दाङमा समानुपातिकमा कांग्रेस पहिलो
दाङ : प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट नजितेको कांग्रेस समानुपातिकमा भने जिल्लामा पहिलो दल भएको छ। २ लाख २९ हजार ४ सय ५२ समानुपातिक मत खसेकोमा समानुपातिकमा प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैतर्फ नेपाली कांग्रेस पहिलो बनेको हो।
समानुपातिकमा दाङमा प्रतिनिधिसभातर्फ ५१ दल र प्रदेशसभातर्फ २७ दलले मत प्राप्त गरेका छन्। प्रतिनिधिसभातर्फ कांग्रेसले ७३ हजार ९ सय ९३ मत प्राप्त गरेर पहिलो दल बनेको हो। त्यसैगरी दोस्रोमा रहेको नेकपा एमालेले ७३ हजार ११मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४३ हजार १सय ५९ मत प्राप्त गरेको छ। त्यसैगरी राष्ट्रिय जनमोर्चाले ४ हजार ६ सय ९८, विवेकशील साझा पार्टीले पाँचौ स्थानमा रहँदै ४ हजार ५ सय ९२ मत प्राप्त गरेको छ। त्यसैगरी राप्रपाले १ हजार ६ सय ७७ मत प्राप्त गरेको छ।
त्यसै गरेर प्रदेशसभातर्फ नेपाली कांग्रेसले ६९ हजार ६५, नेकपा एमालेले ६५ हजार १सय ६७, माओवादी केन्द्रले ४४ हजार ८ सय १७, राजमोले ४ हजार ६ सय ३५, विवेकशील साझा पार्टीले ३ हजार २ सय ४३ र राप्रपाले १ हजार ९ सय ५१ मत प्राप्त गरेको छ।