जिल्लाको समग्र विकासमा सक्रिय हुन्छु : राज्यमन्त्री चौधरी
दाङ : श्रम तथा रोजगार राज्यमन्त्री तथा नेपाली कांग्रेसको तर्फबाट दाङ ३ क प्रदेशसभा सदस्यमा निर्वाचित सांसद डिल्ली बहादुर चौधरीले जिल्लाको समग्र विकासका लागी अझै सक्रिय हुने बताएका छन् । मंगलबार तुलसीपुरमा रिपोटर्स क्लब नेपाल दाङले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै आफु विकास गरेर देखाएको व्यक्ति भएकाले जनताको मत प्राप्त गरेको बताए ।
विकास निमार्णका कार्यमा मिलेर काम गर्न तयार रहेको बताउँदै चौधरीले विपक्षीहरुले पेलेर जानखोजी आफुहरु समेत कमजोर नहुने दाबी गरे । चौधरीले अब कांग्रेसलाई सुदृढ बनाउन पार्टी सभापतीले कठोर निर्णय लिनु पर्ने बताए । कांग्रेसले आत्म समीक्षा गर्दै आन्तरिक द्वन्द समाप्त पार्नुपर्नेमा समेत जोड दिए । निर्वाचनमा घात गर्नेलाई कडा कारबाही तथा देशभर वितरण गरिएको सक्रिय सदस्यता खारेज गरेर पुन वितरण गर्नुपर्ने बताए ।
मन्त्री चौधरीले निर्वाचनका बेला तिता मिठा कुरा भएको भन्दै अबका दिनमा सवै मिलेर जिल्लाको विकासमा ध्यान दिनुपर्ने बताए । रिपोर्टस क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार नारायणी रजौरेले स्वागत गरेका थिए भने सचिव विमल गौतमले सहजीकरण गरेका थिए ।