'आफ्नै सिनेमा हेरेर धुरुधुरु रुन्छु'
करिव आठ वर्षअगाडि सिनेमा ‘सायना’ बाट नेपाली सिनेमा क्षेत्रमा पाइला राखेकी नायिका खुश्बु खड्काको नयाँ सिनेमा ‘दीपज्योति’ मंसिर २२ बाट देशभरका सिनेमा घरहरूमा प्रदर्शन भइरहेका छन् । ‘भ्रम’, ‘उहिले बाजेको पालामा’ लगायतका सिनेमामा अभिनय गरिसकेकी नायिकाको अर्को सिनेमा ‘जुनी’ पनि रिलिजको तयारीमा छ । कृष्ण खनाल र नारायण मैनालीले निर्देशन गरेको सिनेमा ‘दीपज्योति’सँग केन्द्रित रहेर नायिका खुश्बु खड्कासँग अन्नपूर्णकर्मी रामकला खड्काले गरेको शैली वार्ता।
सिनेमामा काम गर्ने संयोग कसरी जु-यो?
यस सिनेमामा काम गर्न मलाई पहिलो प्रस्ताव सिनेमा विकास बोर्डका उत्तम केसी दाइले राख्नुभएको थियो । मैले सिनेमाको स्क्रिप्ट हेरेँ । त्यो राम्रो लागेपछि काम गर्ने निर्णय गरेँ ।
‘दीपज्योति’मा तपाईंको भूमिका कस्तो छ ?
यो सिनेमा मनोरञ्जनको एउटा ‘फुल प्याकेज’ हो । मेरो भूमिका आफ्नो माया पाउन जुनसुकै हदसम्म पनि जान सक्ने युवतीको छ । यसले एकतर्फी माया गर्ने प्रेमिकाको ‘नेगेटिभ’ रोल जस्तो छ ।
हाल बनिरहेका सिनेमाभन्दा यो कुन हिसाबमा भिन्न छ ?
गरिबी र परिस्थितिका कारण बाल्यकालमा सडकमा पुग्न बाध्य बालबालिका हुर्किएपछि आफ्नै दाजुबहिनीबीच पनि विवाह हुन सक्ने अवस्था आउने यथार्थलाई सिनेमामा देखाइएको छ । मूल कुरा सिनेमाको कथा भिन्न छ ।
दर्शकबाट कस्ता प्रतिक्रिया पाउनुभएको छ ?
निकै सकारात्मक प्रतिक्रिया पाएकी छु । आफ्नै दाजुसँग विवाह हुन लाग्दाको सस्पेन्सलाई दर्शकले निकै मन पराएका छन् । सिनेमाको गीत, संगीतलाई पनि दर्शकले रुचाएको पाइयो ।
केही नयाँ र केही अग्रज कलाकारसँग काम गर्दाको अनुभव कस्तो रह्यो ?
पारिवारिक वातावरणमा मैले काम गर्ने अवसर पाएँ । सबै कलाकार निकै रमाइला हुनुहुन्थ्यो । नीर शाह, सरोज खनाललगायतका अग्रज कलाकारसँग काम गर्दा कलाकारले पालना गर्नुपर्ने अनुशासन, कामप्रतिको इमानदारिता, लगाव र यस क्षेत्रमा आफू कसरी अगाडि बढ्नुपर्छ भन्ने पनि मैले सिकेँ ।
नीर शाहले राम्रोसँग काम गर्नु है छोरी भनेर सम्झाउनुहुन्थ्यो ।
देशभर चुनावी माहोल भएका बेला सिनेमा रिलिज भएको छ । सिनेमा चल्ने विषयमा कत्तिको आशावादी हुनुहुन्छ ?
त्यो त हेर्नै बाँकी छ । थोरै समयमै सिनेमा रिलिजको मिति तय भएकाले चाहेजसो गरी यसको प्रचारप्रसार गर्न सकिएन । तर, अहिलेसम्मको दर्शकको प्रतिक्रिया हेर्दा राम्रै चल्छ भन्ने आशा गरेकी छु ।
सिनेमा ‘सायना’देखि ‘दीपज्योति’सम्म आइपुग्दाको सिने यात्रा कस्तो रह्यो ?
सिनेमा खेल्दा सहज हुन्छ भन्ने बुझाइ गलत हो भन्ने मैले आजसम्मको यात्रामा बुझेकी छु । नेपाली सिनेमामा सकारात्मक सुधार भई मार्केट लिन थालेको छ । दर्शकले पनि नेपाली सिनेमालाई माया गर्न थालेकाले कलाकारले पनि व्यस्त छन् ।
पारिश्रमिकमा सन्तुष्ट हुनुहुन्छ ?
नेपालमा सिनेमा क्षेत्रको मार्केट निकै सानो छ । त्यसैले हामीले यति उति भनेर बार्गेनिङ गर्ने ठाउँ छैन । आफूले लिने पारि श्रमिकमा सन्तुष्ट छु । यद्यपि यस क्षेत्रबाट भएको कमाइले मात्रै पुग्दैन भन्ने मेरो व्यक्तिगत धारणा हो । त्यसैले हामी सबैले केही न केही अन्य काम गर्नै पर्छ । मैले पनि विगत केही वर्षदेखि नै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएकी छु ।
नेपाली सिनेमा क्षेत्रको राम्रो र नराम्रो पक्ष के के हुन् जस्तो लाग्छ ?
अहिले सबैभन्दा महत्वपूर्ण कुरा नेपाली सिनेमाले पनि दर्शकलाई सन्तुष्टि दिन सफल भएको छ । सिनेमाको स्तरमा निकै वृद्धि भएको छ । यी राम्रा पक्ष हुन् । कुनै पनि व्यक्तिको अरू कसैसँग अफेयर हुँदा पनि चर्चा र अफेयर नहुँदा पनि नानाथरी चर्चा हुन्छ । यी नराम्रा पक्ष हुन् ।
सिनेमा क्षेत्रमा आफूले गरेको कामको कत्तिको मूल्यांकन भएजस्तो लाग्छ ?
सिनेमा क्षेत्रमा लागेको लामो समय भए पनि अझै मैले संघर्ष नै गर्दैछु भन्ने लाग्छ । कुनै पनि कुरा सिकेर कहिल्यै सकिन्न । त्यसैले मैले पनि यो क्षेत्रमा भर्खरै केही सिक्दैछु भन्ने अनुभव गरिरहेकी छु ।
कलाकार हुनुको उपलब्धि ?
यस क्षेत्रमा लागेपछि दामसँगै नाम पनि धेरै कमाइन्छ । तर कलाकारले अन्त्यमा कमाउने भनेको एउटा मलामीमात्रै हो भन्ने मलाई लाग्छ । फोन कल, एसएमएस वा अन्य कुनै माध्यमबाट दु:ख दिने फ्यान पनि छन् कि ?
अहिलेसम्म त्यस्तो खालको अनैतिक म्यासेज वा फोन कल मैले पाएकी छैन । पाएमा पक्कै सेयर गर्नेछु ।
फुर्सदमा के गर्न रुचाउनुहुन्छ ?
मलाई आफ्नो परिवारसँग समय बिताउन मन लाग्छ । कहिलेकाहीँ नेपाली खाना बनाउन पनि रहर लाग्छ । त्यसैगरी फुर्सद पाए किताब पढ्नु पनि मेरो रुचिको विषय हो ।
हालै पढ्नुभएको कुनै मन परेको पुस्तक ?
मैले अहिले महको मह पढेर सकाउनै लागेँ । यसमा जीवन के हो र साथीसँगको सम्बन्ध के हो भन्ने खुलाइएको छ । यस्तो जीवनको भोगाइ हामीले त भोग्नै बाँकी छ । मानिसको जीवनमा अगाडि बढ्दै जाँदा कस्ता उतारचढावहरू आउँछन् भन्ने पनि पुस्तकमा प्रष्ट्याइएको हुँदा मलाई यो किताब निकै मार्मिक लाग्यो ।
तपाईंलाई सबैभन्दा बढी मनपर्ने कलाकार र सिनेमा ?
पुराना पुस्तामा मलाई राजेश हमाल र गौरी मल्ल मनपर्छ भने नयाँमा रेखा थापा र आर्यन सिग्देलको अभिनय राम्रो लाग्छ । मैले हेरेको सिनेमामध्ये ‘हामी तीन भाइ’ र ‘भाग्य’ असाध्यै मन परेको छ । ती सिनेमा हेर्दा म धेरै रोएकी थिएँ ।
त्यसो भए सिनेमा हेर्दा तपाईंको रुने बानी छ ?
म अरूको सिनेमा हेर्दामात्रै होइन, आफैंले अभिनय गरेको सिनेमा हेर्दा पनि धुरुधुरु रुन्छु । मलाई कुनै पनि इमोसनले चाँडै नै छुन्छ । यो मेरो कमजोरी पनि हो । तर आमजीवनमा सानातिना समस्याले मलाई छुँदैन ।