‘कांग्रेसलाई तत्काल उपचारको खाँचो’

‘कांग्रेसलाई तत्काल उपचारको खाँचो’

बिर्तामोड : कांग्रेस केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा पराजित विश्वप्रकाश शर्माले हारमा नआत्तिन भन्दै कार्यकर्तालाई आश्वासन दिन थालेका छन् ।

निर्वाचन प्रचारका क्रममा भोट माग्न सक्रिय भएजस्तै उनी अहिले सक्रिय छन् कार्यकर्ता फकाउन । प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै उनी कार्यकर्तालाई सान्त्वना दिन आफ्नो क्षेत्रमा खटिएका हुन् । उनले एउटा चुनावमा हार बेहोर्दैमा कांग्रेसको साख गिर्न नसक्ने बताए । उनले कसैले केही गर्दा पनि कांग्रेस नमर्ने बताउने गरेका छन् ।

मतदातालाई धन्यवाद दिने अभियान सुरु गर्दै मंगलबार धुलाबारीमा उनले राणा शासन, राजाको शासन र तत्कालीन विद्रोही माओवादीले छानी–छानी कांग्रेस कार्यकर्तालाई घाँटी रेट्दा नमरेको कांग्रेस एउटा चुनावमा पराजय भोग्दैमा नमर्ने बताए । ‘हाम्रा पनि अनेक कमजोरी भए । हामीले त्यो स्वीकार गरिसकेका छौं’, उनले भने, ‘यो पराजयको जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलदेखि पार्टीका सम्पूर्ण सदस्यले लिनुपर्छ ।’

विजेता दलहरूले कांग्रेस घाटमा पुगेको हल्ला चलाएको उल्लेख गर्दै उनले आफ्नो पार्टी घाटमा नभई अस्पताल पुगेको र आवश्यक परे ‘मेजर अप्रेसन’ गरेर भए पनि बचाउने बताए । बुधबार उनले अस्पतालको आकस्मिक कक्षमा रहेको कांग्रेसलाई तत्काल उपचारको खाँचो रहेको प्रतिक्रिया दिए ।

झापाकै अन्य क्षेत्रमा कांग्रेसले २८ हजारसम्मको मतान्तरले पराजय बेहोरेको उल्लेख गर्दै उनले भने, ‘दोस्रो संविधानसभा निर्वाचनमा मैले जनताको मन र मत जित्न सकिनँ तर यो निर्वाचनमा जनताको मन त जित्न सकें तर मत जित्न सकिनँ ।’ दुई हजार आठ सय मतान्तरले पराजित भएकामा आफूलाई दुःखभन्दा पनि जनताको विश्वासले सक्रिय राजनीतिमा लाग्न अझ हौसला थपेको उनले सुनाए ।

उनले कांग्रेसलाई हारेको फुटबल टिमजस्तो बन्न दिन नहुने धारणा व्यक्त गरे । आफूलाई क्षेत्र नम्बर १ का मतदाताले तरुण कांग्रेस बनाउने अभिभारा सुम्पेको तर्क गर्दै उनले ६५ वर्षे इतिहास बोकेको कांग्रेसलाई तरुण कांग्रेस बनाउन जनताले आदेश दिएको बताए ।

निर्वाचनका बेला असहयोग गरेका कार्यकर्तालाई लक्ष्य गर्दै उनले भने, ‘म कसैले अन्तर्घात ग¥यो भनेर शंका गर्दिनँ, मैले गरेको पनि छैन । यदि घात– अन्तर्घातको खेलमा लाग्नुभएको छ भने आजकै मितिबाट राजनीति छोडिदिनुहोस् । फेरि पार्टीलाई हराउने खेलमा लाग्नुभयो भने आउँदो महाधिवेशनले तपाईंको राजनीतिक भविष्य तय गर्नेछ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.