ह्याप्पी बर्थडे दिलीप कुमार
बलिउडका ‘भेट्रान’ अभिनेता दिलीप कुमार गत सोमबारदेखि ९५ वर्षमा लागे । बलिउडका यी महान् हस्ती निमोनियाले थलिएका कारण जन्मोत्सवमा कुनै पार्टी दिएनन् । तर, यस अवसरमा उनकी पत्नी सायरा बानुले उनलाई मनपर्ने परिकार बिर्यानी खुवाउन भने छुटाइनन् ।
एक समय बलिउड धानेका दिलीपलाई साधारण तर, राम्रो पोसाक मनपर्छ । त्यसैले उनकी पत्नीले यस वर्ष पनि उनलाई कटनको सर्ट र ट्राउजर किनिदिएकी छिन् । उनलाई यहीसँग मिल्दोजुल्दो जुत्ता र मोजा पनि ल्याइदिइन् । दिलीपसँग विश्वभरबाट ल्याइएका जुत्ताको ठूलो ‘कलेक्सन’समेत छ।
उनले आफ्नो जन्मदिनको अवसरमा परिवारका सदस्य र नजिकका केही नातेदारबीच केक काटेका थिए । केक काटिसकेपछि उनका पारिवारिक मित्र फैजल फारुकीले आफ्नो ट्विटरमा यस्तो लेखेका थिए, ‘सानो जमघटमा साहबले केट काट्नुभयो, सञ्चो नभएकाले जन्मदिनमा बालिएका बत्तीले पनि उहाँलाई झर्को लाग्यो होला, अल्लाहले उहाँलाई स्वस्थ राखुन् ।’
अभिनयका पर्यायवाचीका रूपमा चिनिने दिलीपले हरेक फिल्ममा आफ्नो भूमिकालाई जीवन्त तुल्याए । सन् १९४४ मा फिल्म ‘ज्वारभाटा’बाट करियर सुरु गरेका दिलीपले आफ्ना सुरुवाती दिनमा निराश प्रेमीको छवि प्रस्तुत गरे । यसैका कारण उनलाई ‘ट्र्याजिडी किङ’ पनि भन्ने गरिन्थ्यो । उनलाई फिल्म मिलनले दर्शकमाझ निकै लोकप्रिय बनायो । उक्त फिल्म रवीन्द्रनाथ टेगोरको कथा ‘नौका डुबी’मा आधारित थियो । नीतिन बोसको निर्देशनमा बनेको सो फिल्ममा दिलीपले आफ्नो विशिष्ट अभिनयशैली पस्केका थिए ।
फिल्ममा प्राय: पीडा भरिएका पात्रको भूमिकामा अभिनय गर्दागर्दै उनको मस्तिष्कमा पनि पीडा गाडिइसकेको थियो । यसकै कारण एक समय उनी तनावमा बाँचे । निराशावादी मनस्थितिबाट बाहिर निस्कन लन्डनका एक मनोचिकित्सकलाई उनले सम्पर्क गरेका थिए । त्यतिबेला ती मनोचिकित्सकले उनलाई ट्र्याजिडी फिल्ममा मात्रै नभई कमेडी फिल्म पनि खेल्न सल्लाह दिए ।
‘मेला’, ‘सहिद’, ‘अन्दाज’, ‘जोगन’, ‘दिदार’, ‘दाग’, ‘सिकस्त’, ‘देवदास’ उनका ट्र्याजिक फिल्म हुन् । यद्यपि डाक्टरको सुझावपछि भने उनले ‘आजाद’, ‘कोहिनुर’, ‘आन’ , ‘नया दौर’लगायतका फिल्ममा एक चञ्चले हंसमुख प्रेमिको भूमिकामा देखा परे । ‘नयाँ दौर’ को गीत ‘उडे जब जब जुल्फें तेरी’मा तन्नेरी दिलीप कुमारको वास्तविक स्वभाव चित्रण गरिएको थियो । यही देखेर धेरै दर्शक उनीप्रति नतमस्तक भएका थिए ।
‘दाग’, ‘आन’, ‘देवदास’, ‘आजाद’, ‘मुगल ए आजम’ र ‘कोहिनुर’ जस्ता विपरीत विषयवस्तुका उनका फिल्महरू अगाडि नै रिलिज भइसकेका थिए । यी फिल्म हेर्ने दर्शकले एकातर्फ पीडा अनुभूति गर्थे भने अर्कोतर्फ मनोरञ्जन पनि लिन्थे । फिल्ममा उनको यिनै नयाँनयाँ रूप देखेर दर्शक दंग पर्थे । उनले युवाअवस्थामा फिल्मको प्राणाधारका रूपमा काम गरे भने जीवनको दोस्रो प्रहरमा प्रौढ भूमिकामा देखिए । उनका पुस्ताका सबै अभिनेत्रीहरू उनीसँग काम गर्न लालायित हुन्थे । उनी अभिनयका कुनै पनि विद्यार्थीका लागि एक प्रेरक र आदर्श व्यक्ति थिए ।
फिल्म ‘राम और श्याम’मा उनले दोहोरो भूमिकामा अभिनय गरे । सन् १९७६ मा बनेको ‘बैराग’मा तेहेरो भूमिकामा समेत आफ्नो प्रतिभा देखाए । ‘बैराग’ पछि उनले करिव पाँच वर्ष अवकाश लिए । पाँच वर्षपछि मनोज कुमारको ‘क्रान्ति’बाट कमब्याक भए ।
भारत-पाक विभाजनको वर्ष दिलीप र नूरजहाँको फिल्म ‘जुगनु’ प्रदर्शन भयो । सन् १९४८ मा दिलीपका करिब आधा दर्जन फिल्म रिलिज भए जसमध्ये ‘नदिया के पार’, ‘सहिद’ र ‘शवनम’लाई दर्शकले औधी रुचाए । ‘नदिया के पार’ एउटा गाउँको दु:खान्त प्रेमकथामा आधारित थियो भने ‘सहिद’ स्वतन्त्रता आन्दोलनको पृष्ठभूमिमा बनेको फिल्म थियो । उनको अर्को फिल्म ‘मेला’मा आफ्नी प्रेमीकालाई गुमाउनु पर्दाको पीडा प्रस्तुत गरिएको थियो।
सन् १९४९ मा दिलीप फिल्म ‘अन्दाज’मा एक असफल प्रेमीका रूपमा देखिए । फिल्ममा राज कपुरले उनकै समानान्तर भूमिकामा अभिनय गरेका थिए । बलिउडमा ‘ट्रेन्ड सेटर’को रूपमा रहेको उक्त फिल्ममा मुकेशले गाएका गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन् । दिलीपले पाएका ट्र्याजिडी किङको उपाधिलाई यही फिल्मले अन्तिम मोहर लगाइदिएको थियो ।
सन् १९५० मा केदार शर्मा निर्देशक फिल्म ‘जोगन’मा दिलीपले भावना प्रधानसँग अभिनय गरेका थिए । उतिबेलाको आर्ट फिल्ममा गनिएको ‘जोगन’ले रजत महोत्सवसमेत मनाएको थियो । यसलाई दिलीप नरगिस जोडीको सर्व श्रेष्ठ फिल्म मानिन्छ । यसमा पनि प्रेम र त्यागकै विषयवस्तु समेटिएको छ।
सन् १९५१ मा फिल्म ‘दिदार’ र ‘हलचल’ आयो । ‘दिदार’मा दिलीपका साथ अशोक कुमार र नरगिस थिए । आसिफले बनाएको ‘हलचल’का कारण दिलीप र असीमबीच मित्रता गाँसियो । यही मित्रताको उपज बलिउड फिल्म उद्योगमा ‘मुगले आजम’जस्तो कालजयी कृति दर्शकमाझ आयो । यसको एक वर्षपछि दिलीपले पहिलो पटक मधुबालासँग काम गर्ने मौका पाए । यही वर्ष आएको दिलीपको फिल्म ‘दाग’ले उनलाई सर्व श्रेष्ठ अभिनेता विधामा पहिलो फिल्म फेयर अवार्ड दिलायो । उनको अर्को चलचित्र ‘आन’ भारतको पहिलो सोह्र एमएममा सुट गरिएको रंगीन फिल्म थियो । सो फिल्मलाई लन्डनमा समेत प्रदर्शन गरिएको थियो । नौसादको संगीत र मोहम्मद रफीको गीत पनि यस फिल्मको अर्को विशेषता बन्यो ।
चार्लोट ब्रोन्टको उपन्यासमा आधारित ‘संगदिल’ दिलीप-मधुबालाको रोमान्टिक फिल्म थियो । त्यसैगरी ‘फुटपाथ’मा मीना कुमारीले पहिलोपटक दिलीपका साथ काम गरेकी थिइन् । दिलीपको मेहबुब खानका साथ तेस्रो अर्थात् अन्तिम फिल्म ‘अमर’ हो । सन् १९५४ मा बनेको यस फिल्मसँगै दिलीप कुमारको अभिनय यात्राको पहिलो प्रहर समाप्त भएको थियो ।
अभिनय यात्राको दोस्रो अध्यायमा दिलीपको भेट विमल रायसँग भयो । विमल रायको ‘देवदास’ शरतचन्द्र चटोपाध्यायको उपन्यासको सर्व श्रेष्ठ फिल्मी रूपान्तरण मानिन्छ । ‘नयाँ दौर’, ‘मधुमती’, ‘यहुदी’, ‘पैगाम’, ‘मुगल ए आजम’, ‘कोहिनुर’, ‘गंगाजमुना’लगायत फिल्म दिलीप कुमारको अभिनय यात्राको उत्कर्षकालका फिल्महरू मानिन्छ । ‘मुगल ए आजम’लाई दिलीपका फिल्ममध्ये सबैभन्दा राम्रो फिल्म मानिन्छ ।
‘गंगाजमुना’को निर्माण र लेखन स्वयं दिलीपले गरेका थिए । यो चलचित्रलाई पास गर्न सेन्सर बोर्डले आपत्ति जनाएपछि पण्डित जवाहरलाल नेहरूलाई समेत गुहारे । सेन्सर बोर्डले शेक्सपियरको ‘हेमलेट’मा पनि खोट देख्ने नेहरूले बताएका थिए । दिलीपको यही हक्की स्वभाव र संवाद बोल्ने तरिका दर्शकले मन पराए ।
दिलीपलाई उनका फिल्म हेर्ने महिला दर्शकले पनि असाध्यै मन पराउँथे । यति मात्रै नभई उनको वास्तविक जीवनमा पनि धेरै नायिकासँग प्रेमचर्चा चलेको थियो । दिलीपको पहिलो प्रेम कामिनी कौशल हुन् । मधुबालासँगको उनको प्रेमसम्बन्ध पनि निकै दर्दनाक रह्यो । उनीहरू एकअर्कालाई असाध्यै माया गर्थे र विवाह गर्नसमेत तयार भइसकेका थिए ।
आफूसँगै ६ वटा फिल्ममा काम गरेकी वैजन्तीमालासँगको उनको प्रेमको चर्चा पनि त्यतिबेला खुब चलेको थियो । साइरा बानुसँगको उनको प्रेम सन् १९६६ मा विवाहमै परिणत भयो । सन् १९८० मा उनी पुन एक पटक हैदराबादकी आस्मासँग प्रेमसम्बन्धमा मात्रै रहेनन् विवाह पनि गरे । तर आस्माले आफ्नो पूर्व पतिसँग मिलेर दिलीपलाई धोका दिएको थाहा पाएपछि यो सम्बन्ध टुटेको थियो । (एजेन्सीको सहयोगमा)