भदालाई हराइन् फुपूले
जलेश्वर : महोत्तरीमा भदालाई प्रराजित गर्दै फुपू विजयी भएकी छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ (क) निर्वाचन क्षेत्रमा फुपू सारदादेवी थापाले भदा प्रह्लादकुमार क्षेत्रीलाई हराएका हुन्। यहाँ फुपू भदाबीचको चुनावी प्रतिस्पर्धा रोचक बनेको थियो। थापाले भदा क्षेत्रीलाई एक हजार दुई सय ५१ मतको मतान्तरले जित हाँसिल गरेकी हुन्। दश हजार दुई सय ८२ मत ल्याएर विजयी भएकी थापाका भदा प्रहलादकुमारले नौं हजार ३१ मत प्राप्त गरेका थिए। नेपाली कांग्रेसबाट क्षेत्री र उनकी फुपू थापा वाम गठबन्धन एमालेबाट चुनावी मैदानमा उत्रिएका थिए।
भदा क्षेत्रीले फुपूलाई घरमा विजयीको माला लगाएर मिठाइ खुवाएका छन्। विजयी थापाले आफ्नो गलाको माला भदालाई लगाइदिएर खुशी साट्दै भनिन्,‘देश र जनताको पक्षमा काम गर्छु।’क्षेत्रीलाई सम्पन्न स्थानीय तहको चुनावमा कांग्रेसले बर्दिबास नगरपालिकाको मेयर पदको उम्मेदवार बनाएको थियो। उनलाई माओवादी केन्द्रका उम्मेदवार विदुरकुमार कार्कीले हराएका थिए।
नेकपा एमालेबाट नेत्री थापाले उपमेयरको दावेदार भएपनि पार्टीले टिकट दिएको थिएन। महिला नेत्री थापा महिला अधिकारकर्मी हुन् भने क्षेत्री उद्योग वाणिज्यसंघ बर्दिबासका अध्यक्ष हुन्।