तीनपुस्ते बारा : 'होनचा' को १०० वर्ष
‘यहाँको बारा र पिरो आलु खायो भने रुघा निको हुन्छ ।’सय वर्ष पुरानो नेवारी खाजा-पसल ‘होनचा’को ‘फेमस’ बाराको तारिफमा ललितपुर, इमाडोलका शिव प्रधान यसो भन्दै थिए । उनी ‘होनचा’का नियमित ग्राहक हुन् । नेवारी समृद्ध खाद्य संस्कृतिको महत्वपूर्ण परिकार हो— बारा । यसलाई नेपालको ‘ब्रान्डेड’ खानेकुरा भनिदिए हुन्छ । आफ्ना विशेष परिकारले सय वर्षभन्दा बढी समयदेखि ‘होनचा’ ग्राहकको सेवामा छ ।
ललितपुरको पाटन संग्रहालयको विपरीततिर रहेको सानो गल्लीको मुखैमा एउटा पुरानो भवन छ । यही भवनको तल्लो तलामा छ, होनचा । आइतबार ३ बजे त्यहाँ होटल छिर्ने र बाहिरिनेको बाक्लो भीड थियो । बारा बनाउँदा ताउबाट निस्किएको बाफ बाहिर सडकसम्म रङमङिएर आइपुगेको थियो । कोही-कोही आँखा मिच्दै भित्र पसिरहेका थिए ।
भित्र सात-आठवटा टेबल÷कुर्सी लहरै मिलाएर राखिएका छन् । ठूला अक्षरमा परिकारको मूल्य लेखेर भित्तामा टाँसिएको छ । दुई ठाउँमा ‘आफ्नो सामानको सुरक्षा आफैं गर्नुहोला’ भन्ने सूचना लेखेर ग्राहकलाई सजग गराइएको छ, किनभने यहाँ भीडभाड हुन्छ । गर्मी नहोस् भनेर राखिएका दुइटा ‘फ्यान’ पनि निकै पुराना भइसकेका छन् । ढोकैनेर एउटा फ्रिज छ । थरीथरी परिकार राखिएका भाँडाहरू छन् । एकजना महिला निरन्तर बारा बनाइरहेकी छन् । तीनजना कामदार खाजा ‘सर्भ’ गर्न र जुठा भाँडा उठाउन व्यस्त छन् । खाने ग्राहकदेखि काम गर्नेसम्म सबैजना हतारमा छन्, होनचामा ।
एक सय वर्षभन्दा अघि पाटनका किसलाल व्यञ्जनकारले ‘होनचा’ खोलेका थिए । अहिले यो खाजाघर व्यञ्जनकार परिवारको तेस्रो पुस्ताको काँधमा छ । किसलालका नाति किरण र नातिनी बुहारी रोजिनाले परिवारको विरासत धानिरहेका छन् । केही समय अघिसम्म किसलालका अन्य दुई नातिनी पनि यहाँ सघाउँथे । अहिले उनीहरूलाई आफ्नै व्यवहारले थिचेको छ । ‘दिदीहरू अहिले यहाँ आउन छाडेकाले रोजिना र मैले होटल चलाइरहेका छौं’, किरणले भने ।
नेवारी समृद्ध खाद्य संस्कृतिको महत्वपूर्ण परिकार हो- बारा । यसलाई नेपालको ‘ब्रान्डेड’ खानेकुरा भनिदिए हुन्छ । आफ्ना विशेष परिकारले सय वर्षभन्दा बढी समयदेखि ‘होनचा’ ग्राहकको सेवामा छ ।
काठमाडौं उपत्यकाका सबैभन्दा पुराना खाजाघरमध्ये एक होनचामा किरणका बाबु पूर्णले पनि आफ्नो सम्पूर्ण जिन्दगी खन्याए । अहिले बाउबाजेको बिँडो थामिरहेका किरणले होनचाको खास जन्ममिति आफूहरूलाई थाहा नभएको बताए । ‘पाटनका बूढापाका पसल एक सय १० वर्षभन्दा पुरानो भएको बताउँछन्’, उनले भने, ‘कोही-कोही त होनचालाई उपत्यकाकै पुरानो होटल पनि भन्छन् ।’
किसलाल सात वर्षको छँदा उनका आमाबा बिते । उनका दुई दाजुभाइ थिए । ललितपुरमा जग्गाजमिन त थियो तर पैसा कमाउने अर्को बाटो थिएन । नाङ्लोमा मालपुवा बेचेर घरको खर्चबर्च जोहो गर्थे उनी । एक दिन मालपुवा बेच्दै हिँड्ने क्रममा पाटनका एक बासिन्दाले उनलाई आफ्नो घरमा बोलाए र होटल खोल्न सुझाए । उनी त्यति बेला १२ वर्षका थिए । त्यसपछि उनले कृष्ण मन्दिरछेउ होटल खोले । किसलाललाई होनचा पनि भन्थे मान्छेहरू । उनको पसललाई होनचाको पसल भन्न थालियो ।
त्यति बेला यो होटलमा चटामरी, बारा, सेल, तरकारी पाक्थे । कोठा बहाल कम तिर्नुपथ्र्याे । कहिले त तिर्नु नै पर्दैनथ्यो । घरभेटीकहाँ हुने विभिन्न भोजमा किसलालले मासु उपलब्ध गराइदिन्थे । त्यसैलाई कोठाभाडा मानिन्थ्यो । होटलमा किसलाल र उनकी श्रीमती काम गर्थे । ‘हाम्रा बाजेबज्यै मिलेर यो पसल चलाइरहेका थिए’, किसलालकी नातिनी मेरिना व्यञ्जनकारले भनिन्, ‘मैले आमाबाले होटल चलाएको देखेँ । त्यति बेला यहाँ टेबल, कुर्सी थिएनन् । मान्छेहरू चकटी र सुकुलमा बसेर खाने गर्थे । पछि बाले यहाँ सिमेन्टका टेबल, कुर्सी बनाउनुभएको थियो।’
मेरिनाले बाजेको पालामा मान्छेहरूले १० पैसा तिरेपछि टन्न बारा खाएर जाने गरेको सुनेकी छन् । ‘मेरी आमा यहाँ १० पैसामा बारा पाइने बताउनुहुन्थ्यो’, उनले भनिन् । अहिले यहाँ एउटा सादा बाराको ४० रुपैयाँ पर्छ । अन्डा हाल्यो भने बाराको भाउ बढ्छ र पुग्छ ५० रुपैयाँ । होनचाले विदेशी पर्यटकलाई भने हरेक परिकारमा १० रुपैयाँ बढी लिने गरेको छ ।
२०४६ सालसम्म यहाँ दाउरा र स्टोभ बालेर खानेकुरा पकाइन्थ्यो । पूर्ण व्यञ्जनकार मास उसिनेर बारा बनाउँथे । खानेकुरा पकाउने मात्र हैन, पसलको हिसाबकिताब पनि उनी नै राख्ने गर्थे । ‘उहाँले जुवातासमा पैसा खर्च गर्ने, हिसाब किताब नदेखाउने गर्न थालेपछि मेरी आमा पुनमायाले पसलको सम्पूर्ण जिम्मेवारी लिनुभयो’, मेरिनाले भनिन् । २०७२ सालको भूकम्पपछि पुनमाया बिरामी परिन् । ७० वर्षीया उनी अहिले पसल आउँदिनन् ।
अहिले होनचामा व्यञ्जनकार परिवारबाहेक तीनजना कामदार छन् । दिउँसो लगभग १० बजेदेखि बेलुका ७ बजेसम्म यहाँ मान्छेको कल्याङमल्याङ गुञ्जिरहन्छ । बारा बनाउने जिम्मा धेरैजसो रोजिनाको हुन्छ । उनको हातको बारा मीठो हुन्छ भन्छन् ग्राहक । होनचाको बारामात्र होइन’ कचिला, आलु, छोइला, भुटन, सुकुटी, झोल मासुलगायत परिकार पनि ग्राहकले असाध्यै रुचाउने गरेका छन् । साहित्यकार कुमार नगरकोटी होनचाका पुराना ग्राहक हुन् । ‘यहाँका हरेक परिकार फेमस छन्’, उनले भने, ‘बारा र पिरो आलु होनचाका सिग्नेचर परिकार हुन् ।’
होटलमा दैनिक २० केजी जति मासु खपत हुने किरण बताउँछन् । ‘पाँच÷छ क्रेट अन्डा लाग्छ’, उनी भन्छन्, ‘दैनिक १५÷२० हजार रुपैयाँ आम्दानी हुन्छ ।’
राजा वीरेन्द्र बारा, आलु र छोइला खान यहाँ आउने गरेको मेरिनाले सुनेकी छन् । ‘हाम्रो बा राजा वीरेन्द्र यहाँ खाजा खान आउने गरेको सम्झनुहुन्थ्यो’, उनले भनिन्, ‘उहाँ आदर्श कन्या निकेतन स्कुलअगाडि गाडी रोकेर आउनुहुन्थ्यो रे । मैलेचाहिँ दरबारका कर्मचारी राजाले पठाएको भन्दै खाजा किन्न आएको देखेकी छु ।’
मेरिनाका अनुसार सन्त नेता कृष्णप्रसाद भट्टराई पनि होनचाका ग्राहक थिए । ‘अरू नेता पनि आउँथे’, उनले भनिन्, ‘अहिले कलाकारहरू थुप्रै आउँछन् । नीर शाह पहिले आउनुहुन्थ्यो, अहिले नआएको धेरै भयो । अहिलेचाहिँ आर्यन सिग्देल आइरहनुहुन्छ।’
होनचाको स्वादले विदेशीहरूलाई पनि तान्ने गरेको छ । आइतबार होनचामा भेटिएका ब्रिटिस नागरिक जोन डेभिस भन्दै थिए, ‘मलाई मेरा केही साथीले यहाँको मीठो खाजा खान सिफारिस गरेका थिए । त्यही भएर यहाँ आएको हुँ । यहाँका सबै परिकार मीठा छन् तर पिरोचाहिँ अलि बढी हुँदो रहेछ ।’ मेरिनाका अनुसार कहिलेकाहीँ विदेशीहरूले कृष्ण मन्दिर छेउ आएर बाटोमा हिँड्दै गरेका नेपालीलाई होनचा देखाइदिन आग्रह गर्छन् ।
दुई वर्षअघि नाकाबन्दीका बेला होनचा लगभग एक महिना बन्द भयो । ‘होनचाको सयवर्षे इतिहासमा पहिलोपटक यति लामो समय बन्द भएको हो’, किरणले सम्झिए । त्यसपछि भने उनीहरूले पसलको एक छेउमा चुलो बनाए र दाउरा किने । त्यसपछि होनचाले फेरि ग्राहकलाई स्वाद पस्किन थाल्यो।
किरणका अनुसार पहिले आगोमा पकाएको बारा सालको पातको टपरीमा दिने गरिन्थ्यो । हिजोआज होम डेलिभरीका लागि मात्र पात प्रयोग गरिन्छ । खाजाको तातोपन कम नहोस् भनेर पातमा दिने गरेको रोजिना बताउँछिन् । ‘मान्छे बारा खाइसकेर पात चाट्थे’, उनले भनिन्, ‘मासको पिठोबाट बनाइने बारा यसै पनि मीठो हुन्छ, त्यसमाथि अन्डा र किमाले यसलाई निकै स्वादिलो बनाउँछ।’
होनचाले आफ्नो ख्याति र खाजाको स्वादलाई अहिलेसम्म कायम राखेको किरण बताउँछन् । ‘यहाँको खानेकुराको स्वाद उस्तै छ’, उनले भने, ‘मान्छेहरू भन्ने गर्छन्, ‘तिमीहरूको पसल कहिल्यै परिवर्तन भएन।’
होनचाको न स्वादमा परिवर्तन भएको छ, न यहाँ लाग्ने भीडमा। ‘भीडभाडको त कुरै नगरम्’, रोजिनाले भनिन्, ‘बेलुकीपख त हामीलाई सास फेर्ने फुर्सद पनि हुँदैन । अर्डर लिँदालिँदै र खानेकुरा दिँदादिँदै रात पर्छ।’
‘होनचाको अन्तिम टेबल’
- कुमार नगरकोटी, लेखक
पहिले-पहिले खुबै जान्थेँ— होनचा । म बस्ने बालकुमारीबाट नजिकै पर्छ, त्यसैले १५÷२० वर्षपहिले दैनिकजसो पुग्थेँ । कुनाको अन्तिम टेबलमा लामो समय एक्लै टोलाएर बसिरहन्थेँ । त्यहाँ बसेर मानिसका गतिविधि हेर्न निकै मज्जा लाग्थ्यो । मानिसका कुरा सुन्दै दारु खान्थेँ । होटलवालालाई कुनै मतलब हुँदैनथ्यो, मेरोबारे । हरेक दिन होनचा जाँदा पनि त्यस होटलका मानिसले मलाई चिनेनन् । उनीहरूसँग मेरोे कहिल्यै कुनै सम्बन्ध नै भएन । अचेल दारु खान्नँ, त्यसैले त्यहाँ कमै जान्छु । त्यहाँको बारा, आलुको झोल मलाई मन पर्ने अन्य परिकार हुन् । त्यस्तै, पिरो आलुको झोल, किमा बारा, अन्डा बारा, कचिला दैनिकै खान्थेँ । होनचामा धेरै कवि÷लेखकलाई पनि लिएर गएको छु । गत साता लेखक बुद्धिसागर र म खाजा खान त्यहीँ पुगेका थियौं ।
कुनै समय यस्तो थियो— हरियो पर्दा लगाएको होटल देख्नेबित्तकै म छिर्थें । त्यही क्रममा होनचा पुगेको थिएँ । यहाँ म कसैको सिफारिसमा पुगेको होइन । मलाई कसैले यस होटलबारे कहिल्यै भनेको पनि थिएन । बस्, दारु खाने क्रममा भेटेँ । त्यसपछि त पाटनमा समय बिताउने ठाउँ नै होनचा भयो । तर, कहिल्यै होनचामा बसेर केही लेखिनँ । पात्रहरू मात्रै हेरिरहेँ । तर, मेरो किताब ‘अक्षरगन्ज’को सम्झौताको साक्षी हो— होनचा र त्यसअघिका पाटनका मन्दिरहरू ।