राजा बस्ने हिमागृह मुख्यमन्त्रीको आवास

राजा बस्ने हिमागृह मुख्यमन्त्रीको आवास

पोखरा : पूर्वराजपरिवारका सदस्यले प्रयोग गर्दै आएको दरबार हिमागृहलाई प्रदेश नं ४ का मुख्यमन्त्रीको आवास बनाइने भएको छ । पूर्वराजपरिवार सदस्यहरू यहाँ आउँदा फेवाताल किनारका रत्न मन्दिर र हिमागृहमा बस्थे । त्यसैमध्येको एक हिमागृहलाई मुख्यमन्त्रीको आवास बनाउन पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले सरकारलाई प्रस्ताव गरेको हो ।

राजसंस्थाको अन्त्यपछि रत्नमन्दिरलाई संग्रहालय बनाउन स्थानीयले प्रस्ताव गरे पनि अहिलेसम्म कुनै प्रयोजनमा आएको छैन । अर्काे दरबार हिमागृह पनि बिनाप्रयोजन रहेको हुँदा त्यसलाई मुख्यमन्त्रीको आवास बनाउन प्रशासनले सरकारलाई प्रस्ताव गरेको हो । दुवै दरबार अहिले नेपाल ट्रस्ट मातहतमा छन् ।

प्रादेशिक संरचनाका लागि निर्वाचन भइसकेको सन्दर्भमा अब आउने प्रादेशिक मुख्यमन्त्री र प्रदेशसभाका लागि कार्यालय, सभाकक्ष, निवास र मन्त्रालयहरूको पहिचान गरी सिफारिस गर्न सरकारले क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल संयोजकत्वको कार्यदललाई अह्राएको थियो । ‘मुख्यमन्त्रीको आवास भनेर हिमागृह प्रस्ताव गरेका छौं, नेपाल ट्रस्ट मातहत भएको हुँदा सरकारले उसबाट लिनुपर्नेछ’, कार्यदलका सदस्य कास्कीका सीडीओ तारानाथ अधिकारीले भने ।

प्रदेशसभा र सचिवालयका लागि पोखरा नगर विकास प्रशिक्षण केन्द्रको कार्यालयलाई सिफारिस गरिएको छ । कार्यदलले प्रदेशसभा, मुख्यमन्त्री, मन्त्रालयलगायतको कार्यालय र निवासको पहिचान गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गरेको हो।

मुख्यमन्त्रीको कार्यालय क्षेत्रीय सीप विकास तालिम केन्द्र प्रस्ताव छ । तर केन्द्रको कार्यालय निर्माणको अन्तिम चरणमा रहेको हुँदा भवन तयार नभएसम्मका लागि जिल्ला समन्वय समितिको कार्यालय कास्कीलाई तोकिने सीडीओ अधिकारीले जानकारी दिए । प्रदेश प्रमुखको कार्यालय र सचिवालय अध्यागमन तथा क्षेत्रीय प्रशासनको कार्यालय गरी दुई भवनमा रहने गरी सिफारिस गरिएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए । ‘प्रदेश प्रमुखको आवास क्षेत्रीय प्रशासकको आवासलाई सिफारिस गरिएको छ’, उनले भने।

संविधानतः यो प्रदेशमा १२ मन्त्रालय बन्नेछन् । विभिन्न मन्त्रालयका लागि पोखरामा रहेको क्षेत्रीय कार्यालयलाई सिफारिस गरिएको छ । क्षेत्रीय कृषि तालिम केन्द्र, क्षेत्रीय सिँचाइ निर्देशनालय, क्षेत्रीय बाली संरक्षण प्रयोगशाला, क्षेत्रीय स्वास्थ्य, क्षेत्रीय पशुसेवा कार्यालयलगायत सिफारिस भएका छन् ।

निर्वाचनको अन्तिम परिणाम आएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । यद्यपि, सरकारले प्रदेश प्रमुख भने नियुक्त गरिसकेको छैन । बहुमतप्राप्त गरिसकेको वाम गठबन्धनले वर्तमान सरकारले आफूखुसी प्रदेश प्रमुख नियुक्त नगर्न चेतावनी दिइसकेको छ । यसले झन् नियुक्तिमा विलम्ब देखिएको छ ।

१८ प्रतिनिधिसभा रहेको ४ नं प्रदेशमा प्रत्यक्षबाट ३६ र समानुपातिकका २४ गरी ६० सभासद् छन् । पर्यवेक्षक, विशिष्ट व्यक्ति, पत्रकार गरी कम्तीमा सयभन्दा बढी अट्ने सभाहलको आवश्यकता रहन्छ । यसका लागि समन्वय समितिको कार्यालयको सभाहल साँघुरो हुने देखिएको छ ।

प्रादेशिक मन्त्रालयहरूका लागि सरकारले अहिलेलाई अस्थायी कार्यालयहरू मात्रै तोक्न लागेको हो । प्रदेश सरकार बनेपछि भने ऊ आफैले सभाहल, मन्त्रालयलगायत सबै आवश्यक पूर्वाधार तय गर्न र निर्माण गर्न सक्छ । पोखरामा नयाँ भवन बनाउन भने सरकारी स्वामित्वमा प्रशस्त जमिन छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.