प्रदेश पूर्वाधार व्यवस्थापनमा अलमल

प्रदेश पूर्वाधार व्यवस्थापनमा अलमल

तुलसीपुर : सरकारले निर्वाचन अघि नै तोक्नु पर्ने प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुखको निर्णय गर्न नसक्दा राजधानीका लागि आवश्यक पूर्वाधार व्यवस्थापनमा अलमल देखिएको छ।

प्रदेश नं ५ को मुकाम दाङ तोकिने सिफारिस हुनु र उम्मेदवारका चुनावी नारामा प्राथामिकता पाउनुले जिल्लामा सामान्य मुकामको तयारी गरेको भए पनि राजधानीको लागि पूर्णरूपमा पूर्वाधार र संरचना व्यवस्थापनले गति लिन सकेको छैन। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै तातिएको राजधानी र प्रदेश प्रमुखकोे बहस निष्कर्षमा अहिलेसम्म पुग्न सकेको छैन।

प्रदेश नं ५ प्रदेशको मुख्यालय दाङमा स्थापना हुने राजनीतिक दलको नेतृत्वले एजेण्डा बनाए पनि आधिकारिक रुपमा सरकारले प्रदेश राजधानी पूर्वाधारका लागि सर्कुलर नगर्दा राजधानीका लागि आवश्यक पूर्वाधारहरूको व्यवस्थापन गर्ने कि नगर्ने भन्ने विषयमा जिल्लाका सरकारी संयन्त्र अलमलमा परेका छन्।

दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले राजधानीको पूर्वाधार व्यवस्थापनका लागि कुनै पनि निर्देशन जिल्लामा नआएको बताए। उनले सरकारबाट त्यस्तो निर्देशन नआए पनि संरचनाको खोजी भने गरिरहेका जानकारी दिए।

‘दाङलाई राजधानी बनाइए व्यवस्थापनको सामान्य तयारी गरेका छौं', प्रजिअ श्रेष्ठले भने, ‘यो जिल्लाको आन्तरिक तयारी मात्रै हो।' उनले जिल्लामा रहेका सरकारी कार्यालयका संरचना र केही निजी संरचनालाई समेत प्रयोग गर्र्ने गरी पूर्वाधार खोजी गरिएको बताए।

‘अहिलेकै अवस्थामा हामी पनि अलमलमा छौं', उनले भने, ‘यही अवस्थामा सरकारले तोकी हाले पनि जिल्लाले पूर्वाधार व्यस्थापन गर्न सक्छ।'

उनले यसको तयारीका लागि प्राविधिक खटाएर पूर्वाधार अध्ययन गरिरहेको जानकारी दिए। प्रजिअ श्रेष्ठले दाङमा पूर्वाधार र खुला जग्गा प्रशस्त भएकाले राजधानीका लागि कुनै समस्या नहुने बताए। सरकारले प्रदेश मुकाम तोक्न नसक्दा प्रदेशको सम्भावित मुख्यालयमा पूर्वाधार व्यवस्थापनमा अलमल देखिएको छ।

‘अस्थाई मुकाम तोकेर निर्देशन आए हामी एक दिनमै संरचनाको व्यवस्थापन गर्न सक्छौं', उनले भने। जिल्लाका अगुवाले भने राजधानीका लागि दाङ उपयुक्त भएको भन्दै सरकारले तत्काल मुकाम तोकनु पर्ने बताएका छन।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले ५ नं प्रदेशको राजधानी दाङमा नै हुनुपर्ने भन्दै निजी क्षेत्रबाट पनि पूर्वाधार र भौतिक संरचना व्यवस्थापनमा भूमिका खेलेको बताए। उनले जिल्लामा रहेका निजी संरचनालाई पनि आवश्यक परेर उपलब्ध गराउन सकिने बताए।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत विरुले सबै हिसाबले दाङ राजधानी उपयुक्त भएको भन्दै यसका लागि उद्योगी व्यवसायीले पूर्ण सहयोग गर्ने बताए। ‘पूर्वाधारको ब्यवस्थापन गर्नु परे पनि हामी गर्न तयार छौं', उनले भने, ‘तर सरकारले गर्ने निर्णय छिटो आउनु पर्‍यो।'

उनले सामाजिक, आर्थिक, राजनीतिक भौगोलिक रुपमा राजधानीका लागि दाङको विकल्प नभएको बताए। वाम गठवन्धनका तर्फबाट मुख्यमन्त्रीको रुपमा अघि सारिएका एमाले नेता शंकर पोखरेलले ५ नं प्रदेशको राजधानी दाङ नै हुने बताउँदै आएका छन्। पोखरेलले दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउने र नेतृत्व गर्ने कार्यभार आफूले पाउने भएकाले राजधानीको तयारी भइसकेको बताए।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.