राजेन्द्र राई पनि मुख्यमन्त्रीको दौडमा
भोजपुर : १ नम्बर प्रदेशको मुख्य मन्त्रीका लागि एमाले भित्र तेश्रो विकल्पका रुपमा राजेन्द्र राईको नाम अघि सारिएको छ। पार्टी सचिव तथा प्रदेश इञ्चार्ज भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राईले एक अर्कालाई अस्वीकार गर्ने अवस्था सृजना भएपछि तेश्रो विकल्पका रुपमा युवा नेता राजेन्द्र राईको नाम अघि सारिएको हो।
आचार्यलाई एमाले बरिष्ठ नेता झलनाथ खनालको सहयोग रहेको छ भने उनी प्रति माधव नेपालको पनि सहानुभूति रहेको बताइन्छ। तर शेरधन राईलाई एमाले अध्यक्ष केपी ओलीको विश्वास पात्र मानिन्छ। त्यति मात्रै होइन शेरधनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको पनि जिल्लावासी हुन्।
भीम आचार्य र शेरधन राईले एक अर्काको अस्थित्व अस्वीकार गर्ने अवस्था बनेपछि मध्यममार्गी प्रस्तावका रुपमा राजेन्द्र राईको नाम अघि बढाउन लागिएको एमाले श्रोतले बतायो। उनले पनि विजयी भएपछि आयोजना गरिएको कार्यक्रमहरुमा आफूमुख्य मन्त्रीका लागि योग्य भएको र सफलतापूर्वक जिम्मेवारी सम्हाल्ने अभिव्यक्ति दिँदै आएका छन्।
दुई कार्यकाल अनेरास्ववियुको अध्यक्ष सम्हालेका राई हाल एमाले केन्द्रीय सदस्य छन्। उनलाई एमाले भित्र बौद्धिक व्यक्तित्वका रुपमा हेरिन्छ। उनी भोजपुरबाट प्रत्यक्ष निर्वाचन लडेर प्रदेशसभा सदस्यमा भारी मतले निर्वाचित भएका थिए। राईलाई मुख्यमन्त्री बनाउन माधव नेपाल विशेष लागिपरेको बताइन्छ।