बदर मतको चिन्ता
संघ र प्रदेश चुनावमा जुन हदसम्म बदर मत प्रतिशत देखियो, त्यसले मतदाता शिक्षा अभियानको सार्थकतामाथि प्रश्न उठाइदिएको छ । पाँचथर, रोल्पाजस्ता थुप्रै जिल्लामा यो प्रवृत्ति देखिएको हो । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पाँचथरमा १५ प्रतिशतभन्दा बढी मत बदर भएको छ । चुनावमा विजेता र निकटतम प्रतिद्वन्द्वीपछि बदर मतको संख्या तेस्रो स्थानमा आउँछ ।
गत स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाको निर्वाचनमा नेकपा एमाले र राप्रपाको गठबन्धनका कारण त्यहाँ एमालेले उपमेयरमा उम्मेदवारी फिर्ता लिएको थियो । तर त्यहाँ उम्मेदवारी फिर्ता लिएको उम्मेदवारको चिह्नमा १३ हजारभन्दा बढी मत परेको थियो । त्यस्तै काठमाडौं महानगरपालिकाको निर्वाचनमा मेयर पदको मत गन्दा हजारौंको संख्यामा मत बदर भएको थियो । यतिको संख्यामा मत बदर हुनु चिन्ता र चासोको विषय हो ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा जम्मा ३.४ प्रतिशत र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अहिले मतगणना सम्पन्न भइसकेको प्रत्यक्ष चुनाव प्रणालीमा पाँच प्रतिशतभन्दा केही बढी मात्र मत बदर भएको जनाएको छ, तर विज्ञहरू निर्वाचन आयोगको तथ्यलाई सही मान्न तयार छैनन् । निर्वाचन आयोगको मतदाता शिक्षा प्रभावकारी नभएकाले त्यसलाई ढाकछोप गर्न आयोगले सही तथ्यांक नदिने गरेको बताइने गरेको छ । राष्ट्रिय रूपमा सरदर १५ प्रतिशतको हाराहारीमा मत बदर हुने गरेको उनीहरू बताउँछन् । कहींकहीं त बदर मतको अनुपात २० प्रतिशत पनि नाघ्ने गरेको छ । यसले मतदाता शिक्षा प्रभावकारी नभएको देखाउँछ ।
गएको स्थानीय तहको चुनावमा मतपत्र ठूलो आकारको थियो र सात ठाउँमा मतदान गर्नुपर्ने थियो । त्यसैले मतदाता झुक्किन सक्थे । त्यसबेला दलहरूबीच गठबन्धन भएका ठाउँमा धेरै मत बदर भएको पाइएको थियो । स्थानीय तहको निर्वाचनको तुलनामा प्रतिनिधिसभा र प्रदेशसभाका चुनावका मतपत्र सरल थिए । दुवै सभाका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीमा दुई छुट्टाछुट्टै मतपत्रमा एकएक ठाउँमा र समानुपातिकका लागि एउटा मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि मत हाल्नुपर्ने थियो । तसर्थ स्थानीय तहको तुलनामा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कम मत बदर हुनुपर्ने हो, तर निर्वाचन आयोगको तथ्यांक फरक छ । यसले पनि शंका गर्ने ठाउँ दिएको छ । विज्ञहरूले बदर मतको संख्या आयोगको आधिकारिक तथ्यांकभन्दा निकै बढी भएको जनाएका छन् ।
निर्वाचन आयोगले रेडियो, टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट र सामाजिक सञ्जालजस्ता आमसञ्चारका माध्यम र पोस्टर, पर्चा, पम्प्लेट, ब्यानर, होर्डिङ बोर्ड आदिका माध्यमबाट मतदाता शिक्षा सञ्चालन गर्छ । त्यसका अलावा सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया, सडक नाटक, भेला, घरदैलो कार्यक्रम, विद्यालयमा निबन्ध प्रतियोगिता, प्रदर्शनी र मेलाहरू र नमुना मतदानको माध्यमबाट पनि मतदाता शिक्षा दिने गरेको आयोग बताउँछ ।
निर्वाचन लोकतन्त्रको महाउत्सव हो । निर्वाचनबाट प्राप्त जनादेशले जनइच्छा अभिव्यक्त भएको मानिन्छ । यसले शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्छ, तर त्यसका लागि स्वच्छ र शान्तिपूर्ण रूपमा निर्वाचन हुन जरुरी छ । प्रलोभन, डर, धाक, धम्कीको प्रभावमा नपरी जनताले दल र उम्मेदवारहरूका दृष्टिकोण र योजनाका आधारमा मतदान गर्न पाउनुपर्छ । साथसाथै जनताले मत हाल्न चाहेको ठाउँमा ठीक तरिकाले मत जाहेर गर्न सक्ने हुनुपर्छ । तब मात्र चुनावले मतदाताको इच्छा दर्शाएको मान्न सकिन्छ । निर्वाचनको ध्येय कमभन्दा कम सकेसम्म शून्य मत बदर होस् भन्ने हुनुपर्छ ।
नेपाली जनताले पञ्चायतकालदेखि नै चुनावमा भाग लिँदै आइरहेका छन् । अहिलेसम्म पनि यति धेरै संख्यामा मत बदर हुनुले मतदाता शिक्षा प्रभावकारी हुन नसकेको देखाउँछ । यसमा निर्वाचन आयोग त गम्भीर हुनुपर्छ नै, साथसाथै राजनीतिक दल र सर्वसाधारण नागरिकको पनि महत्वपूर्ण भूमिका हुन्छ ।