अमेरिकाविरुद्ध प्रदर्शन जारी
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने गरी राखेको आफ्नो अभिव्यक्तिका विरुद्धमा विभिन्न देशमा अमेरिकाविरुद्ध प्रदर्शन भइरहेका छन् ।
यसअघि गत सातादेखि भएको उक्त घोषणाको विषयलाई लिएर विभिन्न देशले आन्दोलन शुरु गरेका थिए । आन्दोलन र विरोध प्रदर्शनको क्रम सोमबार पनि जारी रहेको छ । प्यालेस्टिनीहरूले स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि संघर्षरत इस्लामिक हमास समूहद्वारा उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न आह्वान पनि भएको थियो ।
राष्ट्रपति ट्रम्पको निर्णयको विरोध चर्कंदै गर्दा लेबनानको राजधानी बेरुतस्थित अमेरिकी राजदूतावासअगाडि पनि विरोध जुलुस निकालिएको थियो । विरोध जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र केही प्रदर्शनकारी र प्रहरी समेत घाइते भएका छन् । आइतबार विरोध जुलुस ल्याएर अमेरिकी दूतावासतर्फ अघि बढिरहेका प्रदर्शनकारीलाई प्रहरीले रोेकेको थियो । त्यस क्रममा उसले अ श्रुग्याँस र पानीको फोहरा पनि हानेको थियो ।
उता हालैका दिनहरूमा अमेरिकासँग राम्रो सम्बन्ध कायम रहेका संयुक्त अरब इमिरेट्स र साउदी अरेबिया समेत सम्मिलित अरब लिगले पनि राष्टपति ट्रम्पको यस निर्णयको आलोचना गरेका छन् । हमासका नेताले बिहीबारमात्र गाजामा आन्दोलनको घोषणा गरेका थिए । सोही बमोजिम अरब क्षेत्रका पनि विभिन्न देशमा रहेका अमेरिकी दूतावासअगाडि प्रदर्शन गरिएका छन् । राष्ट्रपति ट्रम्पको उक्त निर्णयको विरोधमार्फत जेरुसेलमको स्वतन्त्रता जोगाउन उनीहरूले आह्वान गरेका थिए ।
उता इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले भने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गर्दै उनले जेरुसलेमको इतिहासको सम्मान गरेको बताएका छन् । अरब र मुसलमान बहुल देशका विभिन्न शहरमा गत सातादेखि नै प्रदर्शन भएका छन् । लेबनानका अतिरिक्त इजिप्टको कायरो, मोरक्कोको रबातमा पनि आइतबार विरोध प्रदर्शन भएका थिए । त्यसैगरी टर्कीका राष्ट्रपति तैयब रेसप एर्दोगानले जेरुसलेम इजरेललाई सुम्पिने पक्षमा आफू नभएको प्रतिक्रिया दिएका छन् । इस्लामिक समूहका हजारौँ नागरिकले अरूतिर पनि अमेरिकाको उक्त निर्णयको व्यापक मात्रामा विरोध गरेका छन् ।