डीएसपीदेखि निर्वाचन अधिकृतसम्म मिलेर गच्छदारलाई जिताए : चौधरी

डीएसपीदेखि निर्वाचन अधिकृतसम्म मिलेर गच्छदारलाई जिताए : चौधरी

इटहरी : सुनसरी क्षेत्र नम्बर ३ मा एमालेबाट प्रतिनिधिसभा सदस्यको लागि चुनाव लडेकी भगवती चौधरीले चुनावमा धाँधली भएको आरोप लगाएकी छिन्। नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारबाट ३ सय २१ मतअन्तरमा पराजित चौधरीले सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर धाँधली भएको आरोप लगाएकी हुन्। उनले आफू अन्यायमा परेको जनाउँदै न्यायका लागि राष्ट्यि, अन्तर्राष्ट्रिरय अदालत जाने चेतावनी दिएकी छिन्।

विवादित मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने र सबै क्षेत्रको मतपत्र सावधानीका साथ पुनः गणना गर्नुपर्ने समेत उनको माग छ। ‘मतपत्र नम्बर, त्यहाँ प्रयोग गरिएको स्वस्तिकको छाप आदि फेरी जाँच गर्ने हो भने धेरै मत बदर भएका छन्,’ उनले भनिन्, ‘बदर मतलाई समेत सदर गराएर विजयकुमार गच्छदारलाई जिताइएको छ।’

उनले चुनावको मतदान र मतगणना प्रक्रियामा धाँधली भएको गुनासो गरेकी हुन्। सो क्रममा सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझी, निर्वाचन अधिकृत टीकाभुषण घिमिरेलगायतको नामै किटेर प्रेस वक्तव्य समेत जारी गरेकी छिन्। मतपत्रको सिरियल नम्बर हेर्न खोज्दा घिमिरेले नदिएको चौधरीले बताइन्। मतगणना स्थलमा सिसिटिभी नराखिएको, मतदानस्थलभित्र कांग्रेस कार्यकर्तालाई मोबाइल लान दिइएको जस्ता आरोप समेत चौधरीले लगाएकी छिन्।

उनले आफूलाई षड्यन्त्र गरेर हराइएको बताउँदै केही केन्द्रमा पुनः मतदानको माग गरिन्। ‘स्वभाविकभन्दा ठूलो स्वस्तिक छाप भएका मतपत्रलाई पनि सदर गरिएको छ,’ दुई हजार पाँच सय मतलाई सदर गरिएको बताउँदै उनले भनिन्, ‘केही मतदान केन्द्रमा अधिकृत र प्रहरीले नै नेपाली कांग्रेसमा भोट हाल्न मतदातालाई आदेश दिएको भेटियो।’

उनले गच्छदारले राज्यसत्तासमेतको दुरुपयोग गरी राति–राति पैसा बाँडेको, डकैती शैलीमा चुनाव जितेको आरोप लगाइन्। ‘जनताको मत जितेर होइन, डकैती शैलीमा चुनाव जितिएको छ,’ उनले भनिन्, ‘अघिल्लो पटक पनि यसरी नै मलाई हराइएको थियो।’

चौधरीले चिमडी मतदान केन्द्रमा सुनसरीका एसपी विद्यानन्द माझीले मतदातालाई रुखमा भोट हाल्न सिकाएको, पशुपती आधारभूत विद्यालय सोचनापुर बालकुण्ड मतदान केन्द्रमा सहायक मतदान अधिकृत स्वयंले एक हजार एक सय मत खसालेको उनको आरोप छ। यस्तै नविन शिक्षा निकेतन मावि दुहबी केन्द्रमा मतदानस्थलभित्रै दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले मोबाइल प्रयोग गरी मतदातालाई मत खसाल्न प्रभावित गरेको समेत उनको आरोप छ।

यसैगरी जनता मावि सिमरिया मतदान केन्द्रका कर्मचारी स्वयंले मतदान गरेको समेत उनले बताइन्। ज्ञानोदय आदर्श विद्यालय खनार मतदान केन्द्र मतपेटिकाको सुरक्षण सिल नभएको समेत उनको आरोप छ। उनले आफूहरुविरुद्ध प्रहरी, निर्वाचन अधिकृत र आफ्नै पार्टीका प्रतिनिधिसमेत बिकेको उनको आरोप थियो। पत्रकार सम्मेलनमा उनीसँगै उपस्थित सुनसरी क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित लिलम बस्नेतले आफ्नै प्रतिनिधि समेतले गच्छदारलाई सघाएको पाएपछि प्रतिनिधि परिवर्तन गर्नुपरेको बताए। ‘त्यो क्रममा ममाथि नै सांघातिक आक्रमण भयो,’ उनले भने।

संविधानसभाको दोस्रो चुनावमा पनि चौधरी र गच्छदार भिडेका थिए। उक्त चुनावमा गच्छदार लोकतान्त्रिक फोरमबाट उठेका थिए। चुनावमा गच्छदारले चौधरीलाई तीन सय मतले हराएका थिए। त्यतीबेला पनि धाँधली भएको आरोप चौधरीले लगाएकी थिइन्।

यो पटकको चुनावमा पनि गच्छदारले धाँधली गर्ने भन्दै चौधरी सुरुवातदेखि नै सशंकीत थिइन्। सो विषयमा उनले दुहबीमा आयोजित पार्टीको चुनावी सभामा पार्टी अध्यक्ष केपी ओलीको अगाडी पनि गुनासो गरेकी थिइन्। ओलीले प्रहरीलाई पार्टीको पक्ष नलाग्न भन्दै भाषणबाटै सुरक्षाकर्मीलाई चेतावनी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.