प्रदेशसभा र मुख्यमन्त्रीको कार्यालय तयार

प्रदेशसभा र मुख्यमन्त्रीको कार्यालय तयार

सुर्खेत : प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएसँगै सुर्खेतमा प्रदेश संसद्को बैठक र मुख्यमन्त्रीको कार्यालय राख्ने ठाउँको टुंगो लगाइएको छ। सरकारले प्रदेश राजधानीको औपचारिक निर्णय गर्न बाँकी नै रहे पनि सुर्खेतमा भने प्रदेश ६ को संसद् र प्रदेश सरकारका मन्त्रालय राख्ने गरी आन्तरिक तयारी पूरा गरिएको हो।

प्रदेशसभाका पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फका सांसदहरू निर्वाचित भएर आइसकेका छन् भने समानुपातिकतर्फको परिणाम पनि केही दिनभित्रै आउनेछ। परिणाम हासिल भएको एक महिनाभित्र नयाँ सरकार बनिसक्नुपर्ने कानुनी व्यवस्था भएकाले दुई-तीन साताभित्रै पहिलो बैठक बसिसक्नुपर्छ।

मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा प्रदेश सरकार अन्तर्गतका संरचनाहरूका लागि आवश्यक पर्ने भवनको टुंगो लगाइसकेको छ। सरकारले औपचारिक रूपमा प्रदेश राजधानी र प्रदेश प्रमुख तोक्ने बित्तिकै आफूहरू संसद्को पहिलो बैठक बसाउन तयार रहेको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार भवनको टुंगो लागेसँगै आवश्यक फर्निचर र अन्य सामग्रीको समेत जोहो भइसकेको छ।

प्रदेश संसद्को बैठक वीरेन्द्रनगरमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा बस्नेछ। यो प्रदेशमा प्रत्यक्षबाट २४ जना सांसद चयन भइसकेका छन्। अब समानुपातिकबाट १६ जना सांसद चयन हुनेछन्। ४० जना सांसदका लागि बैठक बस्न यो भवनमा उपयुक्त छ। भूकम्पप्रतिरोधी, वरिपरि तारबार र सुरक्षाका लागि पर्खालसमेत भएकाले संसद्का लागि यो भवन छनोट गरिएको हो।

प्रदेश सरकारका लागि आवश्यक भवन खोजी गर्न गठित कार्यदलका सदस्य हितप्रसाद पौडेलले भने, ‘हामीले भवन टुंगो लगाएका छौं, शैक्षिक तालिम केन्द्रमा संसद् बस्नेछ। मुख्यमन्त्री र प्रमुख सचिवका लागि हाल क्षेत्रीय प्रशासन कार्यालय रहेको भवन प्रयोग हुनेछ, अन्य मन्त्रालयका लागि क्षेत्रीयस्तरका कार्यालय रहेका भवनलाई सिफारिस गरेका छौं।'

संसद्को पहिलो बैठक बस्न अब केही दिन मात्र बाँकी रहेको भन्दै मध्यपश्चिमका क्षेत्रीय प्रशासक सुरेश प्रधानले पहिलो बैठक बसाउनका लागि आफूहरू तयारी हालतमा रहेको बताए। उनले भने, ‘हामीले संघीय सरकारको आधिकारिक निर्णय मात्र पर्खेका छौं, आवश्यक भौतिक पूर्वाधारहरू तयारी छन्। अब सामान्य मर्मत र रंगाउने काम मात्र बाँकी छ, त्यो पनि सरकारले औपचारिक पत्र पठाउनेबित्तिकै सम्पन्न गर्नेछौं।'

सुर्खेतमा धेरै पूर्वाधार उपलब्ध भएकाले प्रदेश सरकारका संरचनाहरू स्थापना गर्न कुनै समस्या नरहेको उनको भनाइ छ। ‘केन्द्र सरकारले नीतिगत निर्णय गरोस्, पूर्वाधारको सबै तयारी हामीले पूरा गरिसकेका छौं', प्रधानले भने, ‘हामी सांसदलाई स्वागत गर्न तयारी अवस्थामा छौं, बैठक कहाँ बस्ने र मन्त्रालय कता राख्ने भन्ने कुनै समस्या हुने छैन।'

प्रदेश सरकारका लागि आवश्यक भवन खोजी गर्न क्षेत्रीय प्रशासन कार्यालयको नेतृत्वमा सहरी विकास तथा भवन निर्माण डिभिजन, जिल्ला प्राविधिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका र जिल्ला समन्वय समिति रहेको कार्यदल गठन भएको थियो। यही कार्यदलले लामो अध्ययनपछि उपयुक्त भवनहरू सिफारिस गरेको हो। यस्तै सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले संसद् र मन्त्रालयका भवनमा थप मर्मत तथा रंगरोगन गर्न सरकारसँग बजेट मागिसकेको छ।

सुर्खेतलाई प्रदेश राजधानी बनाउने विषयमा यहाँका दलहरू तत्कालका लागि एकमत देखिएका छन्। जसले गर्दा पनि वीरेन्द्रनगरमा प्रदेश सरकारका लागि आवश्यक भौतिक तयारीलाई तीव्र बनाइएको हो। क्षेत्रीय प्रशासक प्रधानले भने, ‘तत्कालका लागि सुर्खेतको विकल्प छैन, त्यसकारण पनि हामीले पूर्वतयारी थालेका हौं। हामीले आफ्नो तर्फबाट गर्नुपर्ने सबै तयारी पूरा गरेका छौं, अब सरकारको निर्णय कुर्दैछौं।'

देशका अन्य प्रदेशमा अहिले पनि प्रदेशको केन्द्र कहाँ रहने भन्ने विषयमा टुंगो लागिसकेको अवस्था छैन तर जनताले गरेको आन्दोलनको बलमा सबैभन्दा पछाडि घोषणा गरिएको प्रदेश ६ मा भने प्रदेश सरकारका लागि आवश्यक तयारी थालिसकिएको हो। समानुपातिकको मतगणना सम्पन्न भएर समानुपातिकतर्फका सांसदहरू आउन बाँकी छँदै सुर्खेतमा प्रदेश संसद् र सरकारका लागि आवश्यक पूर्वाधार व्यवस्थापनको काम सम्पन्न भएको हो। तत्कालका लागि यी भवनको प्रयोग हुने भए पनि प्रदेश सरकारले भविष्यमा अलग्गै भवनहरू निर्माण गर्न सक्नेछ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.