‘प्राङ्क भिडियो’ भद्दा मजाक

‘प्राङ्क भिडियो’ भद्दा मजाक

दुई युवा ठमेल चोकमा उभिएर बटुवालाई सुस्तरी भनिरहेका छन्, ‘ब्राउन सुगर किन्ने हो ? ’ बटुवाहरू सशंकित हुन्छन् । एकछिनमा दुईजना प्रहरी जवानले उनीहरूलाई नियन्त्रणमा लिन्छ । निकैबेर केरकार गरेपछि अन्तिममा उनीहरूले प्राङ्क भिडियो खिचेको भन्दै कफीसँग खाने खैरो रङको चिनी देखाइदिन्छन् ।

एउटी युवती बाटोमा उभिएर बटुवालाई भनिरहेकी छिन्, ‘कण्डम कता पाइन्छ ? ’ धेरैलाई सोध्छिन् । एकजना बटुवालार्इ युवतीले विश्वास दिलाउँछे । पसलमा कण्डम किनदिन ऊ तयार हुन्छ । अन्तिममा युवतीले प्राङ्क भिडियो बनाएको भन्दै क्यामेरातिर देखाउँछे । युवक लजाउँदै ओझेल पर्छ ।

बाटोमा हिँडिरहेको युवतीलाई ‘जंगल जाने हो ? ’ भन्दै बाटो छेकेर सोध्नु, मोबाइलमा कुरा गरिरहेको व्यक्तिको पाइन्ट खोलिदिनु, दृष्टिविहीन बनेर मानिसलाई झुक्याउनु, सडकमा पागल बनेर बटुवाहरूलाई लखेट्नु आदिलाई प्राङ्क भिडियो भन्दै युट्युबमा हेर्ने बढेको छ । त्यस्ता भिडियो हेर्नेको संख्या लाखौंबाट करोडौं पुगेको छ ।

prank-34

सूचना प्रविधिको विकाससँगै युट्युबमा मानिसको पहुँच बढेको छ । युट्युबमा नेपाली गीतमात्रै होइन, यस्ता रमाइला भिडियो सर्च गरेर हेर्नेहरूको संख्या बढ्दै छ । केही वर्षयता भित्रिएको यस्ता भिडियो बनाउन केही युवा लागिपरेका छन् । खासगरी टिनएजर पुस्तामाझ निकै लोकप्रिय भनेको प्राङ्क भिडियो समय बिताउने राम्रो माध्यम बनेको छ ।

प्राङ्क भिडियो कसरी बनाउने ? नयाँनयाँ आइडिया कसरी ल्याउने भन्नेबारे इन्टरनेटले धेरै सिकाउँछ । पश्चिमा मुलुकमा ‘अप्रिल फुल’ भन्दै मानिसलाई ढाँट्ने गर्छन् । त्यही ढाँट्ने प्रक्रिया अरू बेला पनि चलिरहेकै छ । यसलाई ‘प्राक्टिकल जोक’ पनि भन्ने गरेको पाइन्छ । नेपाली प्राङ्क भिडियो बनाउनेहरू पहिला विदेशी भिडियोहरू हेरेर सिको गर्छन् । त्यसपछि आफ्नो क्रियसन थप्ने गर्छन् ।

बाटोमा हिँडिरहेको युवतीलाई ‘जंगल जाने हो ? ’ भन्दै बाटो छेकेर सोध्नु, मोबाइलमा कुरा गरिरहेको व्यक्तिको पाइन्ट खोलिदिनु, दृष्टिविहीन बनेर मानिसलाई झुक्याउनु, सडकमा पागल बनेर बटुवाहरूलाई लखेट्नु आदिलाई प्राङ्क भिडियो भन्दै युट्युबमा हेर्नेको संख्या बढ्दो छ ।

हेर्नेहरूले रमाइलो मानेजस्तै भिडियो बनाउनेहरूको पनि रोचक अनुभूति छन् । उनीहरू कैयौंपटक प्रहरी नियन्त्रणमा परेका छन् । क्यामेरा तोडफोड भएका छन् । अन द स्पोट कुटाइसमेत खाएका छन् । पाँच वर्षदेखि प्राङ्क भिडियो बनाउँदै आएका आकाश सेढाईं कयौंपटक प्रहरी गिरफ्तारीमा परे । उनी भन्छन्, ‘६ पटक प्रहरीले गिरफ्तार गर्‍यो । १४ पटक कुटाइ खाएँ ।’

कतिपयले यसलाई मानिसलाई बेवकुफ बनाउने खेल भनी आरोप लगाउने गरेका छन् । तर, भिडियो बनाउनेहरू स्वीकार्दैनन् । उनीहरू यस्ता भिडियो तनावमा रहेका मानिसलाई मनोरञ्जन दिने उद्देश्यले निर्माण गरेको बताउँछन् । यस्तै भिडियो बनाइरहेका प्रवीण राई भन्छन्, ‘हामी तनावमा रहेकाहरूलाई केवल मनोरञ्जन दिने प्रयास गरेका हौं ।’ प्रवीणको जस्तै धारणा राख्छन् आकाश । उनी भन्छन्, ‘हाम्रो उद्देश्य मनोरञ्जन दिने हो । त्यसबाहेक सामाजिक मुद्दा पनि उठाइरहेका छौं ।’

त्यसो त भिडियो बनाएर मानिसको इज्जतमाथि खेलवाड गरेको बताउनेहरू पनि छन् । तर, प्रवीणको धारणा फरक छ । उनी भन्छन्, ‘पहिला अनुमति लिन्छौं । अनुमतिबिना केही पनि गर्दैनौं ।’ कसैको पनि सार्वजनिक रूपमा बेइज्जत नगरेको बताउँछन् आकाश । उनी भन्छन्, ‘सबै प्राङ्क बनाउनेहरू राम्रा छैनन् । कतिपयले मानिसको मानहानी हुने गरी भिडियो बनाएको पनि देखेका छौं । त्यो राम्रो होइन ।’

मासिक ६० हजार कमाइ

यस्ता भिडियो बनाउनुको मुख्य उद्देश्य मनोरञ्जन बताइए पनि आर्थिक नै रहेको देखिन्छ । प्रवीणले मासिक ६० हजारसम्म कमाइ गर्छन् । नयाँनयाँ भिडियो बनाएर निरन्तर युट्युबमा अपलोड गरिरहन्छन् । भिडियोमा प्रसारित विज्ञापनको आधारमा युट्युबले पैसा दिन्छ । मानिसलाई विज्ञापन हेर्न लगाइन्छ । विज्ञापन जतिले हेर्‍यो, त्यहीअनुसार युट्युबले पैसा दिन्छ ।

maxresdefault_2

युवाहरू त्यही आर्थिक जोहो हुने प्रलोभनमा प्राङ्क भिडियोतर्फ आकर्षित भएका छन् । उनीहरूको कमाइमा कुनै पनि कर लाग्दैन । काम गर्न कुनै पनि सरकारी निकायमा स्वीकृति लिइरहनु पर्दैन । एउटा जिमेल अकाउन्ट खोलेर युट्युब च्यानल खोले पुग्छ । युवाहरू कसरी भ्युअर्स बढाउने भन्ने ध्याउन्नमा हुन्छन् । भ्युअर्स बढाउने लोभमा उनीहरूले कतिपय अश्लील शब्दको समेत सहारा लिने गरेका छन् । दुई अर्थ लाग्ने शब्दलाई बाटोमा हिँडिरहेका बटुवाहरूलाई सोधिरहेका हुन्छन् । समाजमा जुन दृश्य देखेर मानिसहरू रमाउँछन्, त्यसैको खोजीमा हिँड्छन् ।

भ्युअर्स बढाउन जे पनि खिच्ने मोहले मानिसको गोपनीयतासमेत ख्याल गरेको देखिँदैन । आफ्नो गन्तव्यतर्फ हिँडिरहेका मानिसलाई तथानाम गाली गरेर मुड खराब गरिदिनु, इमर्जेन्सी भन्दै फोन माग्नु, त्यसपछि भाग्नुजस्ता अशोभनीय कार्य देख्न सकिन्छ । जहाँ दुवै पक्षको स्वीकृति देखिँदैन । चलचित्र समीक्षक माधव ढुंगेल दुवै पक्षको सहमतिबिना हुने यस्ता कार्य मानवअधिकारविरुद्ध भएको बताउँछन् । त्यसलाई अपराधकै रूपमा बुझ्नुपर्ने उनको मत छ । उनी भन्छन्, ‘रमाइलो गर्ने नाममा सार्वजनिक ठाउँमा हुने त्यस्ता अशोभनीय गतिविधि मानवअधिकारविरुद्ध छ । यसलाई राज्यले नियन्त्रण गर्नुपर्छ ।’

हिंसाको रूप

प्रायः यस्ता भिडियोहरू मानिसलाई मजाकको पात्र बनाइएको र लुटेको दृश्यहरू हेर्न पाइन्छ । समीक्षक ढुंगेल भिडियोमा देखाइनुअघिको अदृश्य पक्षबारे गम्भीर भएर सोच्नुपर्ने बताउँछन् । सिक्री लुटेको दृश्य देखाइन्छ । पीडित रोइकराइ गरेको, चिच्याएको दृश्यलाई रमाइलो मानेर हेरिन्छ । त्यो काम सहज भए लुटेको लुट्यै गर्ने र लुट असफल भए क्यामेरा देखाएर प्राङ्क भिडियो भन्दै पन्छिने गरेको पनि हुन सक्ने बताउँछन् । ‘क्यामेराबाट ब्ल्याकमेलिङ हुँदैन भन्ने के ग्यारेन्टी छ ? ’ उनी भन्छन् ।

सार्वजनिक रूपमा मानिसमाथि भएको त्यस्ता अपमानलाई हिंसाको रूपमा लिनुपर्ने उनको तर्क छ । भन्छन्, ‘यो सरासर हिंसा हो । के गल्ती गरेबापत उसले सार्वजनिक बेइज्जत भोग्नु परेको हो ? यस्तो गर्नेलाई कारबाही गरिनुपर्छ ।’ अपराधलाई वैधानिकता दिन यस्ता भिडियो प्रयोग भइरहेको उनी बताउँछन् । तनावबाट मानिसलाई मुक्त गर्न मनोरञ्जन दिने गरेको कुरा उनी अस्वीकार गर्छन् । उनी प्रतिप्रश्न गर्छन्, ‘मनोरञ्जन दिने के उनीहरू कलाकार हुन् र ? ’ त्यस्ता भिडियोले समाजमा नकारात्मक काम गर्न युवा पुस्तालाई प्रोत्साहन दिने गरेको उनको धारणा छ । रमाइलो गर्ने नै हो भने दुवै पक्षको स्वीकृति हुनुपर्ने उनको पनि मत छ ।

समाजमा नयाँ प्रयोग हुनेबित्तिकै आत्तिने एउटा समूह रहेको कतिपयले बताउने गरेका छन् । एउटा समय थियो जहाँ टेलिभिजन धेरै हेर्‍यो भने बिग्रिन्छ भनिन्थ्यो । अहिले सामाजिक सञ्जालले मानिसलाई बिगार्‍यो भन्ने आवाज उठिरहेकै छन् । यस्ता रमाइला भिडियोले मानिसको मनोविज्ञानमा असर पर्छ । मानिसलाई समाज र राज्यप्रति जिम्मेवार भएर सोच्न दिँदैन भन्ने धारणा पनि सुनिन्छ । खासगरी युवा पुस्तालाई राष्ट्र र समाजप्रति गम्भीर हुन नदिने, समाजमा हल्का फुल्का सतही भएर सोच्ने व्यक्तिको निर्माण गर्न यस्ता भिडियोले सघाउँछ भन्ने धारणा पनि सुनिन्छ । आकाश यो तर्क मान्न तयार छैनन् । उनी भन्छन्, ‘यसले युवाहरूलाई बिगार्‍यो भन्ने कुरा म स्वीकार्दिनँ । टीभी हेरेर कति मान्छे बिग्रिए त ? ’

नेपाल प्रहरी, अपराध महाशाखा प्रमुख विवश लोहनी मनोरञ्जनका नाममा बनाइने त्यस्ता भिडियोमा दुवै पक्षको सहमति हुनुपर्ने बताउँछन् । सार्वजनिक स्थानमा आफ्नो बेइज्जत भयो भनेर पीडित पक्ष उजुरी दिन आएमा दोषीमाथि कानुनी कारबाही हुने उनी सुझाउँछन् । लागूऔषध जस्तो देखिने कुनै पनि वस्तु देखाएर झुक्याउन नमिल्ने उनको भनाइ छ । भन्छन्, ‘बम छ भन्दै मान्छेलाई तर्साउने ? अनि अन्तिममा प्राङ्क भिडियो भन्ने ? यस्तो गर्न पाइँदैन ।’ व्यक्तिको मानहानी हुने गरी कुनै पनि कार्य गर्न नहुने उनी बताउँछन् । भन्छन्, ‘प्राङ्क भिडियोको नाममा जे मन लाग्यो त्यही बनाउन पाइँदैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.