नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित
पूर्वी नवलपरासी : पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी केन्द्रले ५ जना उम्मेदवार उठाएको थियो। जसमा २ प्रतिनिधिसभा सदस्य र ३ वटा प्रदेशसभा सदस्य उम्मेदवार थिए। दुई जिल्लाबाट एमालेले दुई प्रतिनिधिसभा र ५ प्रदेशसभा सदस्य जिते पछि माओवादी केन्द्रका सबै उम्मेदवार भने पराजित भएका हुन्।
पूर्वी नवलपरासीमा प्रतिनिधिसभासहित ३ जनाले उम्मेदवारी दिएका थिए। जसमा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा भविश्वर पराजुली, प्रदेशसभा १(क)बाट सूर्यप्रसाद न्यौपानेले उम्मेदवारी दिएका थिए भने निर्वाचन क्षेत्र नम्बर २ (क)बाट बालकृष्ण गैरेले उम्मेदवारी दिएका थिए।
त्यसैगरी पश्चिम नवलपरासीमा प्रतिनिधिसभासहित २ जनाले माओवादी केन्द्रबाट उम्मेदवारी दिएका थिए। जसमा क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा घनश्याम यादव र प्रदेशसभा २ (ख) मा कन्हैया कोहाँरले उम्मेदवारी दिएका थिए।