कांग्रेसमा हस्तक्षेपको माग

कांग्रेसमा हस्तक्षेपको माग

 

काठमाडौं : यसपटक कुनै आधारक्षेत्र सुरक्षित रहेन, कांग्रेसको । हिमालदेखि पहाड हुँदै तराई मधेस सबैलाई जोड्ने गरी ‘सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस’ को नारा दिएको कांग्रेस न हिमाल-पहाडमा राम्रो नतिजा ल्यायो न त तराई-मधेसमै ! प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सोमबार अबेरसम्म आएको नतिजामा प्रत्यक्षतर्फ कांग्रेस २१ सिटमा सीमित छ । प्रदेशसभातर्फ पनि कांग्रेसको उपस्थिति झिनो छ ।

वाम गठबन्धनले प्रत्यक्षतर्फ दुई तिहाइको मत जोडिरहँदा देशकै जेठो पार्टी कांग्रेस कसरी अघि बढ्ला भन्ने विषय चासोसाथ हेरिएको छ ।कांग्रेसलाई नजिकबाट नियालिरहेका विश्लेषक जुगल भुर्तेल भन्छन्, ‘कांग्रेसभित्र क्रान्तिकारी युवा जमातको हस्तक्षेप आवश्यक छ।’

भुर्तेलको बुझाइमा कांग्रेसले समग्र जनता र विशेष गरी युवा जमातलाई अपिल गर्न पछि परिरहेको छ । आफंैले गरेको कामको बारेमा समेत कांग्रेसले जनतामा पुर्‍याएको छैन । यस्तो अवस्थामा पार्टीको नेतृत्व तहमै व्यापक परिवर्तन आवश्यक हुन्छ ।’
भुर्तेल भन्छन्, ‘निर्वाचनमा नेतृत्वमा हाबी हुने प्रभावशाली नेताहरू नै पराजय हुनुले उनीहरूको विकल्प खोजेको देखिन्छ ।’

संघ-प्रदेशसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेताहरू गृह क्षेत्रमा पराजित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शेखर कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत, नवीन्द्रराज जोशीलगायत दर्जनांै नेताले पराजय भोगेका छन् ।

वाम गठबन्धन बनेपछि कमजोर बनेको आकलन भइरहँदा पनि परिणाम आफ्नो पक्षमा पार्ने अड्कल गरिएका कांग्रेसका वरिष्ठ नेताहरू स्वयं पराजय भोग्न विवश भएका छन् ।

२ नम्बर प्रदेशसहित तराई-मधेसमा राम्रो गर्ने अनुमान गरिए पनि यी क्षेत्र कांग्रेसका लागि फलिफाप भएन । २ नम्बर प्रदेशमा पनि मधेसी दलकै बाहुल्य देखियो । अन्यको तुलनामा आशा गरिएको ७ नं प्रदेशको परिणाम पनि कांग्रेसको पक्षमा आएन ।

कैलाली, कञ्चनपुरमा कांग्रेस शून्यप्रायः बनेको छ भने कांग्रेस राजनीतिको विरासत नै मानिएको मोरङमा एक सिटमा सीमित रह्यो ।

वाम गठबन्धन घोषणापछि निर्वाचन लक्षित लोकतान्त्रिक गठबन्धनको कसरत भए पनि त्यो प्रभावकारी बन्न नसक्दा कांग्रेसको पक्षमा निर्वाचन परिणाम नआएको हो ।

दुई ठूला वाम दल तालमेल गरी चुनावमा होमिएका बेला कांग्रेसले मतदातालाई आकर्षण र भरोसा जगाउने कुरा गर्न सकेन ।
निर्वाचनमा कांग्रेस कमजोर दखिनुमा पार्टी बाहिरभन्दा भित्रै बढी कमजोर भएको स्विकार्छन् कांग्रेस नेता डा.नारायण खड्का ।
उनी भन्छन्, ‘कांग्रेसले काम नगरेको होइन तर हामीले जनतामा आशा उत्पन्न गराउन सकेनांै । जनताले गरिरहेको अपेक्षा र पार्टी नेतृत्वबीच तालमेल देखिएन ।’

खड्का भन्छन्, ‘अब ढिलो नगरी पार्टीभित्र यसको बहस सुरु हुनुपर्छ ।’ निर्वाचन परिणाम आएसँगै कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको बहस बाक्लिँदै गएको छ । केन्द्रीय तहका नेताहरू पराजित भएका कारण नेतृत्व हस्तान्तरणको दौडमा युवा अग्रपंक्तिमा उभिएका छन् ।नेता खड्का भन्छन्, ‘अब चाँडै पार्टीको केन्द्रीय कार्यसमितिको बैठक डाकेर निर्वाचनको समीक्षा गर्नुपर्छ । महासमिति बैठक डाकेर आवश्यक निर्णय लिइनुपर्छ ।’

विश्लेषक भुर्तेल भने कांग्रेस नेतृत्वदेखि क्रियाशील सदस्य बनाउने परम्परामै व्यापक सुधारको खाँचो औंल्याउँछन् । उनी भन्छन्, ‘कांग्रेसभित्र प्रवेश गर्ने परिपाटीमै पहिला सुधार हुनुपर्छ ।’निर्वाचन नतिजामाथि कांग्रेस नेता प्रदीप गिरीले टिप्पणी गर्दै भनेका छन्, ‘रूखको पात मात्रै झरेको हो । वसन्तमा फेरि पलाउँछ ।’

सिरहाबाट प्रतिनिधिसभामा निर्वाचित गिरीले रूखको पात झरेको कुरालाई निर्वाचनमा देखिएको कमजोर अवस्थासँग तुलना गरेका छन् । विश्लेषक भुर्तेल गिरीको विश्लेषणलाई रिफरेन्स गर्दै अन्नपूर्णसँग भने, ‘कांग्रेसले वसन्तमा आफैं पात पलाउँछ भनेर पर्खनुभन्दा त्यसमा राम्रोसँग मलजल गर्न आवश्यक छ ।’

कांग्रेसभित्र हरेक निर्वाचनमा अन्तर्घातको प्रश्न उठ्ने गर्छ । वाम गठबन्धनका कारण यो निर्वाचनमा कांग्रेसभित्र खासै असन्तुष्टि देखिएन । ०१५ सालबाट सुरु भएको कांग्रेसभित्रको अन्तर्घातको शृंखलालाई ०५१ सालको उपनिर्वाचनले संस्थागत गरेको मानिन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.