै सुधार हुन थालेको निस्कर्ष निकालेको छ।

प्रदेश ६ लाई आफ्नो आधारक्षेत्र मान्दै आएको माओवादीले दैलेखमा भने जनमतबाट अनुमोदित हुन सकेको थिएन।जनयुद्धको क्रममा ज्यादती गरेको भन्दै दैलेखीले माओवादीविरुद्ध प्रतिकार अभियान चलाएका थिए। २०६१ मंसिरमा स्थानीय महिलाहरुको नेतृत्वमा दुल्लूमा सञ्चालन भएको प्रतिकार अभियानपछि यहाँको जनमत माओवादीविरुद्ध थियो।

यस्तै जिल्लाका पत्रकार डेकेन्द्र थापाको हत्याविरुद्ध पनि स्थानीयहरु माओवादीको विरोधमा खनिए। जसका कारण माओवादीले जिल्लामा कुनै पनि निर्वाचनमा जित हात पार्न सकेको थिएन। शान्ति प्रक्रियामा आएर दुई पटक सरकारको नेतृत्व गरिसक्दा पनि स्थानीयले माओवादीप्रतिको दृष्टिकोण बदलेनन्। तर यसपाली भने माओवादी उम्मेदवारलाई विजयी गराएर स्थानीयले विगतमा बिग्रिएको सम्बन्धमा सुधार हुँदै गएको सन्देश दिएका छन्।

यसअघि प्रत्यक्षमा जित्न नसकेपछि माओवादीले दैलेखबाट समानुपातिकतर्फ सभासद बनाएको थियो। जिल्लामा उपस्थिति जनाउन ०६४ मा भरत रेग्मी र ०७० मा ललिता रेग्मीलाई समानुपातिक सभासद बनाइएको थियो। यसबाहेक जिल्लामा माओवादीका तर्फबाट निर्वाचित जनप्रतिनिधि थिएनन्। लामो अन्तरालपछि निर्वाचित जनप्रतिनिधि पाएपछि जिल्लाका माओवादी कार्यकर्ताहरु हर्षित छन्।

स्थानीय माओवादी कार्यकर्ता रविलाल थापाले भने,‘अब माओवादीप्रति स्थानीयको दृष्टीकोण बदलियो, विगतमा माओवादीबाट भएको कमजोरीमा पार्टीले आत्मआलोचना गरिसकेको छ। यसपटकको नतिजाले पनि पार्टी र जनताबीचको सम्बन्धमा सुधार आएको पुष्टी गरिदियो, यसले हामीलाई धेरै हर्षित बनाएको छ।' यस्तै मध्यपश्चिम विश्वविद्यालयको द्वन्द्व तथा शान्ति विषयका उपप्राध्यापक कमलराज लम्साल भन्छन्,‘दैलेखीले माओवादीसँग सम्बन्ध राम्रो भएर होइन, वाम गठबन्धनको उम्मेदवारलाई मत दिएका हुन्। स्थानीयको चाहना स्थिर सरकार र पार्टी एकता नै हो, त्यसका लागि पनि उनीहरुले माओवादी उम्मेदवारलाई जिताएर पठाए।'

माओवादीबाट जित्ने पहिलो नेता बने रेग्मी

दैलेखमा माओवादीबाट धर्मराज रेग्मी निर्वाचन जित्ने पहिलो व्यक्ति बनेका छन्। माओवादीबाट निर्वाचित जनप्रतिनिधि बन्न सफल रेग्मी जिल्लाको क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट विजयी भएका हुन्। आफ्ना प्रतिस्पर्धी कांग्रेसका जिल्ला सभापति कृष्ण बिसीलाई पराजित गर्दै उनी प्रदेशसभा सदस्य बन्न सफल भएका छन्। विद्यार्थी अवस्थाबाटै राजनीतिमा होमिएका उनी माओवादीका केन्द्रीय सदस्य हुन्।

दैलेखको मेहेलतोलीमा जन्मिएका रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट संवैधानिक कानुन र अन्तर्राष्ट्रिय सम्बन्धमा एलएलएम उर्तिण गरेका छन्। यस्तै राजनीतिक शास्त्रमा स्नातकोत्तर उनी यसअघि सर्वोच्च अदालतमा बहस गर्दै आएका थिए। मध्यम वर्गीय परिवारमा जन्मिएका उनलाई माओवादीले यसपाली प्रदेशसभाको उम्मेदवार बनाएको थियो। कानुनी विषयका जानकार रेग्मीले आफ्नो विजयसँगै दैलेखमा माओवादी र स्थानीयबीच बिग्रिएको सम्बन्धलाई सुधार गर्ने अवसर प्राप्त भएको बताए।

‘द्वन्द्वकालमा केही कमजोरी भए, त्यसलाई हामीले सच्याउँदै लैजाने हो' रेग्मीले भने,‘हामीले सम्बन्ध सुधारमा जोड दियौं, जनतासँग मसिनो गरी पार्टीले आफ्ना विषयहरु राखेको छ। यसैको परिणाम यसपटक हामीलाई मत प्राप्त भएको हो, अब दैलेखको समृद्धिका लागि काम गर्ने अवसर मिलेको छ।' द्वन्द्वपीडितको घाउमा मलम लगाउने प्रयासमा आफूले कुनै कसर बाँकी नराख्ने भन्दै उनले पीडितहरुको संरक्षण नै आफूहरुको मुख्य मुद्दा भएको जनाए। स्थानीयसँगको सम्बन्ध बिग्रिएकै कारण विगतमा आफूहरुले जिल्लामा निर्वाचन जित्न नसकेको बताउँदै उनले अब सम्बन्धलाई सुधार गरेर लैजाने प्रयासमा माओवादी रहेको उल्लेख गरे।

 

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.