फैसलाको सामाजिक प्रभाव
सर्वोच्च अदालतले मंगलबार बोक्साबोक्सी र भूतप्रेतको अस्तित्व नहुने भन्दै यसका नाममा हुने क्रियाकलापविरुद्ध सरकारलाई कदम उठाउन आदेश दिएर ऐतिहासिक निर्णय गरेको छ । धामीझाँक्रीले अन्धविश्वास फैलाएर त्यसैको आडमा शोषण गरिरहेकाले त्यस्तो क्रियाकलापमाथि नियन्त्रण गर्न सर्वोच्चले सरकारको ध्यानाकर्षण गराएको हो ।
धामीझाँक्रीले ‘बोक्सी’ ठहर गरेपछि चितवनकी ठेगनीदेवी महतोका छिमेकीले २०६८ फागुन ५ गत महतोलाई आगो लगाई दजनौं प्रत्यक्षदर्शीसामु हत्या गरेको सन्दर्भमा यो निर्णय आएको हो । सर्वोच्चको आदेशमा ‘यो सन्देश सोझो रूपमा जनतासमक्ष पुर्याइनुपर्छ’ उल्लेख भएबाट अब जादु-टुनामुना र तन्त्रमन्त्र भन्दै उपचारका नाममा दुनियाँलाई ठग्नेहरूसमेत कानुनी परिधिभित्र आउने अपेक्षा गर्न सकिन्छ ।
भौतिक विकास र समृद्धितर्फ अघि बढिरहे पनि नेपालका गाउँसहरमा पुराना अन्धविश्वासका अनेक स्वरूप जिउँदै छन् । ‘पढेलेखेका’ मान्छेदेखि पदप्रतिष्ठा हासिल गरेका व्यक्तिसमेत व्यावहारिक, आर्थिक र स्वास्थ्य समस्या पर्दा धामीझाँक्री र ‘जान्ने’ कहाँ अझै जाँदैछन् । यता अन्धविश्वासमा टिकेको धामीझाँक्री पेसा कतिका लागि कमाइको राम्रो स्रोत बनेको छ । गाउँघरमा ब्यानर नराखी ‘मुखैमार्फत’ चल्ने यो ठगी पेसा अहिले सहरबजारमा ब्यानर राखेर मात्र होइन, मिडियामा विज्ञापनै गरेर खुलेआम हुने गरेको छ ।
बोक्सी र डायनप्रथा धामीझाँक्रीकै उत्पादन हो । नेपालका खासगरी मधेस-तराईमा बोक्सी प्रथा डरलाग्दो रूपमा जरा गाडेर बसेको छ । यदाकदा कमजोर, गरिब र झुम्रेझाम्रे पुरुषलाई ‘बोक्सा’ भनेर कुटपिट गर्ने गरेको भए पनि टुनामुना गरेको दाबी गर्दै र बोक्सी भन्दै महिलामाथि हिंसा हुने गरेको छ । कसैका गाईभैंसीले दूध नदिए वा गाईभैंसी बिरामी भए, मान्छेलाई रोग लागे वा कसैको अकस्मात् मृत्यु भएमा धामीझाँक्री बोलाएर झाँक्रीका मुखबाट समाजको कुनै कमजोर महिलालाई बोक्सी करार गर्ने गरिन्छ । बोक्सी करार गरेपछि बोक्सी भनिने व्यक्तिमाथि समाजका व्यक्तिले जस्तोसुकै अत्याचार र यातनासमेत दिने गर्छन् । ‘बोक्सी’ करार गरिएको व्यक्तिलाई फलाम तताएर शरीर डाम्ने, दिसापिसाब खुवाउनेदेखि आङै सिरिङ्ङ हुने खालका हिंसा थोपर्ने गरिएको छ । ‘आरोपित’ लाई नांगै हिँडाउने, योनीमा चक्कु छिराउने, झुन्ड्याउने र जिउँदै जलाउने घटनाका समाचार बेलाबेला बाहिर आएका छन् ।
बोक्सीका नाममा एकल, विधवा, वृद्ध, असहाय, राता आँखा भएका, कपाल लट्टा परेका र गरिब महिला मात्रै यस्ता हिंसाका सिकार हुने गरेका छन् । तर समाजबाट बहिस्कृत हुने डरमा यस्ता हिंसा र अत्याचारलाई लुकाएरै बस्न बाध्य छन्, पीडित महिला । अवस्था कतिसम्म डरलाग्दो छ भने भने गत असोजमा वीरगन्जकी महिला अधिकारवादी राजकुमारी उपाध्याय स्वयं बोक्सीको आरोपमा निर्घात् कुटिइन् ।
जागिरे प्रहरी नै उनलाई कुट्नमा सामेल भेटिए । तराई क्षेत्रमा कुनै महिलाको हुर्मत लिनुपर्यो भने उनलाई बोक्सीको आरोप लगाइदिने चलन सामान्य हो । अन्धविश्वास कति जकडिएको छ भने बोक्सीका नाममा आफ्नै छोराले आमा कुटेका छन्, आमाले छोरीलाई घरबाट लखेटेका छन् । हिंसाका सैयौं यस्ता दृष्टान्त छन् । तराई-मधेसका प्रत्येक गाउँमा बोक्सीको आरोपमा दुव्र्यवहार खेप्नुपरेका पाँचदेखि आठजना महिला भेटिन्छन् ।
मुलुकी ऐनले बोक्सीजन्य हिंसामा कठोर दण्डको व्यवस्था गरेको छ । तर अन्धविश्वासमा आधारित यो कुप्रथा न्यूनीकरण गर्न र हटाउन अदालतले आदेश दिए झैं विद्यालयको पाठ्यक्रममै व्यवस्था गर्न र सञ्चारमाध्यममार्फत व्यापक प्रचारप्रसार गर्न जरुरी छ । त्यस्तै, स्थानीय स्तरका अभियन्ता, शिक्षक र जनप्रतिनिधिलाई नै यस्ता जघन्य हिंसाविरुद्ध परिचालित गरिनुपर्छ । अदालतले व्याख्या गरेजस्तै बोक्सी प्रथाविरुद्ध मात्र होइन, त्यसको कारकको रूपमा रहेको धामी÷झाँक्री प्रथाविरुद्ध राज्य, कानुनी प्रणाली र न्याय व्यवस्था उभिन सक्नुपर्छ।