धरान सुत्दैन राति

धरान सुत्दैन राति

धराने युवाहरूको रात्रिजीवनप्रतिको मोह यहाँ आयोजित कन्सर्टहरूबाट सुरु भएको हो । राति अबेरसम्म चल्ने कन्सर्टका कारण युवाहरू रात्रिजीवनमा बानी परे । रातमा युवाहरूको संगीत मोहलाई ध्यानमा राखेर पछि रात्रिकालीन म्युजिक क्याफे र डिस्कोहरू धमाधम खुल्न थाले । लाहुरे समुदायले बनाएको धरान सहर दिउँसो जति व्यस्त देखिन्छ, रातमा त्योभन्दा बढी बिन्दास हुन्छ । धरानका म्युजिकल क्याफे, रेस्टुरेन्ट तथा रकबारहरूमा धराने युवायुवतीहरू कम्मर मर्काइमर्काइ नाचिरहेका हुन्छन् ।

नाचमा रुचि नहुनेहरू पनि अरूको नाच हेर्दै मदिराको चुस्की लिइरहेका हुन्छन् । यो धरानको दिनचर्या हो । यस्तो कुनै रात छैन, धरान नझुमेको होस्, न नाचेको होस् । यहाँका आधा दर्जन बढी क्याफे, होटेल तथा डिस्को क्लबले युवायुवतीलाई मनोरञ्जन दिइरहेका छन् । प्रहरी प्रशासनको सुरक्षा सीमाबाहेक त्यस्तो कुनै तगारो छैन, जसले धरानलाई राति नाच्नबाट रोकोस् ।

यस्ता डिस्को र नाचघरहरू धरान नजिकैको छिमेकी सहर र पूर्वको व्यापारिक केन्द्र बन्दै गरेको इटहरीमा पनि खुलेका थिए । तर पछि विकृति बढाएको भन्दै विरोध भएपछि बन्द भए । त्यसपछि इटहरीमा तीन वर्ष जति मात्र भयो, रात्रिकालीन म्युजिकल क्याफे सुरु भएको । धरानको सिको गर्दै इटहरीले पनि राति म्युजिक र मदिरामा रमाउन सिकेको हो । यस्ता क्याफेहरू साँझ ७ बजेपछि तातिन्छन् र राति १०-११ बजेसम्म गर्माउँछन्, संगीत, मदिरा र धूमपानको साथमा । यस्ता रेस्टुरेन्ट, डिस्कोहरूले मनोरञ्जनमात्र दिएको छैन । रोजगारीको सिर्जना गरेको छ भने सहरलाई सम्साँझै मृत हुनबाट जोगाएको छ ।

malingo

प्रहरीले बन्द नगर्न भन्ने हो भने रातैभर युवाहरू संगीतमा झुम्थे होलान् । तर, सुरक्षाको कारण देखाएर प्रहरीले गर्ने हस्तक्षेप युवाहरूको मनोरञ्जनको बाधक बनेको छ । ‘रातिसम्म चल्ने हो भने अझै धेरै आम्दानी हुन्थ्यो होला र अझै धेरै युवाहरूलाई रोजगारी दिन सकिन्थ्यो होला,’ इटहरीस्थित कुण्डलिनी रेस्टुरेन्टका सञ्चालक मनोज लिम्बू भन्छन्, ‘तर पिक आवरमा एक्कासि बन्द गरेर गेस्टलाई जान भन्नुपर्छ ।’

लाहुरे समुदायले बनाएको धरान सहर दिउँसो जति व्यस्त देखिन्छ, रातमा त्योभन्दा बढी बिन्दास हुन्छ । धरानका म्युजिकल क्याफे, रेस्टुरेन्ट तथा रकबारहरूमा धराने युवायुवतीहरू कम्मर मर्काइमर्काइ नाचिरहेका हुन्छन् ।

दिनभरिको कामबाट थाकेका र समय नपाएकाहरू परिवार र साथीभाइसँग रमाउने उपयुक्त ठाउँ र समयको खोजीमा हुन्छन् । रात्रिकालीन म्युजिकल क्याफेहरूले त्यस्तो आवश्यकताको परिपूर्ति गरिदिएको छ । इटहरीका प्रवीण घिमिरेका अनुसार सामान्य होटेलहरूमा गएर खानुभन्दा यस्ता होटेलहरूमा संगीतको रमाइलोसमेत लिन सकिन्छ ।

रात्रिकालीन म्युजिकमा मस्ती गर्ने ट्रेन्ड इटहरीका युवाभन्दा धरानका युवाहरूमा धेरै छ । त्यहाँ रात्रिकालीन संस्कार नै बसेको छ । एउटा समूहका लागि रात्रि मस्ती साताको एक दिन भए पनि साथीहरू भेट्ने र तनाव भुलाउने माध्यम हो । त्यसैले त यहाँका डिस्को र म्युजिकल क्याफेमा बीपी प्रतिष्ठानमा अध्ययनरत् चिकित्सा क्षेत्रका विद्यार्थीदेखि व्यवसायी, कलाकार, सरकारी जागिरेहरू पुग्छन् । कोही साथीहरूसँग त कोही परिवारसँग पुग्छन् । ‘अलि खुलेर मस्ती गर्नु छ भने साथीहरूसँग गयो, नभए कहिलेकाहीँ परिवारलाई समय दिउँ न त भन्दा परिवारसँग,’ धरानका रोहित राई भन्छन्, ‘दुवैसँग जाँदाको बेग्लाबेग्लै मजा हुन्छ ।’

kundalini-4

तर छनोट गरिने ठाउँ भने कोसँग जान लागिएको छ, त्यसमा भर पर्छ । धरानमा कतिपय रेस्टुरेन्टहरू परिवारसँग बसेर संगीत सुन्दै, नाच्दै, खाना खानका लागि उपयुक्त छन् भने कतिपय ठाउँमा साथीभाइसँग जानु उपयुक्त हुन्छ ।

धरानको मालिंगो रक बार खानासँगै संगीत पस्किने रेस्टुरेन्ट हो । यहाँ पारिवारिक वातावरणमा सांगीतिक कार्यक्रम हुन्छ । रोजन रणपहेँली र राजदीप राईले ७० लाखको लगानीमा होटेल सञ्चालनमा ल्याएको मालिंगोमा दैनिक सांगीतिक प्रस्तुति हुन्छ । प्रस्तुति सुन्दै खान पिउनको लागि प्राय: परिवारहरू आउँछन् । यहाँ आएर बर्थ डे, बिहे भोजहरू पनि गर्छन् ।

डिजेइङको मजा

उता धरानकै फ्युजन क्लब भने डान्सको लागि हो । यहाँ खानपानभन्दा पहिलो प्राथमिकता संगीत र मस्तीलाई दिइन्छ । डिजे ललित राईले चलाएको यो क्लबमा डिजेइङको मजा लिन सकिन्छ । विगत १२ वर्षदेखि डिजेइङ गरिरहेका राईले पूर्वमा पहिलो पटक डिजेइङ सुरु गरेका थिए । यो क्लबमा दुई सय जनासम्म एकै पटक नाच्न सक्छन् । परिवारभन्दा पनि साथीभाइहरूसँग ठूलो आवाजमा गीत बजाएर नाच्न चाहने युवायुवतीहरू यहाँ आउने गरेका छन्।

धरानमा परिवार बसेर खानपान गर्ने म्युजिकल रेस्टुरेन्टहरूमा भिन्टेज लाउंग एन्ड बार पनि पर्छ । खुला बगैंचामा बसेर पनि संगीतको मजा लिन सकिन्छ । युवायुवतीका साथै परिवारसमेत रमाउन सक्ने यो रेस्टुरेन्टको नौलो डिजाइन, लाइट तथा साउन्डले मानिसलाई आकर्षित गर्ने सञ्चालक एस डब्लू लामिछानेले बताउँछन् ।

यता इटहरीमा पनि लाकुना क्याफे, होटेल दरबार इन्, कुण्डलिनी छन् । यी तीन होटेलमा मात्र झन्डै दुई करोडको लगानी भइसकेको छ । साँझको समयमा परिवार र साथीभाइ बसेर खानपानसँगै संगीतको मजा लिन यी होटेलहरूले इटहरीलाई बानी पार्दैछन् ।

नाच्दै रमाउन चाहने युवाहरू विभिन्न वर्ग, समुदायबाट छन् । कोही वर्षौंदेखि धाइरहेका छन् भने कोही भर्खरै आउन सुरु गरेकाहरू छन् । रात्रिकालीन संगीतको रन्को चढेपछि हत्तपत्त उत्रिन गाह्रो हुन्छ । त्यसैले धरानका ललित लिम्बु काठमाडौं पुगेका बेलामा पनि दरबारमार्गका रोदी घरहरू पुग्छन् । ‘त्यहाँ त झन् खुलेर रमाइलो गर्न पाइन्छ,’ उनको अनुभव छ, ‘रातमा रमाइलो गर्न पूर्वमा धरानमा अलि सजिलो, धरानभन्दा काठमाडौ र पोखरा रमाइलो ।’

धराने समाज यस्ता कुरामा विस्तारै अभ्यस्त हुँदैछ । डीजे ललितमाथि नै युवाहरू बिगारेको आरोप आउँथ्यो पहिलापहिला । ‘पहिलेपहिले मानिसले नबुझ्दा नराम्रो भन्थे,’ उनी सम्झन्छन्, ‘अहिले तिनै परिवारका केटाकेटीहरू आउँछन् र नाचेर जान्छन् ।’ गर्मीको समयमा छोटा लुगा लगाएका धराने युवायुवतीहरू कम्मर मर्काउँदै नाचेको देख्ने ग्रामीण परिवेशका मानिसको लागि छाडा र पश्चिमा संस्कार हुन सक्छ । तर ती युवाहरूको लागि यो व्यक्तिगत स्वतन्त्रताको अभ्यास हो । ‘यो ठाउँमा खुलेर रमाउने हो, यसलाई मानिस बिग्रेको भन्न मिल्दैन,’ डिस्कोमा नाच्न पुगेकी कृष्टिना याख्खा भन्छिन्, ‘अरूले के भन्छ भन्ने हो भने त साडी, चुरा लगाएर घरमै बसे भइहाल्यो ।’ उनले चुरोट र मदिरासमेत लिने गरेकी छिन् । तर आफू अम्मली नभएको र धेरै नखानेसमेत सुनाउँछिन् । तर, उनका धेरै साथीहरू भने मातेर बिजोग देखाउँछन् । यस्तो बेलामा रेस्टुरेन्ट सञ्चालकहरूले नै गाडीमा राखेर घर पु-याइदिने गरेका छन् ।

रात्रिकालीन म्युजिकल क्याफे र रेस्टुरेन्टभन्दा पनि डिजे पार्टीमा खाँटी युवाहरूको आकर्षण छ । यस्तो पार्टीमा चिच्याउन, संगीतको तालमा खुट्टा, हात र कम्मर चलाउँदै नाच्न पाइन्छ ।

धराने युवाहरू रात्रिकालीन मनोरञ्जनमा पनि नयाँनयाँ तरिका खोज्न थालेका छन् । कहिले पुल पार्टी त कहिले मास्क पार्टी । फरकफरक प्रयोग गरिरहेका छन् । म्युजिक त्यही हो, डान्स त्यही हो, तर मास्क लगाएर नाच्नुपर्ने । थोरै फरक प्रयोगमै युवाहरू उत्साहित भइदिन्छन् र रमाउँछन् ।

कोही धूमपान गर्छन्, कोही रक्सी पिउँछन् । स्वच्छन्दताको उपयोग गरिरहेका हुन्छन् युवाहरू । पश्चिमी समाजको नक्कल गर्दै युवाहरू खुल्न चाहन्छन् । तर सुरक्षा प्रमुख बाधक बनिदिन्छ । प्रहरीहरू सुरक्षा चुनौती खेप्न तयार छैनन् । त्यसैले १० बजे नै यस्ता होटेलहरू बन्द भइदियोस् भन्ने चाहन्छन् ।

होटेल व्यवसायी संघ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठ राति १२-१ बजेसम्म होटेल चलाउन माग गर्छन् । त्यसले आगन्तुकहरूलाई पनि सजिलो हुने उनको भनाइ छ । ‘साँझमै चकमन्न भयो भने त कसरी पर्यटन विकास हुन्छ ? ’ उनी सोध्छन् ।

धरानका मालिंगो रक बारका सञ्चालक राजदीप राईका अनुसार रात्रिकालीन रेस्टुरेन्टलाई हेर्ने प्रहरीको नजर अहिलेसम्म राम्रो हुन सकेको छैन । ‘सीसी क्यामेरा छ, सेक्युरेटीको व्यवस्था गरेका छौं, छेउमै प्रहरी कार्यालय पनि छ,’ उनी भन्छन्, ‘तर पनि प्रहरीले खेदो गर्छ ।’

राति कति बजेसम्म होटेलहरू चल्न दिने भन्ने निर्णय डीएसपीले निक्र्योल गर्छन् । त्यसैले नयाँ आउने डीएसपीपिच्छे नियम फरक हुन्छ । ‘कुनै डीएसपीले ९ त कसैले ११ बजे बन्द गराउने उर्दी गर्छन्,’ उनी भन्छन्, ‘ग्राहकले खाइरहेका हुन्छन्, कति त हुलमुलमा पैसै नतिरी हिँड्छन् ।’

यस्तै भिन्टेज लाउंग एन्ड बारका एसडब्लू लामिछाने पनि प्रहरीको कडाइका कारण निराश छन् । ‘ऋण लिएर व्यवसाय गरेका हुन्छौं,’ उनी भन्छन्, ‘कम्तीमा १२ बजेसम्म त चलाउन पाइयोस् ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.