पाँचथरमा समानुपातिक तर्फको मतगणन सकियो : एमाले पहिलो
फिदिम : पाँचथरमा समानुपातिक तर्फको मतगणन सकिएको छ। प्रत्यक्ष तर्फको सबै सिट वाम गठबन्धनको कब्जामा परेको पाँचथरमा समानुपातिक तर्फ पनि नेकपा एमालेले सबैभन्दा धेरै मत पाएको छ। एमालेले २४ हजार एक सय सात मत पाएको छ भने नेपाली कांग्रेसले १५ हजार आठ सय ५५ मत पाएको हो।
खसेको कुल सदर मत मध्ये तेस्रो स्थानको ठाउँ बदर मतले लिएको छ। ७७ हजार नौ सय ७७ मत मध्ये १२ हजार सात सय ४७ मत बदर भएको हो। माओवादी केन्द्रले (सिया हथौडो) ११ हजार एक सय ६३ मत पाएको हो। लिम्बुवानको बर्चस्व रहेको पाँचथर जिल्लामा लोकतान्त्रिक राष्ट्रिय मञ्चले (लिम्बुवान) दुई हजार सात सय तीन मत मात्र पाएको हो।
जिल्लामा समानुपातिक तर्फ २७ ओटा चुनाव चिन्हमा मत खसेको हो। राप्रपाले तीन हजार नौ सय ६८ मत पाएको छ भने राप्रपा प्रजातान्त्रिकले दुई हजार ९० मत पाएको हो। संघीय समाजवादी फोरम नेपालले दुई हजार चार सय २६ मत पाएको हो। अधिकांश दलले पाँच सय भन्दा कम मत ल्याएका छन्।